स्वस्थ जीवनका लागि खानाको महत्त्व

स्वस्थ जीवनका लागि खानाको महत्त्व

115
SHARES

जीवन सफल हुनु भनेको पैसा कमाउनु, ठूलो पदमा पुग्नु, गाडीघोडा जोड्नु, ठूलो घर भएर मात्र होइन, सफल जीवनको पहिलो सूत्र भनेको स्वस्थ रहन सक्नु हो। जो मानिस उपचारका नाममा कम खर्च गर्छ, सकेसम्म अस्पताल पुग्दै पुग्दैन, औषधिको सेवन नियमित गर्नु पर्दैन भने ऊ धनी, खुसी र सुखी मानिस हो। “स्वास्थ्य नै धन हो” भन्ने मान्यतालाई सर्वोपरि मान्ने हो भने स्वस्थ रहन सक्नु मानिसको पहिलो सफलता हो।

प्रकृतिले हरेक प्राणी र वनस्पतिलाई स्वस्थ रहने अनेक उपायहरू स्वयं शरीरमा प्रदान गरेको छ र स्वस्थ भोजनका लागि प्रकृतिमा नै प्राकृतिक खानेकुरा प्रदान गरेको छ। यसको नियमलाई बुझेर पालना गर्ने हो भने हाम्रो बिग्रिँदै गएको स्वास्थ्यमा सुधार आउँछ। बिग्रिँदै गएको जीवन सुध्रिन सक्छ। त्यसैले स्वस्थ जीवनशैली र स्वस्थ खानपान हामी सबैको पहिलो प्राथमिकतामा पर्नु पर्छ।

प्रकृतिले हामीलाई स्वस्थ रहन, स्वस्थ खाना खाने तरिका र समय पनि दिएको छ। जसरी २४ घण्टामा रात र दिन हुन्छ त्यसरी नै हामीलाई दिउसो खाने, काम गर्ने र राती सुत्ने समय दिइएको छ। तर यदि हामी दिउसो पनि खाने र काम गर्ने अनि राती पनि खाने र काम गर्न थाल्यौँ भने के होला? कल्पना गरौँ त। पक्कै पनि स्वास्थ्य बिग्रिन्छ। त्यसैले प्रकृतिले मानिसलाई पनि पशुलाई जस्तै दिउसो मात्र खाना खान भनेको छ। जसरी पशुपक्षी दिउसो मात्र खान्छन्, राती आराम गर्छन्, उग्राएर खाएको खाना पचाउँछन्। त्यसैले उनीहरू स्वस्थ रहन्छन्। त्यसरी नै हामी मानिस पनि पहिले पहिले दिउसो मात्र खान्थ्यौँ, समयमै सुत्थ्यौँ, बिहान चाडै उठ्थ्यौँ र आजको समयका मानिस भन्दा स्वस्थ थियौँ।

आजकल दिउँसो भन्दा राती धेरै खान थाल्यौँ, सुत्न, निदाउन छाड्यौँ, प्राकृतिक रूपमा पाकेका खाना भन्दा कृत्रिम र प्रोसेसिङ खानमा रमाउन थाल्यौँ। शरीरलाई आवश्यक भन्दा धेरै र एकै पटकमा भिन्न भिन्न परिकार खान थाल्यौँ। यो कार्यले हामीलाई बलवान बनाउनुको सट्टा कमजोर र रोगी बनायो। आज हामी आफै स्वास्थ्य बिगारेर भएको पैसा उपचारमा सकिरहेका छौंं। के यो सही र सुखी जीवन हो त?

खाना भनेको शरीर स्वस्थ राख्ने र रोगीलाई निको पार्ने एक प्रकारको औषधि पनि हो।

हामीले खानलाई अमृतजस्तो मानेर र त्यस्तै बनाएर खाने हो। वनस्पतिबाट प्राप्त हुने अमिलो, पिरो, चिल्लो जस्तै कागती, अमला, टमाटर, हरियो खोर्सानी, फलफूल, सागपात, दूध दही, घिउ आदि स्वस्थकर खानेकुरा हुन्। इच्छा र स्वाद अनुसार यस्ता खानेकुरा प्रशस्त खानुपर्छ।

पशुप्राणीले फाइबर प्रशस्त भएको काँचै खानेकुरा, घाँसपात र दाना खान्छन्। सजिलै पचाउँछन् र १२ घण्टा नबित्दै गोबरको रूपमा बाहिर फ्याँक्छन्, न ग्यास बनिन्छ, न अपच हुन्छ। हामी मानिसको संरचना अनुसार पाचननली केही लामो भएका कारण ढिलो गरेर मल त्याग गर्ने व्यवस्था छ। जति लामो समय हामीले खाएको खाना पेटमा रहन्छ त्यति नै धेरै सड्न थाल्छ र ग्यास बन्छ। हाम्रो आमाशयबाट खाना अगाडी बढेर शोषण हुन धेरै भनेको १० घण्टा लाग्छ। बाँकी केही घण्टामा सानो आन्द्रा भएर ठूलो आन्द्रा हुँदै मल बाहिर निस्कनु पर्छ। तर यति छिटो हुँदैन। यसको मुख्य कारण हामीले खान नजानेर हो। जिब्राको स्वादकालागि अनेक खानेकुरा एकैपटक खाएर हो। गरिष्ठ भोजन धेरै मात्रामा खाएर हो। साथमा प्रशस्त फाइबर पाइने, साग, सलाद आदि नखाएर हो। यथेष्ट पानी नपिएर हो। शारीरिक व्यायाम नगरेर हो।

यदि ६ महिनासम्म चिनी र चिनी हालेका खानेकुरा नखाने हो भने क्यान्सर कोषहरू घटेर जाने देखिएको छ। त्यसैले चिनी र चिनी हालेर बनाइएका पेय पदार्थ, मिठाई जस्ता खानेकुरा सेवन नगर्नु उत्तम मानिन्छ।

हाम्रो शरीरको बनावट र आवश्यकता अनुसार हामीले खाने सबै भन्दा राम्रो र उपयोगी खाद्य वस्तु हुन् सूर्यको किरणले पाकेका र बारीमा उम्रेर फलेका फलफूल, अन्न अनि सागपात। यिनीहरूलाई प्रकृतिले मानिसकै लागि पलाइदिएको हो। त्यसैले यी फलफूल र सागपातको सेवन उत्तम खानामा पर्दछन्। यी फलफूल काँचै खाने हुन्। यिनीहरूलाई प्रकृतिले नै पकाएर खानयोग्य बनाई दिएको छ। यस्ता खानेकुरामा प्रशस्त मात्रामा सोडियम, पोटासियम, विभिन्न भिटामिन, क्याल्सियम, जिङ्कलगायतका शरीरलाई आवश्यक तत्त्व पाइन्छन्। दोस्रो, आगोमा पकाएका खानेकुरा जस्तै अन्नका परिकार, मध्यम उपयोगी हुन्छन्। कम तापमा र ठिक्क मात्रामा पकाइएका खाना मध्यम पोसिला र पाचन प्रक्रियामा सहज हुन्छन्। हामी मानिस प्राय यस्तै खाना खान्छौँ। यस्ता खानेकुरामा केही भिटामिन र मिनरल आगोमा पकाउँदा नष्ट भए पनि यस्तै खाना धेरै प्रचलनमा छन्।

तेस्रो, खाना जो पाचनतन्त्रले पुनः पकाउनु पर्ने प्रकृतिका हुन्छन्। यस्ता खानेकुरा धेरै फाइदाकारी हुँदैनन् जस्तै मांसाहारी, अत्यधिक तेल, मसला, प्रोसेसिङ फुड, चिनी, कोकजन्य पेय पदार्थ, बासी र लामो समय फ्रिजमा राखिएका खानेकुरा, मैदाबाट बनाइएका खानेकुरा। यी खाद्य वस्तुमा नुन, चिनी र अन्य केमिकल धेरै राखिएका हुन्छन् र लामो समय देखि बनाएर राखिएका हुन्छन्। यस्ता खानेकुराले शरीर र पाचनलाई हानी मात्र पुर्‍याउँदैनन् शरीरमा अनावश्यक हर्मोन (रसराग)को विकासमा उक्साहट ल्याउँछन् र हामी बिरामी पर्छौँ। यस्तै प्रकारका खाना लामो समयसम्म सेवन गरेमा मुटु रोग, उच्च रक्तचाप, कब्जियत, पायल्स, मिर्गौला रोग, मधुमेह, क्यान्सर आदिको जन्म हुन्छ।

संक्षिप्तमा भन्दा काचैखाने खानेकुरा अत्यन्तै पौष्टिक र पच्न सहज हुन्छ जो घामले पाकेका हुन्छन्। यस्ता फलफूल र तरकारीमा क्षारको मात्र बढी हुन्छ जसले एसिडिटी (अम्लपित्त) हुनबाट बचाउँछ। मध्यम उपयोगी खाना आगोमा पकाइएका र तेस्रो जो आगोले पकाएर पनि पच्न सहज नहुनेलाई पाचनतन्त्रले पकाउनु पर्छ र मात्र पच्न योग्य हुन्छन्। यस्ता खानेकुरामा अम्लको मात्रा धेरै हुन्छ साथमा अनावश्यक तत्त्व पनि धेरै रहने कारण एसिडिटी, कब्जियत, मुटुरोग, अनावश्यक उत्तेजना लगायतका समस्या भइरहन्छ। यस्ता खानेकुरा लामो समय सेवन गर्नाले रोगी भइन्छ। र, यस्तो भोजन प्राय सेवन गर्ने मानिसलाई भोगी भनिन्छ।

पछिल्लो खोज र अनुसन्धान अनुसार चिनी शरीरका लागि थोरै इनर्जी दिनेबाहेक जिब्रोको स्वाद भन्दा अरू उपयोगी नभएको पाइएको छ। फेरि यसलाई पेटमा पचाउन पनि धेरै शक्ति चाहिने देखियो। अनुसन्धानले के पनि देखाउँछ भने, शरीरमा जति धेरै चिनीजन्य गुलियो पदार्थको मात्रा देखिन्छ क्यान्सरजस्ता घातक रोगको विकास तीव्र रूपमा भएको पाइएको छ। यदि ६ महिनासम्म चिनी र चिनी हालेका खानेकुरा नखाने हो भने क्यान्सर कोषहरू घटेर जाने देखिएको छ। त्यसैले चिनी र चिनी हालेर बनाइएका पेय पदार्थ, मिठाई जस्ता खानेकुरा सेवन नगर्नु उत्तम मानिन्छ। चिनीलाई सेतो बनाउन र दानादान बनाउन विभिन्न केमिकल मिसाइएको हुन्छ जो शरीरका लागि हानिकारक हुन्छन् साथमा चिनी बनाउँदा अत्यधिक मात्रामा तताइएको हुन्छ।

उखुबाटै बनाइएको सक्खर अथवा गुण भने धेरै उपयोगी देखिएको छ। यसमा प्रशस्त इनर्जी, सोडियम, पोटासियम, क्याल्सियम, फस्फोरस, आइरन, भिटामिन, जिङ्कलगायतका आवश्यक तत्त्व पाइन्छन्। रोग प्रतिरोधात्मक क्षमता बढाउने अन्य तत्त्वहरू पनि प्रशस्त पाइने हुनाले सक्खर स्वास्थ्यका लागि उत्तम खानेकुरा प्रमाणित भएको छ। यसरी नै मह पनि शरीरका लागि बहुउपयोगी खाद्य पदार्थमा पर्दछ। यसमा पनि शरीरलाई आवश्यक पर्ने धेरै तत्त्वहरू रहेका हुन्छन् र मह कहिल्यै नबिग्रिने खाद्य पदार्थ हो।

खाना पचाउने धेरै प्रकारका ब्याक्टेरिया हाम्रो पाचन तन्त्र अथवा आन्द्रामा हुन्छन्। यसलाई इन्टेस्टाइनल फाेलोरा भनिन्छ । उदाहरणका लागी दूध र दहीलाई लिन सकिन्छ। दूधमा लेक्टोज हुने भएकाले सबैलाई दूध पच्दैन तर दहीमा लेक्टोबेसिलस हुने भएकाले सजिलै पच्छ। दूधलाई जमाउँदा फ्रिमेन्टेसन हुन्छ र दही बन्छ जसमा लेक्टोबेसिलस थपिन्छ अनि पाचन सहज हुन्छ। यसरी नै अन्य खानेकुरालाई पनि त्यहाँ भएको फलोराले पचाउन सघाउँछ ।

खानामा पाइने र शरीरलाई आवश्यक धेरै प्रकारका तत्त्व मध्ये एउटा हो म्याग्नेसियम। यसले शरीरलाई आवश्यक तत्त्वहरू शोषण गरेर पाचनक्रिया सहज र शरीर स्वस्थ बनाउन, रक्तचाप नियन्त्रणमा राख्न, मुटुलाई स्वस्थ राख्न, सोडियम पोटासियमलाई नियन्त्रणमा राख्न, नसालाई सक्रिय राख्न र हातखुट्टा बाउँडिन नदिन सघाउँछ। हामीले खाने खानेकुरा प्राय सबैमा म्याग्नेसियम पाइन्छ। धेरै मात्रामा पालकको साग, सनफ्लावर, केरा, दूध र यसको प्रोडक्ट, कालो चकलेट आदिमा पाइन्छ। यसको कमी भएमा हातखुट्टा बाउँडिने, चाडै थाक्ने, हड्डी कमजोर हुने, रक्तचाप बढ्ने हुन्छ।

यसरी नै हाम्रो शरीरलाई चाहिने भिटामिन दुई प्रकारका हुन्छन्। भिटामिन ए, डि, इ, के बोसो(चिल्लो)मा घुल्ने र भिटामिन बि अनि सि पानीमा घुल्ने हुन्छन्। यस्ता भिटामिनहरू धेरैजसो खानेकुरा र फलफूलमा पाइन्छ। विशेष गरेर भिटामिन बि१२ र डि३ हाम्रो शरीरलाई धेरै मात्रामा चाहिने र माछामासुमा बि१२ धेरै पाइने हुँदा शाकाहारीले फलफूललगायतका खानेकुरा धेरै खानुपर्छ। यसरी नै डि३ भने घामको किरणमा पनि पाइने हुँदा हरेक दिन १५ मिनेट या हप्तामा आधा घण्टा बिहान दश बजेतिरको घाम ताप्नु राम्रो हो। तर घाम तापेर मात्र हुँदैन खानामा पनि चिल्लो पदार्थ जस्तै घिउ, दूध, दही या कुनै चिल्लो पदार्थ खानुपर्छ र मात्र आन्द्राबाट शोषण भएर उपयोगमा आउँछ।

आजकल बजारमा यस्ता भिटामिन किन्न पाइन्छ। जसलाई भिटामिन डि३ को कमी छ भने बजारमा पाइने क्याप्सुल खाँदा थोरै चिल्लो पदार्थ पनि खानुपर्छ। यस्ता भिटामिनको कमी भएमा कमजोरी, जिउ थाक्ने, जाँगर नचल्ने, मन अशान्त हुने, शरीरको विकासमा बाधा आउने गर्छ, हड्डी कमजोर हुने मन नलाग्नेजस्ता समस्या हुन्छन् भने भिटामिन ए र सि को कमीले शरीरमा रोग प्रतिरोधी क्षमता घटाएर विभिन्न सङ्क्रामक रोग लाग्ने हुन्छ। आँखा कमजोर हुन्छ। रुघामर्की लागिरहन्छ। भिटामिन ए र सि विभिन्न फलफूल र सागपातमा पाइन्छ।

त्यसो भए खानामा के खाने, कतिबेला खाने, कति खाने र कस्तो खाने त? प्रकृतिमा फलेका, पाकेका र माटामा उम्रेका अनि काँचै खान मिल्ने हरेक खाद्य वस्तु उत्तम हुन् जस्तै, फलफूल तरकारी, गेडागुडी, नफलेको चामल, कोदो फापर सिस्नो, दुग्ध पदार्थ। तर दूधको सहायतामा बनिएका आइसक्रिम या चकलेट, पनिर भने धेरै फाइदाकारी हुँदैनन्। किनभने यस्ता खानेकुरा प्रोसेसिङ गरिएका हुन्छन्। अन्य केमिकल हालिएका हुन्छन्। अप्राकृतिक स्वाद हालिएको हुन्छ र लामो समय राखिएका हुन्छन्। यस्ता प्रोसेसिङ गरिएका खाना कुनै खुसीयालीमा या लामो समयको अन्तरालमा र थोरै मात्रमा सेवन गर्न सकिन्छ तर हरेक दिन होइन।

फलफूल, दही, मही या पेय पदार्थ बिहान र दिउसो खानु उत्तम हुन्छ। बेलुका र राती सेवन गर्नु उत्तम मानिँदैन। यसले शरीरमा हानी हुने, सर्दी लाग्ने या पाचन बिग्रने हुन्छ। बिहान उठेर कागती पानी या मनतातो पानी टुकरुक्क(मलासन आसनमा) बसेर पिउनु राम्रो हो। यसले रातभरि पाचन तन्त्रमा जम्मा भएको अम्ल र अनेक अनावश्यक वस्तु बाहिर निकाल्छ, पेट साफ हुन्छ। त्यसको केही समयपछि फलफूल आदि खान सकिन्छ। जसले शरीरमा भएको अनावश्यक अम्ल(एसिड)लाई घटाउँछ, भोक बढाउँछ जस्तै स्याउ, ड्राई फ्रुट्स्। बिहानको खाना केही बढी, सजिलै पच्ने र सलाद सहितको हुनुपर्छ। आगोमा हलुका पकाएको सब्जी भए उत्तम हुन्छ। दिउसो आवश्यक भए हलुका खाजा नत्र फल खाए पुग्छ र बेलुका सके घाम डुब्नु अगावै नभए पनि ८ बजे सम्ममा थोरै खान खाने र कम्तीमा १०० पाइला हिँड्ने बानी स्वास्थ्यकालागि धेरै उत्तम मानिन्छ। खानापछि बज्रासनमा बस्नाले पेट सफा हुने र पाचन राम्रो हुने गर्छ।

सकारात्मक सोच र विधाताप्रति कृतज्ञ भएर सुतेमा हाम्रो शरीरमा सकारात्मक ऊर्जा पैदा हुन्छ। यसो गर्दा डरलाग्दा सपना नआउने, निद्रा लाग्ने, हृदयाघात कमै हुने अनि घुर्ने समस्या कम भएर जाने अध्ययनले देखाएको छ। बिहान उठेर उही विधातालाई सम्झिनु पर्छ, धन्यवाद दिनुपर्छ।

खाना चपाएर बिस्तारै खानुपर्छ। जति चपाएर खायो त्यति पाचनमा सहज हुन्छ। शास्त्रीय मान्यता अनुसार ३२ गाँस खान पर्याप्त हुन्छ र हरेक पटकको गाँस ३२सै पटक चपाएर निल्नुपर्छ। चपाएर खाएको खानामा रहेका पौष्टिक तत्त्व आन्द्राबाट शोषण भएर कलेजोमा पुग्न सहज हुन्छ। खाना सकेसम्म भुईँमा बसेर पलेटी मारेर खादा पेटमा रक्तसञ्चार राम्रो हुने र पाचन सहज हुने गर्छ। खानामा कार्बोहाइड्रेट भन्दा प्रोटिन धेरै भएका खानेकुरा जस्तै दाल, चना, भटमास, मकै दहीदुध, मांसाहारीले मासु अण्डा थोरै खान सकिन्छ। खाजाको रूपमा कोदो फापर भए उत्तम हुन्छ।

बौद्ध ग्रन्थ अनुसार “उत्तम खाना भनेको जमिनमा उम्रिएका या फलेका अन्न सागपात र फल हुन्। जन्मिएका (मासुजन्य) खानेकुरा मानव शरीरकालागि उत्तम मानिँदैनन्।”

मुखमा रहेका विभिन्न पाचन रसले खानालाई पच्न योग्य मात्रै बनाउँदैन सन्तुष्टि पनि प्राप्त हुन्छ। त्यसैले चपाएर खानुपर्छ। खुसी र आनन्द पनि खानाले नै प्रदान गर्छ। विज्ञानको नियम र पाचन प्रक्रिया अनुसार खानाको २ घण्टापछि मात्र पानी पिउनु पर्छ। सुत्नुअघि भए थोरै दूध नभए पानी पिउनु उत्तम हो। अझ दूधमा बेसार मिसाएर पिउँनसके झनै राम्रो हुन्छ। यसले हृदयाघात हुनबाट बचाउने, शरीरमा चिसो घुस्नबाट बचाउने र शरीरमा क्याल्सियमको कमी हुन पाउँदैन। यसको सेवनले हातखुट्टा नबाउँडिने अध्ययनले देखाएको छ।

मांसहारले सकेसम्म बिहान या दिउसो मात्र माछामासु खाने गर्नुपर्छ। यसलाई पचाउन समय लाग्ने हुँदा कमसेकम माछामासु या अण्डा खाएपछि ९ घण्टा या मजाले भोक नलागुन्जेल पुनः खाना नखाने, मात्र पानी पिउने गर्नुपर्छ। खानेकुरा या माछामासु पटक पटक पकाएर या फ्रिजमा लामो समय राखेर खाएमा स्वास्थ्यमा असर पुग्छ। यसले शरीरमा विकार उत्पन्न गराउँछ र विभिन्न रोग लाग्ने सम्भावना बढेर जान्छ। माछामासु र गरिष्ठ भोजन बेलुकाको समयमा नगर्नु उत्तम हुन्छ। यसले राती सुतेको बेलामा रगत बाक्लो बनाएर हृदयाघात हुने सम्भावना धेरै हुन्छ। शरीर मोटो भएर जान्छ। त्यसैले सुत्ने बेलामा पानी या तर निकालेको दूध पिएर सुतेमा रगत बाक्लो हुन पाउँदैन र हृदयाघात हुने सम्भावना पनि न्यून रहन्छ।

आजकल मासुका लागि उपयोग गरिने पशुपक्षीलाई बडो कस्टकासाथ एक ठाउँबाट अर्को ठाउँमा लगिन्छ। यातनाका साथ ओसारिएका ती पशुपक्षीमा शारीरिक पिडाका कारण अनावश्यक रसराग(हर्मोन) सिक्रिसन भइरहेका हुन्छन्। जो शरीरकालागि हानिकारक हुन्छन्। यो अवस्थामा वध गरिएका पशुपक्षीको मासुमा पनि ती अस्वस्थकर रसहरू मिसिएर मानिसको शरीरमा पुग्छन्। यसले हाम्रो शरीरलाई पनि विकृत बनाउन सघाउँछ अथवा अस्वस्थ बनाउँछ। त्यसैले मांसाहारीले स्वस्थ र पिडा नदिई वध गरिएका पशुको मासु सेवन गर्नुपर्छ। आजकल पशुका आहारमा पनि आवश्यक भन्दा धेरै केमिकलयुक्त पदार्थ मिसाएर दाना तयार पारिन्छ। यस्ता खानेकुरा खाएका पशुको शरीर र मासु के स्वास्थ्यकर होला?

खानाका तिन प्रकार हुन्छन्, सात्त्विक राजसी र तामसी। स्वाद, खाना खाने स्वभाव र इच्छा अनुसार खाना जुन र जे खाए पनि स्वास्थ्यकर हुनुपर्छ भन्ने मान्यता पश्चिमाहरूको छ। तर हाम्रो वैदिक शास्त्र र हाम्रो परम्परा अन्य भन्दा राम्रो रहेको देखिन्छ। कुन महिनामा कस्तो खानेकुरा खाने, कुन चाडमा कुन कुन खानेकुरा खाने भनेर पहिले नै बताइएको छ। यस्ता खानाहरू स्वस्थका लागि उपयोगी र पाचन सहज हुने अनि स्वस्थ राख्ने प्रकृतिका हुन्छन्। हरेक चाडपर्वमा भिन्ना भिन्नै खाना र परिकार खाने प्रचलनले अझ रोचकता थपेको छ।

सात्त्विक खाना शरीरका लागि सबैभन्दा राम्रो मानिन्छ। यसमा दालभात सब्जी, दूध या दही, सलाद र अचार मुख्य खाना हुन्। यो सन्तुलित आहार पनि हो। यो खाना, बिरामी, वृद्ध, केटाकेटी, गर्भवती सबैकालागि उत्तम मानिन्छ। उहिले राजामहाराजाले खाने खाना हो राजसी जो आज पनि भिआइपी भनाउँदाले खान्छन्। यसमा खानाका परिकार धेरै, पोसिला र शरीरलाई चाहिने भन्दा धेरै र माछामासु पनि हुने भएकाले धेरै स्वास्थ्यकर मानिँदैन। यसरी नै तामसी खानामा भने माछामासु, मदिरालगायतका खानेकुरा समावेश हुने भएकाले अरू हानिकारक हुन्छ। संसारमा यस्तै खानेकुरा धेरै पकाइने र खाइने गरिन्छ। यस्ता खानाको लगातार सेवनले धेरै प्रकारका रोगहरू लाग्ने सम्भावना हुन्छ।

खानाले नै हाम्रो जीवनको लक्ष्य निर्धारण गर्दछ। उपयुक्त खानाले मनलाई सकारात्मक सोच तर्फ लैजान्छ। सामाजिक हुन मन लाग्छ। सेवा र सहयोगमा मन लाग्छ। खुसी र सुखी महसुस गराउँछ।

चाडै सुत्ने, कम्तीमा ६ घण्टा सुत्ने र खान खाएको दुई घण्टा र पानी पिएको आधा घण्टापछि सुत्नु राम्रो मानिन्छ। खानापछि सुत्नुपरे देब्रे कोल्टो सुतेमा पाचन र मुटुको गति राम्रो रहन्छ। सुत्नु अघि सकारात्मक सोच या कल्पनामा रमाउनु राम्रो हो। सुत्नु या निदाउनु भनेको एक प्रकारले छोटो मर्नु हो। हामीले केही पनि थाहा पाउँदैनौँ। यो बेलामा जे पनि हुन सक्छ। हरेक रात सुतेकै बेलामा विश्वमा २ लाख भन्दा धेरै मानिस सदाका लागि बिउँझिँदैनन्। उनीहरूले अर्को दिन देख्न पाउँदैनन्। सकारात्मक सोच र विधाताप्रति कृतज्ञ भएर सुतेमा हाम्रो शरीरमा सकारात्मक ऊर्जा पैदा हुन्छ। यसो गर्दा डरलाग्दा सपना नआउने, निद्रा लाग्ने, हृदयाघात कमै हुने अनि घुर्ने समस्या कम भएर जाने अध्ययनले देखाएको छ। बिहान उठेर उही विधातालाई सम्झिनु पर्छ, धन्यवाद दिनुपर्छ। जसले आजको सुन्दर दिन र आफूले गर्न चाहेको राम्रो काम गर्न समय प्रदान गरेको छ। विधाताले जुन दिन हामीलाई थाम्न, समाउन र हेर्न छाड्छन् हाम्रो शरीर लासमा परिणत हुन्छ।

हामीले सेवन गर्ने अन्न र फलफूल हाम्रो जीवन हो। हाम्रो शरीरमा हुने हरेक परिवर्तनको मुख्य भूमिका हामीले खाएको खानाले खेल्छ। यदि हामीले शरीरलाई सकारात्मक ऊर्जा दिने खानेकुरा सेवन गरेमा हाम्रो मस्तिष्क पनि सकारात्मक रूपमा चल्छ। यदि खानामा अनावश्यक खानेकुरा जस्तै अत्यधिक मदिरा, दैनिक जसो माछामासु या अत्यधिक खाना खाएमा र ननिदाएमा शरीरले आवश्यक भन्दा अनावश्यक रसको उत्पादनमा वृद्धि गर्छ। यसले सकारात्मक भन्दा नकारात्मक काम गर्न मन र मस्तिष्कलाई सक्रिय बनाउँछ। बिस्तारै कुलतमा लैजान सक्छ। एक पटक कुलतमा फसेपछि बाहिर आउन कठिन हुन्छ।

एउटा अध्ययन अनुसार हामी जति खाना खान्छौँ त्यसको एक तिहाइ मात्र शरीरमा उपयोग हुन्छ। बाँकी दुई तिहाइ केही बोसोमा परिणत हुन्छ र बाँकी मलका रूपमा जाने हो। त्यसैले भनिएको छ, “थोरै खाए बल धेरै खाए मल।” दीर्घजीवी हुन र स्वस्थ रहन खान थोरै र कमसेकम ६ घण्टाको फरकमा खानु उत्तम मानिन्छ। समग्रमा खाना भोक लागेपछि मात्र खानुपर्छ। उत्तम खाना भनेको कोदो, फापर, कागुनो, बाजरा, पोलिस नगरेको चामल, मकै, दालजन्य गेडागुडी, सिस्नो, सजिउन, मुलाको पात, बन्दा कोपी, बैगुन, हरियो मटरकोषा, टमाटर, चना, सागसब्जी र न्युट्रेला हुन्। अथवा प्रकृतिमा फलेका खानेकुरा स्वास्थ्यकर हुन्छन्।

आमाको दूधपछि गाइको दूध उत्तम मानिए पनि दूध भन्दा दही पौष्टिक र पाचन सहज बनाउने औषधि पनि हो। त्यसैले दही, मही थोरै मात्रामा घिउ अनि केटाकेटी, बूढाबूढीलाई दूध राम्रो मानिए पनि पाचन क्षमता कमजोर छ भने दुग्धजन्य पदार्थ उत्तम मानिँदैन। दूधमा लेक्टोज र दहीमा लेक्टोबेसिलस हुन्छ। यही करण दूध पच्न कठिन हुन्छ भने दही सजिलै पच्छ। यसरी नै चिनी अथवा ग्लुकोजले रगतमा चिनीको मात्रा बढाउँछ भने फ्रुक्टोजले घटाउँछ। फलफूलमा फ्रुक्टोज हुने भएकाले चिनी सेवन जस्तो रगतमा ग्लुकोज बढाउँदैन। त्यसैले निश्चित मात्रामा मधुमेह रोगीले फलफूल, जमिनमुनि फलेका खानेकुरा खान मिल्छ जस्तै, आलु, पिँडालु, सुठुनी, आदि।

हामीले खाना खादा आधा पेट मात्र खानुपर्छ। एक भाग पानीकालागि र एक भाग हावा र कलेजोबाट आउने पाचन रसकालागि राख्नुपर्छ। यसो गरिएमा खाना राम्रोसँग पच्छ। शरीरमा सकारात्मक रसराग र शक्ति उत्पादन हुन्छ र हामी निरोगी हुन्छौँ। पेटमा हुने अनेक समस्या जस्तै ग्यास्ट्रिक, कब्जियत आदि हुन पाउँदैन।

खानाले नै हाम्रो जीवनको लक्ष्य निर्धारण गर्दछ। उपयुक्त खानाले मनलाई सकारात्मक सोच तर्फ लैजान्छ। सामाजिक हुन मन लाग्छ। सेवा र सहयोगमा मन लाग्छ। खुसी र सुखी महसुस गराउँछ। कुनै विद्धानले भनेका छन्, “हामीले आफ्नो भागमा थोरै खाना पायौँ भने झनै खुसी हुनु पर्दछ।” किनभने यो खाना शरीरका लागि उपयुक्त हुन्छ, ठिक्क हुन्छ र स्वस्थकर हुन्छ।

सकेसम्म खाना आफूले नै श्रम गरेर कमाएको पैसाले किनेको या उत्पादन गरेको हुनुपर्छ। अरूले दिएको या सित्तैमा पाएको या जबरजस्ती ल्याएको पैसाले किनेको खानेकुरा नखानु उत्तम हो। यस्तो गरेर कमाएको धन या अन्नले सोच पनि नराम्रो बनाउँछ। यसले शरीर पनि भोगी र रोगी बनाउँछ भने काम पनि गलत गर्न मन लाग्छ। उदाहरण हेर्ने हो भने महाभारत कथामा जब पाँच पाण्डवकी पत्नी द्रौपदीलाई निवस्त्र गरिँदै थियो त्यति बेलामा त्यहाँ रहेका गुरु र विद्धान कसैले पनि उनको सहयोग गर्न सकेनन्। कारण थियो दुर्योधनको खाना अथवा खराब सोच भएकाले दिएको खाना र आश्रय। उनीहरूको बुद्धि पनि उल्टो भएको थियो। यो कुराको पुष्टि मृत्युसैयामा रहेका भीष्म पितामहले द्रौपदीको प्रश्नमा गरेका थिए।

जीवन भनेकै हामीले खाने खाना हो, पिउने पानी हो र लिने सास हो। खुसी पनि खानामै लुकेको छ। हामी खुसी खोज्न टाढा टाढा जान्छौँ। घुम्न निस्किन्छौँ। खुसी र सुखका लागि भन्दै धेरै पैसा खर्च गछौं। ठूलाठूला होटलमा खाना खान्छौँ, धेरै पैसा तिर्छौ र आफू आनन्दित भएको महसुस गछौं। तर, तपाई खाना जे भेटे पनि र जस्तो भए पनि सचेत र तृप्ति मानेर खानुहुन्छ, कृतज्ञ भएर उठ्नु हुन्छ भने खाना जस्तो खाए पनि आनन्द र खुसी महसुस हुन्छ। यदि तपाईँले राजसी खाना खानुभयो तर आफू तृप्त भएको महसुस गरिएन भने खाना जस्तै स्वादिलो खाए पनि मन खुसी हुँदैन। जहाँ मन खुसी हुँदैन, न तृप्ति महसुस हुन्छ न आनन्द नै। मनले अझै तृप्ति खोजिरहेको हुन्छ। यसै क्रममा हामी अनावश्यक खाना खान्छौँ र रोगका सिकार बन्छौँ। त्यसैले खाना आफ्नो भागमा जे आए पनि खुसी मानेर खानुपर्छ। तृप्ति भएको मान्नुपर्छ र कृतज्ञ हुनु पर्दछ।

हामी खानालाई मिठो नमिठो भनेर अपमान गछौं। यो हाम्रो अज्ञानता हो। आफू नजिक आउँदै गरेको खुसी र सुखबाट वञ्चित हुनु हो। खाना हाम्रो जीवन भएकाले सन्तुष्ट भएर खानुपर्छ, पकाउने(भान्से)लाई धन्यवाद दिनु पर्छ र खान पाएकामा कृतज्ञ हुनु पर्दछ। भान्सेले पनि खाना पकाउँदा सकेसम्म खुसी भएर, तनाव त्यागेर पुण्य काम गर्दै छु भन्ने ठानेर पकाउनु र पस्किनु पर्छ। यदि खाने मान्छेलाई रिस उठेको छ, धेरै तनावमा छ भने तुरुन्तै खाना खानु विष सेवन गरे सरह मानिन्छ। केही समयपछि शान्त भएर खाना खानु राम्रो हो।

खानामा सबैभन्दा पूर्ण आहार हो दाल, भात र तरकारी। दालमा प्रोटिन, भातमा कार्बोहाइड्रेट र तरकारीमा भिटामिन अनि मिनरल हुन्छ। साथमा केही दूध या दही अथवा घिउ भए फ्याट पनि हुन्छ र सन्तुलित आहार बन्दछ। सबै भन्दा कम खर्चमा खान सकिने सन्तुलित आहार भनेकै दाल भात तरकारी हो। खाना खान बस्दा विधातालाई सम्झेर थोरै अर्पण गरेर खाने र खाएर उठ्ने बेलामा खान खान पाएकोप्रति कृतज्ञ हुनु पर्दछ। यसले तपाईँमा पूर्ण सन्तुष्टि प्राप्त हुन्छ र तपाई स्वस्थ रहनु हुनेछ। संसारमा धेरै मानिसले दुई छाक खान नपाइरहेको अवस्थामा पेटभरि खाना खान पाउनुलाई भाग्यमानी सम्झिनु पर्ने होइन र?

सफा, शुद्ध र शरीरले सजिलै पचाउन सक्ने खानेकुरा खाएमा हामीमा रहेको इन्जिन सजिलै मर्मत हुन्छ र लामो समय अथवा उमेर ढल्किने बेलासम्ममा पनि हामी स्वस्थ र तन्दुरुस्त रहन सक्छौंं। यदि हामीले जिब्राको स्वादकालागि जे र जस्तो पनि खाना खायौँ भने हामी चाडै रोगका सिकार हुन्छौँ।

विशेष गरेर खानालाई दुई प्रकारमा बाँडिएको छ, एउटा मांसाहारी खाना अर्को शाकाहारी। सामान्यतया के मान्यता छ भने मांसाहारी भोजन स्वास्थ्यका लागि, निरोगी रहन र प्रोटिन भिटामिन सबै भएको उपयुक्त खाना हो। तर शाकाहारी भोजन स्वास्थ्य शरीरका लागि उत्तिकै राम्रो भन्दा अझै राम्रो अध्ययनले देखाएको छ। विशेष गरेर प्रोटिन र भिटामिन बी१२ र डी३ मांसहार भोजनमा धेरै पाइने बताइए पनि शाकाहारी भोजनमा पनि प्रशस्त पाइन्छ। पछिल्लो अध्ययनको आधारमा कोदो, फापर, भटमास र यसको मस्यौरा, सजिउन, कुरिलो, च्याउ, गुन्द्रुक, उमारेका गेडागुडीमा प्रशस्त प्रोटिन भिटामिन, क्याल्सियम आदि पाइन्छ। त्यसमा पनि सोयाबिनबाट बनेको मस्यौरा मासुमा भन्दा पनि धेरै प्रोटिन पाइने खाद्य बस्तु अनि कोलेस्ट्रोल र अनावश्यक चिल्लो नपाइने सुपर फुड हो। यसलाई शाकाहारीले प्रोटिन र फाइबरको उच्च स्रोतको रूपमा सेवन गर्न सकिन्छ। यसमा मासुमा जस्तो अनावश्यक रोग उत्पन्न गराउने तत्त्वहरू नगण्य रहने भएकाले महिलाहरूमा हुने प्रजनन समस्या र पिसिओडी पनि कम हुने देखाएको छ। यसलाई पकाउनु अघि आधा घण्टासम्म तातो पानीमा भिजाउने अनि १० मिनेटजती मधुरो आगोमा पकाएर खाएमा प्रशस्त प्रोटिन र भिटामिन पाइने कुरा डा ओममुर्ती अनिलको अनुसन्धानले देखाएको छ। यसमा शरीरलाई चाहिने धेरै कुरा उपलब्ध छ।

जसरी कोदो या फापरको पिठोको परिकार बनाउनु अघि पानीमा भिजाइन्छ र पकाइन्छ जसले सहजै पच्न योग्य बनाउँछ। त्यसरी नै दाल या गेडागुडी पनि भिजाएर अझ उमारेर काँचै या पाएर खानु उचित हुन्छ।

आलुमा भएको खरब तत्त्वलाई हटाउन आलु काटेर कहिबेर पानीमा डुबायो भने खराब तत्त्व बाहिर निस्किन्छ। त्यसपछि पकाएर खानु राम्रो हो। आलुलाई उसिनेर खादा सबैभन्दा धेरै पोषण पाइन्छ भने तेलमा रङ फेरिने गरी फ्राई गरेमा फाइदा भन्दा बेफाइदा धेरै हुन्छ। त्यसैले आलुको सब्जी खादा केहिबेर पानीमा डुबाएर हलुका पकाएर धेरै नभुटी खानु स्वस्थकर हुन्छ। यसरी नै एक पटक परिकार पकाएको तेलमा पुनः कुनै परिकार पकाउनु हुँदैन, यो धेरै हानिकारक हुन्छ।

हामी आफ्नो सम्पत्ति सुरक्षित राख्न अनेक उपाय अपनाउँछौ। गाडीघोडामा सकेसम्म शुद्ध इन्धन हाल्छौँ। बाटोमा गुडाउँदा पनि माया गरेर सुरक्षित चलाउँछौ। कतै बिसाउँदा पनि सुरक्षित राख्छौँ। घरमा भएका सामानको पनि सफाइ र रेखदेख गर्छौ। तर, हामी आफ्नो इन्जिनलाई भने जे पनि र जसरी पनि चलाउने प्रयत्न गर्छौँ। हामीले खाने खाना हाम्रो इन्धन हो। इन्धन राम्रो नलगाएमा गाडी(शरीर) राम्रोसँग गुड्न सक्तैन या चाडै बिग्रिन्छ। हामीले अनावश्यक खाएको खानपानले हाम्रो इन्जिन राम्रो रहन्छ भनेर भन्ने कुराको के ग्यारेन्टी छ? हामीले जस्तो खान्छौ त्यस्तै इन्जिनले काम गर्ने हो। जस्तो खाना खान्छौँ मस्तिष्कले त्यस्तै सन्देश दिने हो। सोच त्यस्तै राख्ने हो। सफा, शुद्ध र शरीरले सजिलै पचाउन सक्ने खानेकुरा खाएमा हामीमा रहेको इन्जिन सजिलै मर्मत हुन्छ र लामो समय अथवा उमेर ढल्किने बेलासम्ममा पनि हामी स्वस्थ र तन्दुरुस्त रहन सक्छौंं। यदि हामीले जिब्राको स्वादकालागि जे र जस्तो पनि खाना खायौँ भने हामी चाडै रोगका सिकार हुन्छौँ।

खाना दिनमा २ पटक खानु राम्रो हो। अझ साधु सन्तले त एक पटक मात्र खान्छन्। भनिएको छ, खाना थोरै खाए बल धेरै खाए मल। त्यस्तै एक पटक खान खाने योगी, २ पटक खाना खाने भोगी र ३ पट खाना खाने मानिस रोगी हुन्छन्। भनाई सबै सत्य नभए पनि खाना शरीरको आवश्यकता र काम अनुसार सेवन गर्नुपर्छ।

हामीले सकेसम्म बजारमा पाइने अथवा प्रोसेसिङ गरेर तयार गरिएका खानेकुरा कमै खानुपर्छ। आजकल हामी बिहानको खाजा भनेर पाउरोटी, चिया, बिस्कुट, ओट्स, चाउचाउ, चाउमिन आदि खान्छौ। तर यस्ता खानेकुरामा मैदा, चिनी र अन्य केमिकल मिसाएर आकर्षक बनाइएका हुन्छन्। विभिन्न हानिकारक कलर लगाइएका हुन्छन्। यस्ता खानेकुराले, अनावश्यक वजन बढ्ने, मधुमेह, उच्च रक्तचापलगायतका समस्या देखा पर्ने हुँदा दैकिकजसो सेवन नगरेको राम्रो। कोक फेन्टाजस्ता पेय पदार्थले पनि शरीरलाई हानी गर्छन्। प्याक गरेर राखिएका जुस धेरै हानिकारक हुन्छन्। यी भन्दा धेरै राम्रो हो मोही, नरिवल पानी, उखुको रस, मौसमी जुस। खानामा या खाजामा कोदो फापरको खाले या रोटी, मकैको परिकार राम्रो हुन्छ।

आजकल त कोदोको बिस्कुटलगायतका खानेकुरा बजारमा आएका छन्। यिनीहरू केही राम्रा हुन्छन् अन्य भन्दा। यसरी नै दूध चिया स्वास्थ्यका लागि राम्रो मानिँदैन। यसले पाचन समस्या ल्याउँछ त्यसैले कालो चिया, ग्रिन टि पिउनु राम्रो हुन्छ।

समाचार शेयर गर्नुहोस्
115
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.