बिचौलियासँग न्यायाधीशको सम्बन्ध, छानबिन गर्न फुल कोर्टको आग्रह

बिचौलियासँग न्यायाधीशको सम्बन्ध, छानबिन गर्न फुल कोर्टको आग्रह

84
SHARES

काठमाडौँ- सर्वोच्च अदालतले बिचौलिया इनम सापकोटासँग न्यायाधीशहरूको भेटघाट र सम्बन्धबारे सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न छापा तथा अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति सर्वोच्च अदालतको पूर्ण बैठकले ध्यानाकर्षण भएको जनाएको हो।

प्रधानन्यायाधीश र सम्बन्धित न्यायाधीशहरूले आफ्नो धारणा लिखित रूपमा सार्वजनिक गरिसकेको सन्दर्भमा सर्वोच्च अदालतको पूर्ण बैठकले पाँचबुँदे निर्णय गरेको छ।

सोमबार बसेको पूर्ण बैठकले संविधान र कानुनको सर्वोच्चताप्रति आफ्नो अटल आस्था र प्रतिबद्धता रहेको स्पष्ट पारेको छ। साथै, संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैलाई आग्रह गरेको छ।

पूर्ण बैठकले सार्वजनिक रूपमा प्रकाशित तथा प्रसारित विषयमा पूर्वाग्रहरहित, निष्पक्ष र स्वतन्त्र ढङ्गबाट संविधान तथा कानुनबमोजिम छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। छानबिनबाट प्राप्त सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न पनि बैठकले माग गरेको छ।

त्यसैगरी, सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा संविधान र कानुनबमोजिम हुने छानबिन तथा अनुसन्धानमा कानुनले तोकेको जबाफदेहिता निर्वाह गर्न र सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको पूर्ण बैठकको निर्णयमा उल्लेख छ।

न्यायपालिका जनताको आस्था र विश्वासमा अडिने संस्था भएकाले यससँग सम्बन्धित समाचार प्रकाशन तथा प्रसारण गर्दा आम जनता र सेवाग्राहीमा भ्रम तथा नकारात्मक असर नपर्ने गरी संवेदनशील हुन पनि बैठकले आग्रह गरेको छ।

छानबिनको निष्कर्ष प्राप्त नहुँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न सम्बन्धित सबैलाई पूर्ण बैठकले आग्रह गरेको छ।

त्यस्तै, प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई सधैँझैँ न्यायिक कार्यमा क्रियाशील रहन सबै अदालतमा कार्यरत सम्पूर्ण न्यायकर्मीहरूलाई आग्रह गर्ने निर्णय पनि पूर्ण बैठकले गरेको सर्वोच्च अदालतका प्रवक्ता तथा सह-रजिस्ट्रार डा. अशोककुमार क्षेत्रीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

समाचार शेयर गर्नुहोस्
84
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.