काठमाडौँ – भुटान सरकारले आफ्ना नागरिकलाई देश निकाला गरेर शरणार्थी बन्न बाध्य पारेको भूमिमा गेलेफु माइन्डफुलनेस सिटी परियोजना अघि बढाएको छ।
नोभेम्बर १ तारिखमा उक्त परियोजनाको उद्घाटन गरिएको छ। तर, आफ्नै नागरिकलाई देशबाट विस्थापित गरेर अर्काको देशमा शरण लिन बाध्य पारेको भुटान सरकारले विस्थापित नागरिकको इतिहास र पीडालाई सम्बोधन नगरी परियोजना अघि बढाएको भन्दै विभिन्न टिप्पणी सार्वजनिक भइरहेका छन्।
भुटानका पूर्वनिर्वाचित जनप्रतिनिधि तथा पूर्वराजकीय सल्लाहकार परिषद् सदस्य टेकनाथ रिजालले गेलेफु माइन्डफुलनेस सिटीको उद्घाटन र त्यससँग जोडिएको आफ्नो व्यक्तिगत तथा पुर्ख्यौली इतिहासबारे आत्मचिन्तन गर्दै न्याय, मानवता र करुणाको प्रश्न उठाएका छन्।
नेपालमा तीन दशकभन्दा लामो समयदेखि निर्वासित जीवन बिताइरहेका रिजालले ढुङ्गा र माटोबाट स्तूपा निर्माण गर्न सकिने भए पनि न्यायबिना करुणामय समाज निर्माण गर्न नसकिने बताएका छन्। उनले गेलेफु माइन्डफुलनेस सिटीलाई विकास, अन्तर्राष्ट्रिय लगानी र धार्मिक स्मारकमा मात्र सीमित नराखी विस्थापित भुटानी नागरिकको पीडा, पुर्ख्यौली जमिन, सम्पत्तिको अधिकार र न्यायको महत्त्व स्मरण गराउने केन्द्र बनाउन आग्रह गरेका छन्।
रिजालले बौद्ध दर्शन, सम्यक् स्मृतिको अभ्यास, आर्य अष्टाङ्गिक मार्ग र भगवान् बुद्धका शिक्षाप्रति आफ्नो सम्मान रहेको उल्लेख गरेका छन्। भुटानका राजाहरूले यहाँका २२ जातिका धर्मावलम्बीको सांस्कृतिक सम्पदाको संरक्षण गर्न खोजेको विषयप्रति आफू विरोधी नरहेको पनि उनले स्पष्ट पारेका छन्।
उनले भनेका छन्, ‘म यस्तो मानव हुँ, जसले प्रत्येक धर्म समान हकदार छ भन्ने विश्वास गर्दछ र कुनै पनि धर्मको आस्थालाई अर्को धर्म वा मानव मर्यादाभन्दा माथि राखेर कसैको सम्मान घटाउनु हुँदैन भन्ने दृष्टिकोण राख्दछ।’
भुटानको निर्वाचित जनप्रतिनिधि तथा राजकीय सल्लाहकार परिषद् सदस्यका रूपमा बिताएको आफ्नो राजनीतिक इतिहासलाई कसैको शत्रुका रूपमा आफूलाई परिभाषित गर्ने आधार बनाउन नहुने रिजालको भनाइ छ। राजनीतिक मतभेद इतिहासको एउटा पाटो भए पनि मानवता सधैँ राजनीतिक विभाजनभन्दा माथि रहनुपर्ने उनको धारणा छ।
गेलेफु माइन्डफुलनेस सिटीको उद्घाटनले आफ्नो मनमा एकैपटक पीडा र ऐतिहासिक गौरव दुवै भावना उत्पन्न गराएको रिजालले बताएका छन्। राजनीतिक द्वन्द्व, व्यक्तिगत पीडा, विस्थापन र मातृभूमिबाट अलग पारिएको लामो समय बितिसक्दा पनि आफ्नो व्यक्तिगत तथा पुर्ख्यौली सम्बन्धसँग जोडिएको भूमिमा महत्त्वाकाङ्क्षी सहर स्थापना भएको देख्दा गहिरो अपनत्व महसुस भएको उनले उल्लेख गरेका छन्।
आफ्नो जीवन र परिवारको इतिहाससँग जोडिएको स्थानमा अन्तर्राष्ट्रिय महत्त्वको परियोजना स्थापना होला भन्ने आफूले कहिल्यै कल्पना नगरेको उनको भनाइ छ। भुटानका क्रमिक राजाहरूले धार्मिक क्षेत्रमा आफूलाई जोडेर गरेका ऐतिहासिक निर्णय तथा उनीहरूको दूरदृष्टिप्रति उनले आभार व्यक्त गरेका छन्। ती निर्णयले आफ्नो परिवार र भावी पुस्ताको इतिहासमा समेत आफूले कल्पना नगरेको अवसर सिर्जना गरेको अनुभूति भएको उनले बताएका छन्।
भुटानको राजनीतिक व्यवस्थाले आफूलाई देशबाट टाढा पार्न खोजे पनि देशको माटो, जनता र इतिहाससँगको सम्बन्ध कहिल्यै समाप्त नहुने उनको भनाइ छ। भुटानी माटो, जनता र राजसत्तासँग समेत आफ्नो गहिरो भावनात्मक सम्बन्ध जोडिएको उल्लेख गर्दै उनले भगवान् बुद्धको शिक्षा र करुणाले आफूलाई भुटानी जनतासँग जोडिराखेको बताएका छन्।
रिजालले चिराङको डम्फु सहरनजिक आफूले जमिन खरिद गरेर सहरी भवन निर्माण गर्ने तयारी गरेको प्रसङ्ग पनि उल्लेख गरेका छन्। उक्त जमिनमा बौद्ध गुम्बा स्थापना भएको विषयले आफूलाई गहिरो व्यक्तिगत अर्थ प्रदान गरेको उनको भनाइ छ।
भुटानको विशिष्ट धार्मिक तथा राजनीतिक परम्पराका संस्थापक शाब्द्रुङ ङवाङ नामग्यालको आध्यात्मिक विरासतसँग आफ्नो निजी जमिनमा बनेको गुम्बाको सम्बन्ध जोडिनुलाई उनले विशेष अर्थमा लिएका छन्। धर्मराजाको आध्यात्मिक परम्परा र निवाससँग समेत उक्त स्थानको सम्बन्ध जोडिन सक्ने विश्वासले आफूलाई विशेष शान्तिको अनुभूति गराएको उनले बताएका छन्।
भुटानका संस्थापक धर्मराजा दुईपटक भूमिगत हुनुपरेको र तेस्रोपटक मुलुक फर्किएपछि धर्मराजाको बसोबास विस्थापित गरिएको शिष्य टेकनाथ रिजालको जमिनमा निर्माण भएको गुम्बासँग जोडिन पुगेको घटनालाई उनले सामान्य संयोगका रूपमा मात्र हेरेका छैनन्। यसमा कुनै अलौकिक शक्तिको दृष्टि रहेको अनुभूति भएको उनको भनाइ छ।
यद्यपि, यी अनुभूतिलाई कुनै धार्मिक घोषणा वा अरूले अनिवार्य रूपमा स्वीकार गर्नुपर्ने ऐतिहासिक तथ्यका रूपमा प्रस्तुत गर्न नचाहेको उनले स्पष्ट पारेका छन्। यी आफ्ना व्यक्तिगत आस्था, स्मृति र घटनाक्रमलाई हेर्ने आध्यात्मिक दृष्टिकोण मात्र भएको उनको भनाइ छ।
आफूले राजनीतिक, सामाजिक र शारीरिक पीडा भोग्नुपरेको स्मरण गर्दै रिजालले कारावास, विस्थापन, परिवारसँगको बिछोड र प्रत्येक मानिसले पाउनुपर्ने सुरक्षा तथा सम्मान गुमाउनुपरेको अनुभवसमेत उल्लेख गरेका छन्। विगतका तीता–मीठा अनुभवलाई जोडेर आत्मसन्तुष्टि व्यक्त गर्न खोजेको उनले बताएका छन्।
यति लामो पीडा र विस्थापन भोग्नुपरे पनि भुटान असफल भएको हेर्न नचाहने उनले स्पष्ट पारेका छन्। बरु भुटान विश्वमाझ समृद्ध भएको हेर्न चाहेको उनको भनाइ छ।
आफ्नो जमिनमा निर्माणाधीन गेलेफु माइन्डफुलनेस सिटीलाई शान्ति, ज्ञान, करुणा र अन्तर्राष्ट्रिय सहकार्यको वास्तविक केन्द्र बनेको देख्न चाहेको रिजालले बताएका छन्।
गिनिज बुकमा नाम दर्ता गराएको माइन्डफुलनेस सिटीभित्र निर्माण हुने ध्यानकक्ष, धार्मिक स्मारक, आकर्षक वास्तुकला र अन्तर्राष्ट्रिय लगानी सम्झौतामा मात्र परियोजना सीमित हुन नहुने उनको आग्रह छ। यसले सर्वसाधारण र सबै धर्मावलम्बीको हृदयसम्म पुग्न सक्नुपर्ने उनले उल्लेख गरेका छन्।
उनले ध्यानमा नरहेका बेला पनि उक्त सहरबाट खाली हात विस्थापित हुन बाध्य पारिएका भुटानी नागरिकको पीडा स्मरण गर्ने वातावरण बन्नुपर्ने बताएका छन्। पुर्ख्यौली जमिन, सम्पत्तिको अधिकार, मानव मर्यादा र न्याय खोज्ने अधिकारको महत्त्व स्वीकार गर्ने विवेक भगवान् बुद्धले प्रदान गरून् भन्ने कामनासमेत उनले गरेका छन्।
‘यदि माइन्डफुलनेसको अर्थ दुःखलाई पहिचान गर्नु हो भने विस्थापित मानिसहरूको पीडादायी जिन्दगीको पनि स्मरण होस्,’ रिजालले भनेका छन्, ‘यदि करुणाको अर्थ मानवीय पीडाप्रति संवेदनशील भएर त्यसको समाधानका लागि अघि बढ्नु हो भने आफ्नो घर र पुर्ख्यौली सम्पत्ति गुमाएका नागरिकहरूको वेदनायुक्त कहानी बोकेको ध्यानकेन्द्रको इतिहास अजर–अमर भएर रहिरहोस्।’
बौद्ध शिक्षाको आधारका रूपमा रहेको सम्यक् कर्मलाई राष्ट्रिय विकाससँग जोड्नुपर्ने उनको धारणा छ। राष्ट्रिय विकासको अभिन्न अङ्गका रूपमा न्याय स्थापित हुनुपर्ने उनले बताएका छन्।
कालाम सूत्रले अन्धस्वीकारभन्दा विवेकपूर्ण परीक्षणको महत्त्व दर्साउने उल्लेख गर्दै रिजालले बुद्धका शिक्षाले प्रज्ञा, करुणा र आफ्नै कर्मको परीक्षण गर्न प्रेरित गर्ने बताएका छन्।
विस्थापित नागरिकले आफ्नो जन्मसिद्ध अधिकार सुनिश्चित गर्न न्यायको माग गर्दा उनीहरूलाई राजाको शत्रुका रूपमा हेर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको आग्रह छ। गेलेफु माइन्डफुलनेस सिटी यस विषयमा चेतना विकास गराउने अचुक शिक्षाकक्ष बन्न सकोस् भन्ने आफ्नो चाहना रहेको उनले बताएका छन्।
सम्पूर्ण भुटानी दाजुभाइ तथा दिदीबहिनीले राजनीतिक विरोध र मानवीय अपिलबीचको भिन्नता बुझिदिने विश्वाससमेत उनले व्यक्त गरेका छन्।
इतिहासमा माइन्डफुलनेस सिटी समाधान नभएको अन्यायको बोझ बन्न नहुने रिजालको भनाइ छ। बरु नयाँ सहरको विकास र न्याय सँगसँगै अघि बढ्ने स्थानका रूपमा यसको पहिचान स्थापित हुनुपर्ने उनले बताएका छन्। त्यहाँ निर्माण हुने धार्मिक स्मारकले मानिसलाई आस्थाको मात्र नभई करुणाको पनि सम्झना गराउनुपर्ने उनको आग्रह छ।
त्यसैगरी, अन्तर्राष्ट्रिय साझेदारीले आर्थिक महत्त्वाकाङ्क्षा मात्र नभई माइन्डफुलनेस सिटी निर्माण भएको भूमिको विगतप्रतिको नैतिक जिम्मेवारीसमेत प्रदर्शन गर्न सक्नुपर्ने उनले बताएका छन्।
आफू जीवनको उत्तरार्धतर्फ अघि बढिरहेको उल्लेख गर्दै रिजालले शारीरिक शक्ति कमजोर भएको र कुनै समय उपलब्ध रहेका धेरै राजनीतिक अवसरसमेत समाप्त हुँदै गएको बताएका छन्। तर मानवताप्रतिको आफ्नो विश्वास समाप्त भएको नठान्न उनले आग्रह गरेका छन्।
राजनीतिले आफूलाई भुटानबाट अलग पारेको ठाने पनि भुटानी जनता, त्यहाँको मानवता र भविष्यबाट आफूलाई इतिहासले नै अलग हुन नदिएको उनको अनुभूति छ।
आफू कहाँ जन्मिएको, विश्वले आफूलाई कहिले र कुन परिस्थितिमा देखेको, अहिले कहाँ र कस्तो अवस्थामा रहेको तथा भविष्यमा कहाँसम्मको यात्रा पार गरेर विश्व मानव अधिकार सङ्घ–संस्थाको परिवारबाट सदाका लागि बिदा हुने भन्ने विषयलाई विस्थापित भुटानीहरूको जीवनलीलासँगै जोडेर अध्ययन गरिदिन उनले विश्व समुदायलाई आग्रह गरेका छन्।
गेलेफु माइन्डफुलनेस सिटी वास्तविक सचेतना विकासको सहर बन्न सकोस् भन्ने आफ्नो कामना रहेको रिजालले बताएका छन्। भुटानमा प्रत्येक धर्मको सम्मान होस्, प्रत्येक नागरिकले मर्यादापूर्ण व्यवहार पाओस् र प्रत्येक विस्थापित परिवार न्याय प्राप्त गर्ने अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उनको आग्रह छ।
रिजालले विकास, समृद्धि र न्यायबीचको सम्बन्धलाई बौद्ध दर्शन तथा मानवताको दृष्टिकोणबाट व्याख्या गरेका छन्। उनले भनेका छन्, ‘ढुङ्गा र माटोबाट स्तूपाको निर्माण गर्न सकिन्छ। सर्वपक्षीय लगानीबाट नयाँ–नयाँ सहर निर्माण गर्न सकिन्छ र विकासबाट समृद्धि सिर्जना गर्न सकिन्छ। तर करुणामय राष्ट्रको निर्माण न्याय, मानवता र पारस्परिक सम्मानको आधारमा मात्र सम्भव हुन्छ भन्ने विवेकलाई कसैले पनि बन्धक नबनाओस्।’
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.