एक विवाहित पुरुष। जसको परिवार छ। घरमा छोराछोरी र श्रीमती छिन्। उनी अभिभावक हुन्। तर यो कुरालाई नजरअन्दाज गर्दै नेपालमा पहिलो पटक सफल भनिएको लिङ्ग परिवर्तन शल्यक्रिया उनै अभिभावकमा परीक्षण गरिएको छ।
काठमाडौँको त्रिवि शिक्षण अस्पताल, प्लास्टिक सर्जरी विभागले एक जना विवाहित पुरुषको मेल–टु–फिमेल (पुरुषबाट महिला) लिङ्ग परिवर्तन गरिदिएको छ। निःशुल्क लिङ्ग परिवर्तन गर्ने धनुषाका ती व्यक्तिको नाम गोप्य राखिएको छ।
बाहिर सार्वजनिक भएका नाम सबै परिवर्तित भनिएको छ। ब्लु डायमन्ड सोसाइटीको सिफारिसमा अस्पतालले व्यक्तिको अनुमति लिएर लिङ्ग परिवर्तन शल्यक्रिया गरेको बताएको छ। विवाहित पुरुषको मेल–टु–फिमेल (पुरुषबाट महिला) लिङ्ग परिवर्तन गरिएको विषयले अहिले गम्भीर प्रश्न उठाएको छ।
यो शल्यक्रियामा परिवारसँग कुनै सहमति नलिएको आरोप सामाजिक सञ्जालमा ओइरिएका छन्। परिवारसँग भन्दा पनि लिङ्ग परिवर्तन गर्ने व्यक्तिसँग सम्बन्धित विषय रहेकाले उनको राय सहमति लिएको अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख डा. जयन मान श्रेष्ठले बताए। उनले पहिचानसँग भने, “म अप्रेसन कक्षमा छिर्दैछु, पछि कुरा गरौँ।”
उनले घरमा श्रीमती र बच्चा छन् भन्ने आरोपबारे पछि कुरा गर्ने बताए। लिङ्ग परिवर्तन गरेका व्यक्तिको स्वास्थ्य अवस्था ठिक रहेको बताए। “परिवारसँग सम्बन्धित भन्दा पनि हामीले पेसेन्ट(बिरामी)सँग कुरा गरिरहेका छौँ, सबै कुरा गरेका छैनौ,”उनले भने,“त्यसको बारेमा चाहिँ पछि कुरा गरौँला।”
अस्पताल प्रशासनले विवाह र परिवारको पृष्ठभूमिबारे जानकारी नरहेको जनाएको छ। यस्तो अवस्थामा प्रश्न उठ्छ—के शिक्षण अस्पतालले पूर्व–पारिवारिक परामर्शको मापदण्ड पालना गर्यो? यदि गरेन भने, यो लापरबाही कि योजनाबद्ध बेवास्ता?
एकातिर सहमति नहुनु र अर्को तर्फ नेपालमा हालसम्म लिङ्ग परिवर्तनको स्पष्ट कानुनी आधार नहुँदा पनि शल्यक्रिया हुनुले संवेदनशील चिकित्सा प्रक्रियाले राज्यको संयमता र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ।
नेपालमै पहिलोपटक भएको यस किसिमको शल्यक्रियामा पहाडी समुदायका तेस्रोलिंगी नेताहरू अगाडि देखिए, पनि शरीर प्रयोग भने मधेसी समुदायको गरिएको छ। शल्यक्रियाको नेतृत्व अमेरिकी डाक्टरले गरे।
लिङ्ग परिवर्तन सफल भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ब्लु डायमन्ड सोसाइटीका प्रतिनिधिलाई उभ्याइएको थियो। खुसी व्यक्त गरेका थिए पत्रकार सम्मेलनमा सोसाइटीका अनुज राई (पिटर)ले।
व्यक्तिगत इच्छा पूरा गर्न श्रीमती र छोराछोरीलाई बेवास्ता गर्नु अन्याय भएको मानव अधिकारकर्मी सञ्जीवनी लामा (सन्ध्या)ले बताइन। यस्तो शल्यक्रिया गर्नेलाई मात्र नभई गराउने संस्थालाई पनि कानुनी कारबाही गर्नुपर्ने माग गरिन।
शल्यक्रिया भएका व्यक्तिको श्रीमती र सन्तान छन् भन्ने खुलेपछि, यो निर्णय अब व्यक्तिगत अधिकारको सीमाभित्र सीमित छैन। यो परिवारमा पर्ने मानसिक, सामाजिक र मनोवैज्ञानिक असरसँग गहिरो रूपमा गाँसिएको विषय बनेको छ।
ब्लु डायमन्ड सोसाइटीले तीन जनाको नाम सिफारिस गरेकोमा एक जनाले मात्रै लिङ्ग परिवर्तन गरे। बाँकी दुई जना पछाडि हटे। नाम सिफारिस गर्ने ब्लु डायमन्ड सोसाइटीको नेतृत्वले सुरुमा आफैँलाई देखाए। तर, पठाए अरू नै।
आत्मसशक्तिकरण भन्दै अरूको शरीर, परिवार र भविष्य प्रयोग गर्ने यस्ता अभ्यास कति नैतिक हुन्?
श्रीमती र बच्चा भएको व्यक्तिलाई लिङ्ग परिवर्तन गर्न सिफारिस गर्नुको कारणबारे प्रश्न राख्दा ब्लु डायमन्ड सोसाइटीकी कार्यकारी निर्देशक मनिषा ढकालले प्रश्न नै सामना गरिनन्। मिडिया भन्ने बित्तिकै उनले दोस्रो, तेस्रो कल नै रिसिभ गरिनन्।
नेपालमा दातृ संस्थाको सहयोगमा यस्ता शल्यक्रिया निःशुल्क गरिन्छन्। तर दीर्घकालीन हर्मोन थेरापी, मानसिक परामर्श, सामाजिक पुनः स्थापनाजस्ता आवश्यक पक्षहरू कसले हेर्ने? राज्य मौन छ। दाताहरू ‘अधिकार’को नाममा आँखा चिम्लिरहेका छन्।
अधिकारकर्मी नुमा लिम्बु (चञ्चला) सामाजिक सञ्जालमा लेख्छिन् “सशक्तीकरण त्यतिबेला मात्र सही हुन्छ जब त्यो अरूको जीवन र अधिकारमाथि ठेस नपुर्याएर गरिन्छ।”
ब्लु डायमन्ड सोसाइटीका संस्थापक एवं पहिलो संविधान सभा सदस्य सुनिल बाबु पन्तले सुनिल बाबु पन्तले लिङ्ग प्रत्यारोपण शल्यक्रिया गर्नु अगाडि, केवल व्यक्तिको होइन, उनको परिवारको पनि गहिरो मनोवैज्ञानिक र कानुनी परामर्श अनिवार्य हुनुपर्ने बताएका छन्।
एक अभिभावकको यौनिक पहिचानमा यति ठुलो परिवर्तन हुँदा सन्तानको मानसिक स्वास्थ्य, सुरक्षा बोध, सामाजिक परिचय सबै सङ्कटमा पर्छ। बाल अधिकार सन्धिअनुसार, यस्तो दीर्घकालीन असर पर्ने निर्णयमा बालबालिकाको हित अनिवार्य रूपमा विचार हुनुपर्छ।
नेपालमा हालसम्म लिङ्ग परिवर्तनको स्पष्ट कानुनी आधार छैन। नागरिकता, पारिवारिक जिम्मेवारी, विवाहको वैधता—सबै अधुरो। यसरी कानुनी, नैतिक र सामाजिक पूर्वाधारविनाको यस्तो संवेदनशील चिकित्सा प्रक्रियाले राज्यको संयमता र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार प्राप्तिका अभियन्ता एवं हाल मायाको पहिचान नेपालका कार्यकारी निर्देशक रहेका पन्तले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,“यदि ती व्यक्ति विवाहित थिए भने, यो निर्णय एकल होइन, सामूहिक उत्तरदायित्वको विषय हो। शल्यक्रिया अघि पारिवारिक सहमति अनिवार्य हुनुपर्छ।”
सबैभन्दा पहिले प्रश्न उठ्छ—पत्नीको के हुन्छ? उनको यौनिक, भावनात्मक र कानुनी आवश्यकताको के सुनिश्चितता छ? के उनी अझै पनि त्यही “पति“ की पत्नी रहन्छिन्? कि सम्बन्ध स्वतः अन्त्य हुन्छ? यस्तो अवस्थामा पत्नीको अधिकारको के रक्षा हुन्छ?
त्यस्तै, सन्तानको कुरा पनि गम्भीर छ। जब बाबुआमामध्ये एक जनाको लिङ्ग परिवर्तन हुन्छ, त्यसले बालबालिकाको मनोविकास, पारिवारिक आत्मीयता र सुरक्षामा असर पर्छ। के यिनीहरूको पनि आवाज सुन्ने प्रयास भयो?
पन्तले गम्भीर आशङ्का पनि उठाएका छन् — “के श्रीमतीको स्पष्ट सहमति लिइएको थियो? कि उनलाई चुपचाप सहन बाध्य पारिएको हो? कतै, लिङ्ग परिवर्तन गरेपछि ‘हिजडा नेतृ’ बनाएर सहयोग सङ्कलनको बाटो खोल्ने योजना त थिएन?”
यो शल्यक्रिया एक व्यक्तिको रूपान्तरण मात्र होइन—एक परिवारको असहमतिको चीत्कार, एक बच्चाको मौन पीडा र एक संस्थाको स्वार्थको पर्दाफास हो।
नेपालमा लिङ्ग परिवर्तनको सवाल अब केवल यौनिक अल्पसङ्ख्यकको अधिकारको विषय रहेन। यो महिलाको अधिकार, बाल अधिकार, पारिवारिक संरचना र सामाजिक न्यायको सवाल बनेको छ।
नेपालमै लिङ्ग परिवर्तन शल्यक्रिया : वास्तविकता, जोखिम र जटिलताहरू ओझेलमा
प्राइड उत्सव : मानसिक स्वास्थ्य कि माइन्ड फ्रेस धन्दा?
“तेस्रोलिंगीलाई पारलैंगिक बनाउने विवादास्पद योजना बन्द, संस्थाले भन्यो – क्षमापार्थी छौँ”
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.