रक्तदानको अभियान : प्रवासमा जीवन र मन जोड्ने सेतु

रक्तदानको अभियान : प्रवासमा जीवन र मन जोड्ने सेतु

68
SHARES

“मानवताको एक थोपा, रगत दिनुहोस्, जीवन बचाउनुहोस्” यही मूल नाराका साथ विश्वभर विश्व रक्तदाता दिवस मनाइँदै छ। रक्तदान जीवनदानको महान् अभियान हो। संसारका विभिन्न कुनाकाप्चामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू एकजुट भई विगत केही वर्षदेखि रक्तदान अभियानलाई निरन्तरता दिँदै आएका छन्। विभिन्न सामाजिक तथा गैरनाफामूलक संस्थाहरूले नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गरी मानव सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरिरहेका छन्।

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता सङ्घ र यसको विश्वव्यापी अभियान

यस महान् अभियानको परिकल्पना तत्कालीन समयमा अमेरिकामा बसोबास गर्ने संस्थापक अध्यक्ष स्व. अर्जुनप्रसाद मैनालीले गरेका थिए। विश्वको जुनसुकै कुनामा नेपाली पुगे पनि मानवताको सेवामा एकजुट हुनुपर्छ भन्ने उद्देश्यका साथ “हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान” भन्ने मूल नारासहित सन् २०१४ को फेब्रुअरीमा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता सङ्घ (आएनबीडीए) स्थापना गरिएको थियो।

अमेरिका र नेपालमा दर्ता भएको यस संस्थाले आज २१ देशमा औपचारिक शाखा विस्तार गरिसकेको छ भने ३५ भन्दा बढी देशहरूमा आफ्नो सञ्जाल फैलाउन सफल भएको छ। संस्थाको विकास र विस्तारमा संस्थापक उपाध्यक्ष तथा निवर्तमान अध्यक्ष अजय सत्याल, वर्तमान अध्यक्ष राहुल रेग्मी, उपाध्यक्ष डा. मनिता राजकर्णिकार लगायत सम्पूर्ण संस्थापक सदस्यहरूको योगदान अविस्मरणीय छ।

यसै क्रममा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता सङ्घ (आएनबीडीए) ले यस वर्ष जुन १२ देखि जुन १८ सम्म सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्दै रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ। रक्तदानको महत्त्व जनजनसम्म पुर्‍याउने उद्देश्यले सङ्घले विश्वका २१ भन्दा बढी देशहरूमा शाखा विस्तार गरी अभियानलाई थप प्रभावकारी बनाउँदै आएको छ।

हालै नेपाली रक्तदाता सङ्घ यूएईले नयाँ कार्यसमिति चयन गरेको छ। यूएईमा सन् २०२० मा स्थापना भएको संस्था केही समय निष्क्रिय रहे पनि सन् २०२४ मा बासुदेव ढुङ्गानाको अध्यक्षतामा तदर्थ समिति गठन भएपछि पुनः सक्रिय भएको थियो।

संस्थालाई विधिवत् रूपमा अघि बढाउने तथा दीर्घकालीन संस्थागत निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले पहिलो अधिवेशन सम्पन्न गरिएको थियो। अधिवेशनका पर्यवेक्षक तथा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता सङ्घका कोषाध्यक्ष एवं नेपाली रक्तदाता सङ्घ यूएईका संरक्षक सुनिलराज श्रेष्ठका अनुसार संस्थाको दिगोपनका लागि यो अधिवेशन महत्त्वपूर्ण कोशेढुङ्गा साबित भएको छ।

रक्तदानको इतिहास

विश्वव्यापी रूपमा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो। सन् २००५ मा विश्व स्वास्थ्य सङ्गठन तथा संयुक्त राष्ट्रसङ्घले यस दिवसलाई औपचारिक मान्यता प्रदान गरेपछि हरेक वर्ष जुन १४ मा विश्व रक्तदाता दिवस मनाइँदै आएको छ।

मानव रक्त समूहको खोज गर्ने नोबेल पुरस्कार विजेता वैज्ञानिक कार्ल ल्यान्डस्टाइनरको जन्मदिनको अवसर पारेर यो दिवस मनाइन्छ।विश्व चिकित्सा इतिहासअनुसार पहिलो पटक मानिसबाट मानिसमा सफल रक्तसञ्चार गराउने चिकित्सक डा. जेम्स ब्लन्डेल हुन्।

सन् १८१८ मा उनले अत्यधिक रक्तस्राव भएकी एक महिलालाई उनका पतिको रगत दिएर सफल उपचार गरेका थिए। त्यसैले इतिहासमा पहिलो ज्ञात रक्तदाता ती महिलाका पति मानिए पनि उनको नाम भने अभिलेखमा सुरक्षित छैन।

त्यसैगरी, सन् १९३७ मा हंगेरियन-अमेरिकी चिकित्सक बर्नार्ड फ्यान्टसले “ब्लड बैङ्क” अवधारणाको विकास गरेका थिए। अमेरिकाको सिकागोस्थित कुक काउन्टी अस्पतालमा पहिलो ब्लड बैङ्क स्थापना भएपछि आधुनिक रक्त व्यवस्थापन प्रणालीको विस्तार भएको मानिन्छ।

नेपालमा भने सन् १९६६ तिर नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक तथा चिकित्सकहरूको पहलमा रक्तसञ्चार सेवा औपचारिक रूपमा सुरु भएको मानिन्छ। इतिहासअनुसार जनचेतना न्यून रहेको समयमा पनि मानव सेवाको भावनाले प्रेरित भएर दयावीर सिंह कंसाकारले सन् १९४४ मा पहिलो पटक रक्तदान गरेका थिए।

त्यसैगरी, तारा देवी तुलाधरले सन् १९६१ मा रक्तदान गरी महिलाहरू पनि रक्तदानमा सक्रिय हुन सक्छन् भन्ने प्रेरणादायी सन्देश प्रवाह गरेकी थिइन्।

भ्रम कि तथ्य?

म स्वयंलाई पनि एक समय रक्तदान गर्दा शरीर कमजोर हुन्छ, दुब्लाइन्छ वा रगत कम हुन्छ भन्ने भ्रम थियो। यस्ता सोचाइहरू आज पनि धेरै मानिसमा विद्यमान छन्। तर वैज्ञानिक अनुसन्धानहरूले स्वस्थ व्यक्तिले रक्तदान गर्दा कुनै नकारात्मक असर नपर्ने प्रमाणित गरिसकेका छन्।

बरु नियमित रक्तदानले शरीरमा नयाँ रक्तकोष निर्माण गर्न मद्दत गर्छ, रक्तसञ्चार प्रणालीलाई सक्रिय राख्छ र मुटुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। विभिन्न अध्ययनहरूका अनुसार नियमित रक्तदान गर्ने व्यक्तिहरूमा केही प्रकारका मुटुरोग तथा अन्य स्वास्थ्य समस्याको जोखिम कम हुन सक्ने देखिएको छ।

दुर्घटना, शल्यक्रिया, प्रसूति अवस्था, क्यान्सर, रक्तअल्पता, महामारी, प्राकृतिक विपत्ति तथा विभिन्न रक्तसम्बन्धी रोगका कारण हजारौँ बिरामीहरू दैनिक रूपमा रगतको खोजीमा अस्पताल धाउने गर्छन्। कतिपय अवस्थामा रगत नै जीवन र मृत्युबीचको अन्तिम आधार बन्ने गरेको छ।

यस्तो अवस्थामा स्वस्थ व्यक्तिहरूले गरेको रक्तदानले अपरिचित व्यक्तिको जीवन बचाउन सक्छ। वास्तवमा, अर्को व्यक्तिको जीवन बचाउनु भन्दा ठूलो मानव सेवा विरलै हुन्छ। त्यसैले रक्तदानप्रति रहेका भ्रम र डरलाई त्यागेर समाजसेवाको यस महान् अभियानमा सहभागी हुनु आजको आवश्यकता हो।

नेपालमा रक्तदानसम्बन्धी जनचेतना उल्लेखनीय रूपमा बढ्दै गएको छ। सामाजिक सञ्जाल, सञ्चारमाध्यम तथा विभिन्न अभियानहरूको प्रभावका कारण आकस्मिक अवस्थामा स्वतःस्फूर्त रूपमा रक्तदान गर्न जाने संस्कार विस्तार हुँदै गएको छ।

विशेष गरी युवापुस्तामा सामाजिक सेवाप्रतिको आकर्षण बढ्दो छ। नेपालमा मात्र होइन, विदेशमा रहेका नेपाली समुदायहरूले समेत विभिन्न संघसंस्थासँग सहकार्य गर्दै रक्तदान, जनचेतनामूलक कार्यक्रम, र्‍याली तथा अन्तरक्रियामार्फत रक्तदानको महत्त्व प्रचार–प्रसार गरिरहेका छन्।

रक्तदानका केही महत्त्वपूर्ण तथ्यहरू

* रक्तदानपछि शरीरले नयाँ रक्तकोष निर्माण गर्छ।

* नियमित रक्तदानले मुटुसम्बन्धी समस्याको जोखिम घटाउन सहयोग पुर्‍याउन सक्छ।

* एकपटक गरिएको रक्तदानबाट कम्तीमा तीन जनासम्मको जीवन बचाउन सकिन्छ।

* रक्तदानले सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई अझ सुदृढ बनाउँछ।

नेपाली रक्तदाता सङ्घ यूएईको योगदान

“हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान” भन्ने मूल नाराका साथ नेपाली रक्तदाता सङ्घ यूएईले विशुद्ध सामाजिक सेवाको उद्देश्यले १७ जुन २०२४ मा पहिलो पटक दुबई स्वास्थ्य प्राधिकरण (डिएचए) सँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो।

हालसम्म संस्थाले पाँचवटा सफल रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ। दुबईमा सङ्घमार्फत करिब ५५० भन्दा बढी नेपालीले रक्तदान गरी मानव सेवामा महत्त्वपूर्ण योगदान पुर्‍याइसकेका छन्।

एक युनिट रगतबाट प्लाज्मा, प्लेटलेट्स तथा रातो रक्तकोष (आरबीसी) छुट्याउन सकिने भएकाले एउटै रक्तदानबाट धेरै बिरामीहरूलाई जीवनदान दिन सम्भव हुन्छ।

नेपाली रक्तदाता सङ्घ यूएईको ध्येय केवल रक्तदान गर्ने वा रक्तदाताको संख्या बढाउने मात्र होइन, यूएईभरि फैलिएका नेपाली समुदाय, विभिन्न सङ्गठन तथा सङ्घ–संस्थाहरूबीच सहकार्य, एकता र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय स्तरको सशक्त मानवीय अभियान निर्माण गर्नु पनि हो। मानवताको सेवामा समर्पित यस अभियान मार्फत आवश्यकतामा परेकाहरूलाई समयमै रगत उपलब्ध गराउनुका साथै समाजमा रक्तदान प्रतिको चेतना, सहभागिता र सद्भावलाई अझ मजबुत बनाउने हाम्रो प्रतिबद्धता रहेको छ।

प्रवासी समुदायको भूमिका

प्रवासी नेपाली समुदायले रक्तदान अभियानलाई अझ सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। सामाजिक सञ्जाल, अन्तर्वार्ता, वेबिनार तथा जनचेतनामूलक कार्यक्रममार्फत रक्तदानको महत्त्व व्यापक रूपमा फैलाउन सकिन्छ।

त्यसैगरी, विभिन्न सङ्घसंस्था, रक्त बैङ्क तथा स्वास्थ्य निकायहरूसँग समन्वय गरी रक्तदान शिविर, रक्त व्यवस्थापन अभियान तथा आर्थिक सहयोग कार्यक्रम सञ्चालन गर्न सकिन्छ।

रक्तदान केवल रगत दिने कार्य मात्र होइन; यो आशा, विश्वास, करुणा र मानवताको सबैभन्दा सुन्दर अभिव्यक्ति हो। यसले अपरिचित व्यक्तिलाई समेत जीवनको नयाँ अवसर प्रदान गर्दछ।

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता सङ्घका भगिनी संस्थाहरूमध्ये एक नेपाली रक्तदाता सङ्घ यूएईले विगत दुई वर्षदेखि दुबई स्वास्थ्य प्राधिकरण अन्तर्गतको दुबई रक्तदान केन्द्रसँग निरन्तर सहकार्य गर्दै बृहत् रक्तदान कार्यक्रमहरू आयोजना गर्दै आएको छ।

विश्व रक्तदाता दिवस केवल एउटा दिवस होइन, मानवताको उत्सव हो। जीवन बचाउने रक्तदाताहरूको योगदानको सम्मान गर्नु, नयाँ रक्तदातालाई प्रेरित गर्नु तथा नियमित रक्तदाताहरूलाई उचित कदर गर्नु यस दिवसको मुख्य उद्देश्य हुनुपर्छ।

रक्त व्यवस्थापन तथा रक्तदान प्रवर्द्धनका लागि राज्यले पर्याप्त बजेट, प्रभावकारी नीति तथा दीर्घकालीन कार्यक्रममार्फत सहयोग गर्न आवश्यक छ। रक्तदातालाई प्रोत्साहन गर्ने योजना तथा सम्मान कार्यक्रमहरू सञ्चालन गर्न सके रक्तदान संस्कृतिले अझ व्यापकता पाउनेछ।

रक्तदान कुनै दान मात्र होइन, यो जीवनप्रतिको जिम्मेवारी र मानवताप्रतिको समर्पण हो। आज तपाईँले दिएको एक थोपा रगत कसैको जीवनको अन्तिम आशा बन्न सक्छ।

समाचार शेयर गर्नुहोस्
68
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.