कुटपिटमा संलग्न भारतीय नागरिकको प्रहरी कार्यालयमै दादागिरी

कुटपिटमा संलग्न भारतीय नागरिकको प्रहरी कार्यालयमै दादागिरी

19
SHARES

काठमाडौं – एक जना तेस्रोलिंगी महिलाले भारतीय नागरिकलाई सेवा प्रदान गर्ने क्रममा उल्टै उनैबाट निर्घात कुटाइ खानुपरेको छ। भारतीय नागरिकको दादागिरी र रवाफले सीमा नाघेको मात्र होइन, घटनापछि समेत प्रभाव र पहुँच देखाएर कानुनी प्रक्रियामाथि दबाब सिर्जना गर्ने प्रयास गरिएको आरोप छ।

आइतबार राति ठमेलस्थित ड्रुकइन होटलमा भारतीय नागरिक २२ वर्षीय अखिल श्रीनिवासले तेस्रोलिंगी महिलालाई लिएर कोठामा गएका थिए। त्यही कोठाभित्र उनले तेस्रोलिंगी महिलामाथि कुटपिट गरे। कुटपिटबाट पीडितको आँखाभित्रै घाउ भएको छ भने अनुहार र टाउकोमा समेत चोट लागेको छ।

पीडितका अनुसार घटना त्यतिबेला सुरु भयो, जब उनी रुमभित्र सेवा दिइरहेका बेला श्रीनिवासले उनकै पैसा चोर्न थाले। तेस्रोलिंगी महिलाले पैसा चोरेको दृश्य मोबाइलमा भिडियो खिचिन् र, “मेरो पैसा किन चोरिस्?” भन्दै प्रश्न गरिन्। त्यसपछि श्रीनिवास आक्रोशित बने। उनले, “भिडियो किन बनाइस्?” भन्दै मोबाइल खोसेर भुईँमा पछारिदिए। त्यसपछि झगडा भएको पीडितले बताइन्।

पीडितका अनुसार श्रीनिवासले आफू कराँते खेलाडी भएको भन्दै टाउको र अनुहारतर्फ लगातार मुक्का प्रहार गरे। “म ढोकाको चुकुल खोलेर गुहार नमागेको भए मलाई भित्रै मारिसकेको थियो,” उनले बताइन्।

घटनापछि तेस्रोलिंगी महिलाले प्रहरी बोलाउन लगाइन्। तर घटनास्थलमा पुगेका प्रहरीको व्यवहारप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेकी छन्। उनका अनुसार प्रहरीले “एक हजार रुपैयाँ लिनु र यसलाई छाडिदिनु” भन्दै मिलापत्र गर्न दबाब दिएको थियो। “कति, एक लाख चाहिन्छ?” भन्दै घटनास्थलमा पुगेका प्रहरीले सोधेको उनको दाबी छ। आफू गम्भीर घाइते भएकाले प्रहरी चौकी नै जाने अडान लिएको उनले बताइन्।

हाल नेपाली नागरिकलाई होटलमा लगेर कुटपिट गरेको आरोप लागेका भारतीय नागरिक श्रीनिवास महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा छन्। उनको कुटपिटबाट घाइते तेस्रोलिंगी महिला काठमाडौं मोडल अस्पतालको २२७ नम्बर बेडमा उपचाररत छिन्।

अस्पतालको बेडबाट उनले आक्रोश व्यक्त गर्दै प्रश्न गरिन्, “बाहिरी देशको नागरिकले आफ्नै देशमा आएर यति गम्भीर रूपमा कुटपिट गर्दा पनि हाम्रो पुलिस प्रशासन न्याय दिनुको सट्टा उल्टै हामीलाई नै दबाउन खोज्ने कस्तो कानुन छ नेपालमा? साँच्चै सरकारले देश बेचेकै हो त?”

घटनापछि ठमेल–सोह्रखुट्टेको चिलपिल जोनका सञ्चालक देवेन्द्र बहादुर खत्री (मधु) सहितको टोली मङ्गलवार दिनभर प्रहरी वृत्त सोह्रखुट्टेमा बसेर जाहेरी दर्ताको प्रक्रिया अगाडि बढाएको थियो। उनीहरूले घटनामा संलग्न भारतीय नागरिकमाथि कानुनी कारबाही हुनैपर्ने माग गरेका छन्।

घटनाका क्रममा तथा त्यसपछिको प्रक्रियामा समेत श्रीनिवासले आफ्नो प्रभाव र पहुँच देखाउने प्रयास गरेको आरोप छ। प्रत्यक्षदर्शीका अनुसार कुटपिटका आरोपित श्रीनिवासले प्रहरी कार्यालयमै आफू भारतको गृह मन्त्रालयसँग सम्बन्धित व्यक्तिहरूसँग सम्पर्कमा रहेको सङ्केत गर्दै फोन कुराकानी सुनाउने प्रयास गरेका थिए।

नेपालमा आएर नेपाली नागरिकमाथि गम्भीर कुटपिट गरेका व्यक्तिले प्रहरी कार्यालयभित्रै प्रभाव र पहुँच प्रदर्शन गर्न खोजेको घटनालाई उपस्थितहरूले भारतीय नागरिकको रवाफ र दादागिरीको पराकाष्ठाका रूपमा व्याख्या गरेका छन्। त्यसपछि सोह्रखुट्टेका प्रहरी अधिकारीहरू आक्रोशित बनेका थिए। “पावर देखाउने ठाउँ यो होइन,” भन्दै प्रहरीले जवाफ दिए।

चिलपिल जोनका सञ्चालक मधुका अनुसार सुरुमा प्रहरीले घटनालाई त्यति गम्भीरतापूर्वक नलिएको जस्तो देखिएको थियो। “यिनीहरू यस्तै हुन्, पैसा लिन्छन्, मिलापत्र गर्छन् र जान्छन् भन्ने बुझाइ परेको हुनसक्छ। विगतमा संस्थागत उपस्थितिमा त्यस्तै प्रकारले मिलापत्र भएका घटनाहरूका कारण पनि त्यस्तो सोच बनेको हुन सक्छ,” मङ्गलवार दिनभर छलफलमा सहभागी भएका मधुले भने, “तर भारतीय नागरिकको रवाफ, धम्की र प्रभाव देखाउने प्रयास सुनेपछि प्रहरीले यो केसलाई गम्भीर रूपमा लिन थालेको पाएका छौँ। हेरौँ, बुधवार फेरि बोलाएको छ, के हुन्छ।”

मधु गत फागुन २१ को चुनावमा समावेशी समाजवादी पार्टीबाट रुपन्देही निर्वाचन क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार हुन्। मायाको पहिचान नेपालका राजनीतिक एवं सामाजिक अभियन्ता समेत रहेका मधुले न्यायका लागि बोलिरहने बताए। “चिलपिल नै बन्द गरेर दिनभर प्रहरी कार्यालयमा बसियो,” उनले भने, “कानुन विपरीतका काम गर्नेलाई कारबाही हुनुपर्छ।”

सख्त घाइते तेस्रोलिंगी महिला पिंकी राई हुन्। उनी पनि गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा समावेशी समाजवादी पार्टीबाट ओखलढुङ्गाकी प्रत्यक्षतर्फकी “अन्य” पहिचानकी एकमात्र उम्मेदवार हुन्। उनी यतिबेला भने स्वयं न्यायको पर्खाइमा छिन्।

उनका अनुसार आँखामा गम्भीर चोट लाग्ने गरी आक्रमण गर्ने भारतीय नागरिकविरुद्ध सामान्य अभद्र व्यवहारको मुद्दा मात्रै चलाएर नहुने अवस्था छ। घटनाको प्रकृति, आक्रमणको गम्भीरता, पीडितको आँखामा पुगेको चोट तथा शारीरिक क्षतिलाई आधार मानेर कडा कानुनी कारबाही हुनुपर्ने उनको माग छ।

उनका अनुसार नेपालमा आएर नेपाली नागरिकमाथि गम्भीर आक्रमण गर्ने, त्यसपछि प्रभाव र पहुँच देखाउने प्रवृत्तिलाई सामान्य घटनाका रूपमा लिन नहुने भएकाले कानुनअनुसार निष्पक्ष र कडा कारबाही हुन आवश्यक छ।

समाचार शेयर गर्नुहोस्
19
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.