काठमाडौं – भारतीय नागरिकले होटलको कोठामा बोलाएर एक जना तेस्रोलिंगीमाथि निर्घात कुटपिट गरेका छन्। काठमाडौँको ठमेलस्थित एक होटलको कोठामा भारतीय नागरिकले कुटपिट गर्दा तेस्रोलिंगी महिला गम्भीर घाइते भएकी छन्। आइतबार राति कुटपिट हुन थालेपछि ढोकाको चुकुल खोलेर ज्यान जोगाएको पीडित तेस्रोलिंगीले बताएकी छन्।
उनले प्रहरीलाई आफैँ खबर गरेर बोलाएको र उपचार गराइदिन तथा कुटपिट गर्ने विरुद्ध उजुरी लिन आग्रह गरेको बताइन्। तर, उपचारको व्यवस्था गर्नुको सट्टा प्रहरीले १ हजार रुपैयाँ लिएर मिलापत्र गर्न भनेको उनको आरोप छ।
गम्भीर कुटपिटको घटनामा मिलापत्र हुन नसक्ने र आफ्नो उपचार हुनुपर्ने अडान उनले राखेकी थिइन्। प्रहरीसँग केहीबेर भएको संवाद पहिचानसँग सुरक्षित रहेको भिडियोमा समेत सुनिन्छ। १ हजार रुपैयाँमा मिलापत्र नहुने बताएपछि प्रहरीले “कति, एक लाख चाहियो?” भनेर सोधेको भिडियोमा सुनिन्छ।
पैसाको विषय नभई घाउचोट लाग्ने गरी कुटपिट गर्ने भारतीय नागरिकलाई कानुनी कारबाही हुनुपर्ने माग गर्दै ती तेस्रोलिंगी महिला सोह्रखुट्टे प्रहरी कार्यालय पुगेकी थिइन्। पटकपटक आग्रह गर्दा पनि उजुरी दर्ता नभएको र दिउँसो ३ बजे डिएसपी आएपछि मात्र उजुरी दर्ता भएको मायाको पहिचान नेपालमा कार्यरत राजनीतिक एवं सामाजिक अभियन्ता मधु केसीले जानकारी दिए।
प्रहरी कार्यालयमा मायाको पहिचान नेपाल र समावेशी मञ्च नेपालको टोलीले न्याय दिलाउन पटकपटक आग्रह गरेपछि मात्र उजुरी दर्ता भएको उनले बताए। उनले बताइन्।
मायाको पहिचान नेपालमा राजनीतिक एवं सामाजिक अभियन्ताका रूपमा कार्यरत उनले आफ्नो समुदायप्रति प्रहरी प्रशासनको दृष्टिकोण अझै पनि नकारात्मक रहेको अनुभव सुनाइन्। आफू मायाको पहिचान नेपालमा काम गर्ने व्यक्ति भएको बताउँदा प्रहरीले “राती राती किन हिँड्नु परेको?” भनेर प्रश्न गरेको भिडियोमा सुनिन्छ।
राजनीतिक तथा सामाजिक अभियन्ताका रूपमा काम गर्दा प्राप्त हुने पारिश्रमिकले खानबस्न समेत नपुग्ने अवस्था रहेको उनले बताएकी छन्। त्यसपछि प्रहरीले दुवै जनालाई सोह्रखुट्टे प्रहरी चौकीमा लगेको दृश्य भिडियोमा देखिन्छ।
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले कुटपिटमा संलग्न भारतीय नागरिक २२ वर्षका अखिल श्री निवाससँग पैसाको विषयमा कुरा नमिल्दा कुटपिट भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएको छ।
कुटपिट गर्ने भारतीय नागरिकलाई हिरासतमा राखिएको जानकारी प्रहरी वृत्त सोह्रखुट्टेले दिएको छ। “उहाँहरू चार–पाँच जना आउनु भएको थियो, उजुरी दिएर जानु भएको छ,” प्रहरी वृत्त सोह्रखुट्टेले पहिचानसँग भन्यो,“अनुसन्धान जारी छ।”
पीडित तेस्रोलिंगी महिलाले ठमेलको एक हाेटलमा सेवा दिइरहेको बेला भारतीय नागरिकले आफ्नो ब्यागबाट पैसा झिकेको थाहा पाएको बताएकी छन्। त्यही समयमा मोबाइल अन गरेर भिडियो रेकर्ड गर्दै “मेरो पैसा किन चोरिस्?” भनेर प्रश्न गर्दा ती व्यक्तिले “भिडियो किन बनाइस्?” भन्दै मोबाइल खोसेर भुईँमा पछारिदिएको र त्यसपछि झगडा सुरु भएको उनको भनाइ छ।
“म त कराँते खेलाडी हुँ” भन्दै ती व्यक्तिले टाउको र अनुहारतर्फ मुक्का प्रहार गरेको, आफूले बल्लतल्ल ढोकाको चुकुल खोलेर गुहार माग्न सकेको र त्यसो नगरेको भए आफूलाई कोठाभित्रै मार्न सक्ने अवस्था रहेको उनले बताएकी छन्।
उनका अनुसार घटनास्थलमा पुगेका प्रहरीले “१००० रुपैयाँ लेऊ र यसलाई छाडिदेऊ” भन्दै दबाब दिएका थिए। आफू गम्भीर घाइते भएकाले मिलापत्र नगरी प्रहरी चौकी नै जाने अडान राखेको उनले बताइन्।
सोह्रखुट्टे प्रहरीका केही कर्मचारीबाट पनि तुच्छ व्यवहार भएको आरोप लगाउँदै उनले दिउँसो करिब ३ः३० बजे डिएसपी आएपछि मात्रै जाहेरी दर्ता भएको बताइन्। त्यसपछि उपचारका लागि काठमाडौं मेडिकल कलेज पुगेको र हाल उपचार भइरहेको उनको भनाइ छ।
घटनापछि उनले आफ्ना साथीभाइ तथा समुदायका सदस्यलाई न्यायका लागि आवाज उठाउन आग्रह गरेकी छन्। विदेशी नागरिकबाट आफ्नै देशमा गम्भीर कुटपिट हुँदा समेत प्रहरीले न्याय दिलाउनुको सट्टा पीडितमाथि नै दबाब दिएको अनुभूति भएको उनले बताइन। घटनाबारे प्रहरी अनुसन्धान जारी रहेको जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.