पूर्वप्रधानमन्त्री देउवा उपचारमै, स्वस्थ भएपछि स्वदेश फर्किने

पूर्वप्रधानमन्त्री देउवा उपचारमै, स्वस्थ भएपछि स्वदेश फर्किने

80
SHARES

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तीन महिनादेखि उपचारमै रहेको दाबी उनी पक्षीय नेताहरूले गरेका छन्। गत फागुन २१ को चुनावअघि उपचारका लागि सिंगापुर गएका देउवा त्यसयता सार्वजनिक रूपमा सक्रिय देखिएका छैनन्।

२०४८ सालदेखि निरन्तर सांसदमा निर्वाचित हुँदै आएका देउवाले यसपटक पहिलो पटक मतदानसमेत गरेनन्। पाँच–पाँच पटक देशको प्रधानमन्त्री र नेपाली कांग्रेसको दुई–दुई पटक सभापति बनिसकेका देउवा लामो समयदेखि सार्वजनिक सम्पर्कमा नदेखिँदा विभिन्न शङ्का–उपशङ्कासमेत उब्जिएका छन्।

तीन महिनादेखि विदेशमै रहेका देउवा कहिले स्वदेश फर्किने भन्नेबारे अझै स्पष्टता छैन। देउवाका निजी सचिव भानु देउवाले यस विषयमा सार्वजनिक टिप्पणी गर्न चाहेनन्।

जेनजी आन्दोलनका क्रममा देउवाको निवासमा आगजनी मात्रै भएन, उनकी पत्नी आरजु राणा देउवामाथिसमेत आक्रमण भएको थियो। त्यसबेला उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्नुपरेको थियो। त्यसलगत्तै देउवाले पार्टी राजनीतिबाट सन्यास लिएको घोषणा गर्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए।

त्यसपछि पार्टीको १५औँ महाधिवेशन चुनावअघि गर्ने कि चुनावपछि भन्ने विवादका बीच विशेष महाधिवेशन सम्पन्न भयो। विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भए। फागुन २१ को चुनावमा देउवा पक्षका नेताहरूले पनि सभापति गगनकुमार थापाबाट टिकट लिएर चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए।

सभापति गगनसँगै कांग्रेसका अधिकांश शीर्ष नेताहरू पराजित भए। परिणामस्वरूप विचारका हिसाबले बलियो मानिएको कांग्रेस सांसद संख्याका आधारमा कमजोर बन्न पुग्यो। यही अवस्थामा पार्टीभित्र बृहत्तर एकताको आवश्यकता रहेको देउवा पक्षीय नेता डा. प्रकाशशरण महत बताउँछन्।

देउवा सार्वजनिक रूपमा सक्रिय नरहे पनि उनी पक्षधर नेताहरू विभिन्न गुटगत भेलामा व्यस्त रहेको आरोप लाग्ने गरेको छ। देउवा पक्षधर नेताहरूको मुख्य ध्यान सभापति गगनकुमार थापाको आलोचनामै केन्द्रित रहेको टिप्पणी पनि सुनिने गरेको छ।

देउवा विदेशमै रहनु र उनी निकट नेताहरूले पार्टीभित्रै विवाद बढाएर कांग्रेसलाई झन् कमजोर बनाउन खोजेको आरोपसमेत लागिरहेको छ। तीन दशकभन्दा बढी समयदेखि नेपाली राजनीतिका प्रभावशाली खेलाडी मानिएका देउवा कांग्रेसबाट टाढिएको सन्देश प्रवाह भइरहेको विश्लेषण पनि हुने गरेको छ।

देउवा निकट राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले भने देउवा अझै उपचारमै रहेको बताए। उनका अनुसार देउवा सम्पर्कमै छन् र शारीरिक रूपमा स्वस्थ भएपछि स्वदेश फर्किनेछन्।

फागुन २१ को चुनावपछि कांग्रेस अझ चुनौतीपूर्ण अवस्थामा पुगेको विश्लेषण भइरहेको छ। पार्टी सानो आकारमा सीमित बन्न पुगेको छ भने जनाधारसमेत खस्किएको छ। पार्टीभित्रको किचलोका कारण झन्डै दुई तिहाइ बहुमतको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई प्रभावकारी खबरदारी गर्ने हैसियतसमेत कांग्रेसले गुमाउँदै गएको टिप्पणी हुन थालेको छ।

पार्टीभित्र बृहत्तर एकता नभए कांग्रेस अझ कमजोर हुने देउवा पक्षका नेताहरूले पनि स्वीकार गरेका छन्। देउवा पक्षीय नेता डा. प्रकाशशरण महत एकताको पहल गर्ने अधिकार सभापति गगनकुमार थापासँग रहेको बताउँछन्।

पार्टी एक हुनुपर्ने आवाज विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व र असन्तुष्ट पक्ष दुवैतर्फबाट सुनिँदै आएको छ। तर त्यो एकता कसरी हासिल गर्ने भन्ने विषयमा अझै स्पष्टता देखिएको छैन।

असन्तुष्ट पक्षले आफूले कुनै ठोस रोडम्याप प्रस्तुत गरेको छैन भने विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले अघि सारेको सातबुँदे सहमति प्रस्तावमा पनि स्पष्ट जवाफ दिएको छैन। बाहिर एकताको कुरा गरे पनि व्यवहारमा एकता हुन नदिएको आरोप असन्तुष्ट पक्षले खेपिरहेको छ।

सरकारको बजेटमाथि पार्टी एकढिक्का भएर गम्भीर बहस गर्नुपर्ने बेला देउवा पक्षका विभिन्न गुटगत भेलाले दुई तिहाइ बहुमतको सरकारलाई काम गर्न झन् सहज बनाइदिएको विश्लेषणसमेत भइरहेको छ।

सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाएर संविधान र कानुनविपरीतका काममा सरकारलाई खबरदारी गर्न निर्देशन दिँदै आएका छन्। बजेटमा गरिएका करका दर हेरफेरदेखि सीमा विवादसम्मका विषयमा कांग्रेस खरो रूपमा प्रस्तुत हुनुपर्ने उनको धारणा छ।

विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व र देउवा पक्षका असन्तुष्ट नेताहरूबीच आफूअनुकूल व्याख्यासहितको एकताको प्रयास अझै अलमलमै देखिएको छ। देश र जनताका मुद्दाभन्दा पनि पद र प्रतिष्ठाको लडाइँ केन्द्रमा पर्दै जाँदा कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुग्ने सङ्केत देखिन थालेका छन्। यस्तो अवस्थामा मुखले मात्रै होइन, व्यवहारमै कांग्रेस एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको कुनै गुटमा नलागेका नेता तथा कार्यकर्ताहरू बताउँछन्।

समाचार शेयर गर्नुहोस्
80
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.