अनुदानमा गोलमाल

सिटिइभिटीको हप्कीले आनन्द माविको प्राविधिक शिक्षामा अन्योल, अभिभावक र विद्यार्थी चिन्तामा

सिटिइभिटीको हप्कीले आनन्द माविको प्राविधिक शिक्षामा अन्योल, अभिभावक र विद्यार्थी चिन्तामा

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा रहेको आनन्द उच्च माध्यमिक विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रको हप्की खाएको छ। व्यवस्थित ल्याब नभएको र तोकिएको भन्दा कम विद्यार्थी सङ्ख्या भएपछि सिटिइभिटीले आगामी शैक्षिक सत्रदेखि प्राविधिक शिक्षा अध्यापन नगर्न चेतावनी दिएको हो।
स्थानीय, प्रदेश र सङ्घबाट अनुदान लिएर विद्यार्थी पढाउँदै आए पनि आनन्द उच्च माविले प्राविधिक शिक्षा अध्ययन गर्नका लागि आवश्यक मापदण्ड भने पुरा नगरेको सिटिइभिटीको अनुगमनमा पाइएको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र सिटिइभिटीले अनुगमनको क्रममा विद्यालयको ल्याब, कक्षा कोठा, शिक्षक लगायत मापदण्ड अनुसार नभएको भन्दै आगामी शैक्षिक सत्र देखि प्राविधिक शिक्षा नपढाउन चेतावनी नै दिएको विद्यालयले स्वीकार गरेको छ।
विद्यार्थीलाई समयको माग अनुसारको शिक्षा दिन माहिर आनन्द माविको नाम मात्रै होइन अभिभावकलाई पनि आनन्द दिएको थियो विद्यालयले। २००८ सालबाट नियमित शिक्षा दिँदै आएको विद्यालयले गत ३ वर्षदेखि स्थानीय सरकारको सहयोगमा प्राविधिक शिक्षा अन्तर्गत डिप्लोमा सव-इन्जिनियर पढाइरहेको छ। विगतमा त्यस भेगका विद्यार्थीले प्राविधिक शिक्षा लिन जिल्ला नै पार गरेर दोलखाको जिरी या सङ्घीय राजधानी काठमाडौँको यात्रा तय गर्नु पर्थ्यो। तर जलविरेमै प्राविधिक शिक्षाको पढाई सुरु भएपछि जिरी या काठमाडौँ धाउनु पर्ने अवस्था अन्त्य भएकोमा विद्यार्थी र अभिभावक खुसी भएका थिए।
आनन्दसँगै बनसाँगु माविले पनि प्राविधिक शिक्षा पढाइरहेको गाउँपालिकाको शिक्षा शाखा प्रमुख सलबहादुर पाण्डेले जानकारी दिए। बनसाँगुको कैफियतबारे भने पालिकाले केही बताएको छैन। पालिकाका शिक्षा शाखा प्रमुख पाण्डेले प्राविधिक शिक्षा पढाउन अघिल्लो शैक्षिक सत्र अर्थ मन्त्रालयबाट सिधै २५ लाख रुपैयाँ अनुदान आएको जानकारी दिए।
चालु शैक्षिक सत्रमा भने सिधै विद्यालयको खातामा अनुदान रकम गएको उनले बताए। ‘पहिला विद्यार्थीको खातामा नै सिधै रकम जम्मा हुन्थ्यो,’शिक्षा शाखा प्रमुख पाण्डेले भने,‘अहिले विद्यालयको खातामा सिधै जाने भएकाले अनुदान रकमबारे विद्यालयलाई नै सोध्नु पर्छ।’ यो पटक विद्यालयले पालिकामा विवरण ढिलो ल्याएकाले विद्यार्थीको खातामा रकम पठाउन नसकिएको शिक्षा प्रमुख पाण्डेले बताए।
तर, विद्यालयका प्रधानाध्यापक शिव बहादुर क्षेत्री भने अनुदान रकमबारे जानकार नभएको बताउँछन्। उनले प्राविधिक शिक्षाका लागि विद्यार्थी आफैँ स्थानीय निकायमार्फत पढाई खर्च जुटाउन लागि पर्ने हुँदा अनुदान रकम यकिन नभएको बताए। प्राविधिक शिक्षामा विद्यार्थीले पाउने अनुदान रकमबारे विद्यालय र पालिकाको प्रस्ट जवाफ छैन।
विद्यालय पालिकातिर देखाउने र पालिका विद्यालयतिर देखाएर पन्छिने काम भइरहेको छ। अनुदान रकमका बारेमा अलमलिएको जवाफ दिने प्रधानाध्यापक क्षेत्री प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र सिटिइभिटीले प्राविधिक शिक्षालाई व्यवस्थित गर्न निर्देशन दिएको भने स्वीकार गर्छन्।
सिटिइभिटीको मापदण्ड पुरा गर्ने तर्फ अग्रसर भएको छैन विद्यालय। आनन्द दिएको आनन्द उच्च माविको यो अटेरी प्रवृत्तिले स्थानीयमा भने फेरि प्राविधिक शिक्षा लिन जिरी या काठमाडौँ नै धाउनु पर्ने हो कि भन्ने चिन्ता बढेको छ। स्थानीयको यो चिन्ता हटाउन स्थानीय सरकार पढाइलाई निरन्तरता दिने अभियानमा लागेको छ। वलेफी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हुपबहादुर खड्का कुनै पनि हालतमा प्राविधिक शिक्षा बन्द गर्न नहुने र यसलाई निरन्तर सञ्चालन गर्ने अभियानमा लागेको बताउँछन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.