काठमाडौं : प्रतिनिधि सभाले पारित गरेको नागरिकता विधेयकमा पहिचान सहितको नागरिकताको व्यवस्था गरिएको छ। विधेयकमा मूल ऐनको दफा ८ पछि ८क. थपेर पहिचान सहितको नागरिकता दिने व्यवस्था गरिएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ।
वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिलाई आमा वा बाबुको थर र ठेगाना मध्ये निजले रोजेको थर र ठेगाना उल्लेख गरी नागरिकता दिन सकिने व्यवस्था विधेयकमा गरिएको छ।
नागरिकताको अभिलेखमा आमा, बाबु दुवैको नाम र विवरण राख्नु पर्ने साथै नेपाली नागरिकताको प्रमाणपत्रमा ‘तोकिए बमोजिम’ लैङ्गिक पहिचान समेत खुलाउनु पर्ने व्यवस्था गरिएको छ। सरकारले संसद्मा दर्ता गरेको विधेयकमा लैङ्गिक पहिचान सहितको नागरिकताको व्यवस्था थिएन। ४५ सांसदले दर्ता गरेका ३१ संशोधन मध्ये प्रतिनिधि सभाबाट लैङ्गिक पहिचान समेत खुलाउनु पर्ने व्यवस्थासहितको विधेयक पारित भएको हो।
नागरिकता ऐन २०६३ को दफा ३ को उपदफा ३ मा नेपाल सरहदभित्र फेला परेको पितृत्व मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिने लेखिएको छ। यसमा संशोधन गर्दै नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिने प्रतिनिधि सभाले पारित गरेको विधेयकमा लेखिएको छ।
मूल ऐनको उपदफा ३ पछि ४, ५, ६ र ७ थप गरिएको छ। २०७२ साल असोज ३ गते भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पुरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने लेखिएको छ।
नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने प्रतिनिधि सभाले पारित गरेको विधेयकमा लेखिएको छ। उपदफा ६ मा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाको बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मिएको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने विधेयकमा व्यवस्था गरिएको छ।
उपदफा ७ मा उपदफा (५) बमोजिम नागरिकता प्राप्त गरेको कुनै व्यक्तिको बाबु विदेशी रहेको ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम रहने छैन र निजले बाबुको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी तोकिए बमोजिम स्व घोषणा गरी वंशजको आधारमा प्राप्त गरेको नागरिकताको प्रमाणपत्र बुझाएमा अङ्गीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको छ।
नागरिकता विधेयकमा लैङ्गिक पहिचान गायब, ‘अन्य’ लिङ्गमा लिएकाहरू पुरुष या महिलाकै लिने लबिङमा
(२) उपदफा पछि उपदफा (८) थपेर (३) बमोजिम नागरिकता प्राप्त गरेको व्यक्तिको बाबु वा आमा पत्ता लागेमा निजले प्राप्त गरेको नागरिकता सम्बन्धमा वंशजको आधारमा नेपालको नागरिकता प्राप्त हुने भएमा सोही बमोजिमको विवरण अद्यावधिक गरी निजको नागरिकता कायम गर्ने र नेपालको अङ्गीकृत नागरिकता प्राप्त हुने भएमा निजले वंशजको आधारमा प्राप्त गरेको नागरिकता खिची निजलाई अङ्गीकृत नागरिकता प्रदान गर्ने व्यवस्था गरिएको छ।
नेपाल भित्र फेला परेको र पितृत्व र मातृत्व ठेगान नभएको बाल मन्दिर, अनाथालय जस्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त संस्थामा हुर्केको भए नागरिकता प्राप्त गर्न त्यस्तो संस्थाको सिफारिस र सोको आधारमा सम्बन्धित स्थानीय तहले गरेको सिफारिस बुझाउनु पर्नेछ।
कानुनी संरक्षकद्वारा हुर्काइएको भए त्यस्तो संरक्षकले गरेको सनाखत सहित निजको नागरिकताको प्रमाणपत्र र सम्बन्धित स्थानीय तहको सिफारिस तथा अन्य तरिकाले हुर्केको भए सम्बन्धित स्थानीय तहको सिफारिस बुझाएर नागरिकता पाउन सकिने व्यवस्था राष्ट्रिय सभाका सदस्यले संशोधन गर्न ७२ घण्टाको समय पाएको नागरिकता विधेयकमा छ। परिवारको सदस्य भन्नाले बाबु, आमा, पति, पत्नी, हजुरबुबा, हजुरआमा, दाजु, दिदी, काका, काकी, जेठाजु, देवर सम्झनु पर्छ भन्ने स्पष्टीकरण पनि प्रतिनिधि सभाले पारित गरेको विधेयकमा राखिएको छ।
नागरिकता ऐन २०६३ को मूल ऐनमा संशोधन गरेर गैर आवासीय नेपालीले नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको हो। प्रतिनिधि सभाले पारित गरेको विधेयकमा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ।
प्रतिनिधि सभाले पारित गरेको विधेयकमा ‘मन्त्रालय समक्ष’ भन्ने शब्द हटाएर ‘तोकिएको अधिकारी समक्ष’ भन्ने शब्दहरू राखिएको छ। यो विधेयक राष्ट्रिय सभाबाट पारित हुन बाँकी छ। राष्ट्रिय सभाका सदस्यहरूले पनि विधेयकमाथि संशोधन दर्ता गर्न ७२ घण्टाको समय पाएका छन्।
दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यो विधेयक नागरिकता ऐनको मूल अङ्ग बन्नेछ। नागरिकता ऐनमा संशोधन भए अनुसार नियमावली बन्नेछ। तोकिए बमोजिम, तोकिएको अधिकारी समक्ष भन्ने शब्दको व्याख्या नागरिकता नियमावलीमा हुनेछ। गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाकी उपसचिव लीलाकुमारी केसीले नागरिकता विधेयक दुवै सदनबाट पारित भएर आएपछि नियमावली निर्माणको काम हुने जानकारी दिइन। ‘नागरिकता विधेयक पारित भएर आएको छैन,’केसीले पहिचानसँग भनिन्,‘पारित भएर आएपछि नियमावलीमा तोकिएको अधिकारी समक्ष या तोकिए बमोजिम भन्ने शब्दको व्याख्या हुनेछ।’
तोकिए बमोजिमको लैङ्गिक पहिचान समेत खुलाउनु पर्ने व्यवस्थाबारे उपसचिव केसीले राष्ट्रिय सभाबाट पारित भएपछि भन्न सकिने बताइन। ‘तोकिएको लैङ्गिक पहिचानबारे विधेयक पारित भएर आएपछि मात्रै थाहा हुन्छ,’उनले भनिन्,‘यी सबै व्यवस्थाको कार्यान्वयन नियमावली बनेपछि हुनेछ।’
नागरिकता विधेयकको व्यवस्था ठुलो उपलब्धि : अध्यक्ष थापा
नेपाली नागरिकता त्यागेर विदेशी मुलुकको नागरिकता लिएकाहरूले गैर आवासीय नेपाली नागरिकता पाउने भएका छन्। संविधानको धारा १४ मा गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था अनुसार नागरिकता ऐनमा संशोधन गर्न बनेको विधेयकमा छ।
यो व्यवस्था अनुसार नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक संसद्को दुवै सदनबाट पारित भएपछि नेपाली नागरिकता त्यागेर विदेशी मुलुकको नागरिकता लिएकाहरूले गैर आवासीय नेपाली नागरिकता लिन पाउनेछन्।
गैर आवासीय नेपाली सङ्घकी अध्यक्ष रबिना थापाले नियमावली नबनेकाले ‘कस्तो खालको नागरिकता हो?’ भनेर प्रश्न आइरहेको बताएकी छन्। ‘संविधानमा लेखिए पनि कार्यान्वयन भएको थिएन,’उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,‘गैर आवासीय नागरिकता पाउने व्यवस्था सहितको नागरिकता विधेयक आउने ठुलो उपलब्धि हो।’
विधेयकमा गरिएको व्यवस्थालाई आफूले नेपालमा लगानी गर्न पाउने र दोस्रो पुस्तालाई जोड्ने पुलको रूपमा लिएको अध्यक्ष थापाले उल्लेख गरेकी छन्। उनले विदेशमा रहेका नेपालीलाई नेपाली भाषामा जोड्ने काम पनि भइरहेको बताइन। ‘विदेशमा बस्ने दोस्रो पुस्तालाई समेत नेपालमा भावनात्मक रूपमा जोड्ने अपेक्षा गरिएको यो नागरिकताले नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा उल्लेख्य रूपमा सहयोग पुग्ने विश्वास लिएकी छु,’उनले लेखेकी छन्,‘सङ्घको स्थापनाकाल देखि यो नागरिकताको अभियानमा लाग्नु हुने सबै संस्थापक अध्यक्ष उपेन्द्र महतो, देवमान हीराचन, जिबा लामिछाने, शेष घले, भवन भट्ट र निवर्तमान अध्यक्ष कुमार पन्त लगायत सम्पूर्ण अग्रजहरूलाई नमन गर्दछु।’
नागरिकता प्राप्तिको लागि आवश्यक नागरिकता सम्बन्धी नियमावली, नागरिकता ऐन नबने सम्म ढुक्क भएर बस्ने अवस्था भने नरहेको अध्यक्ष थापाले उल्लेख गरेकी छन्। प्राप्त उपलब्धिहरूलाई सञ्चय गर्दै थप उपलब्धिको लागि सचेत रहन उनले आग्रह गरेकी छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.