नागरिकता ऐन

नागरिकता विधेयकमा लैङ्गिक पहिचान गायब, ‘अन्य’ लिङ्गमा लिएकाहरू पुरुष या महिलाकै लिने लबिङमा

नागरिकता विधेयकमा लैङ्गिक पहिचान गायब, ‘अन्य’ लिङ्गमा लिएकाहरू पुरुष या महिलाकै लिने लबिङमा

काठमाडौं : ‘अन्य’ लैङ्गिक पहिचानमा नागरिकता लिएकाहरूले फेरी महिला या पुरुषकै नागरिकता लिन निवेदन दिएका छन्। निवेदन दिएका मध्ये भूमिका श्रेष्ठले लिङ्ग नै परिवर्तन गरेर ‘अन्य’ लिङ्गको नागरिकता बुझाएर महिलाको नामबाट नागरिकताको प्रतिलिपि लिएकी छन्।
काभ्रे नमोबुद्धकी शीतल हुमागाईँले वीर अस्पताल मेडिकल बोर्डको सिफारिस सहित निवेदन दिएर ‘अन्य’ लिङ्गको नागरिकता बुझाएर पुरुष लिङ्गमा नागरिकताको प्रतिलिपि लिएका छन्।
पुरुष या महिलाको नागरिकता बुझाएर ‘अन्य’ लिङ्गमा नागरिकता लिएकाहरूले अन्यबाट महिला या पुरुष लिङ्गमै नागरिकता लिन निवेदन दिएका छन्।
ईशान रेग्मी, विपिन कडायत, जानुका हुमागाईँ लगायतले ‘अन्य’ को नागरिकता बुझाएर पुरुष लिङ्गमा नागरिकताको प्रतिलिपि लिन निवेदन दिएका छन्। ‘ विपिन र मैले ‘अन्य’ लिङ्गबाट पुरुष लिङ्गको नागरिकता लिन गृह मन्त्रालयमा इमेलबाट निवेदन दिएका छौ,’अन्तरलिंगी अधिकारकर्मी रेग्मीले भने,‘मेडिकल बोर्डको सिफारिस माग गरेकाले सर्वोच्च अदालतमा रिट दायर गरेका छौ।’
मेडिकल बोर्डको सिफारिस सहित निवेदन दिए ‘अन्य’ लिङ्गमा नागरिकता लिएकालाई मन्त्रिपरिषद्को निर्णयबाट महिला या पुरुषको नागरिकता दिने गरिएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रिपरिषद्ले व्यक्ति व्यक्तिको निवेदनमा निर्णय गरेर परिवर्तित लिङ्ग अनुसार नागरिकताको प्रतिलिपि दिए पनि आफूहरूले भने अहिलेसम्म पाउन नसकेको रेग्मीले बताए। सर्वोच्च अदालतले २०६४ सालमा दिएको निर्देशनात्मक आदेश अनुसार २०६९ साल पुसमा गृह मन्त्रालयले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिलाई लिङ्गको महलमा ‘अन्य’ उल्लेख गरेर नागरिकताको प्रतिलिपि दिन जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र जारी गरेको थियो।
गृहको परिपत्र अनुसार ‘अन्य’ पहिचानमा नागरिकता लिएकाहरूले अहिले फेरी महिला या पुरुष लिङ्गमा नागरिकताको प्रतिलिपि लिन मन्त्रिपरिषद्मा लबिङ गरिरहेका छन्। लिङ्ग परिवर्तन गरेकाहरूले मन्त्रिपरिषद्को निर्णय अनुसार परिवर्तित लिङ्गमै नागरिकताको प्रतिलिपि पाए पनि ‘अन्य’ बाट महिला या पुरुषको नागरिकता लिन निवेदनहरूको भने चिकित्सक या मेडिकल बोर्डको सिफारिस नहुँदा निर्णय भएको छैन। लैङ्गिक पहिचान अनुसार लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले नागरिकतामा अन्य या समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी लगायतका पहिचान उल्लेख गर्न पाउनु पर्ने माग गरिरहेको रेग्मीले बताए।
संसद्को राज्य व्यवस्था समितिमा छलफल भएर प्रतिनिधि सभामा पुगेको नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक दर्ता गराएको छ। नयाँ विधेयकमा लैङ्गिक पहिचानमा नागरिकता दिने व्यवस्था छैन।
नागरिकता विधेयक : गैर आवासीय नागरिकता लिन पाइने, ‘अन्य’ लिने व्यवस्था गायब
सरकारले फिर्ता लिएको विधेयकमा लिङ्ग परिवर्तन गरेकालाई परिवर्तित लैङ्गिक पहिचानमा नागरिकता दिने व्यवस्था थियो। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई अन्य उल्लेख गरेर नागरिकता दिने र तेस्रोलिंगी उल्लेख गर्न चाहे चिकित्सकको सिफारिस आवश्यक पर्ने व्यवस्था थियो।
पुरानो विधेयक फिर्ता भएको र संसद्मा दर्ता भएको नयाँ विधेयक पारित नभएकाले नेपाल नागरिकता ऐन २०६३ ले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई चिन्दैन। लिङ्ग परिवर्तन गर्नेलाई नागरिकता दिने व्यवस्था समेत छैन नागरिकता ऐन २०६३मा । दर्ता भएको नयाँ विधेयकमा २०७५ सालको विधेयकमा भएको व्यवस्था राखिएको छैन।
अहिले दर्ता भएको विधेयक जस्ताको त्यस्तै पारित भए गैर आवासीय नेपालीले दोहोरो नागरिकता लिन पाउनेछन्। तर लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले भने पहिचान अनुसारको नागरिकता पाउने छैनन्।
लैंगिक पहिचान अनुसारको नागरिकतामा दलहरु संर्किण
नेपालको संविधान अनुसार मौजुदा नागरिकता ऐन संशोधन हुन सकेको छैन। नागरिकता ऐन संशोधन नहुँदा मौजुदा ऐनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिलाई चिन्दैन। ऐनले महिला र पुरुष लिङ्गमा नागरिकता जारी गर्ने व्यवस्था गरेको छ।
सर्वोच्च अदालतको आदेश र गृह मन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयहरूले ऐनमा व्यवस्था नभए पनि अन्य लैङ्गिक पहिचानमा नागरिकता दिइरहेका जनाएका छन्। अन्यमा नागरिकता लिएकाहरूले अहिले फेरी महिला या पुरुष लिङ्गमा नागरिकता लिन निवेदन दिएपछि यसको निर्णय गर्न प्रशासन कार्यालयहरूले मन्त्रिपरिषद्मा फाइल पठाउने गरेको बताएका छन्।
संसद्मा विचाराधीन विधेयकमा भएको व्यवस्थालाई आधार मानेर गृह मन्त्रालयले लिङ्ग परिवर्तन गरेकाहरूलाई परिवर्तित लैङ्गिक पहिचानमा नागरिकता दिइरहेको थियो। गृह मन्त्रालयका अनुसार अहिलेसम्म अन्यबाट पुरुष लिङ्गमा लिने एक, महिलाबाट पुरुषको लिने एक जना र पुरुषबाट महिला लिङ्गमा नागरिकताको प्रतिलिपि पाउने ८ जना गरी जम्मा १० जना पुगेका छन्।
चार थरीका नागरिकता : १५ सय एलजीबीटीआईलाई पहिचान अनुसारको नागरिकता
गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव डा. भीष्मकुमार भुसालले पुरुषबाट महिलाको नाममा नागरिकता लिने धेरै रहेको बताए। ‘देशभरका जिल्ला प्रशासन कार्यालयको एकीकृत तथ्याङ्क अनुसार ‘अन्य’ को लिएका एक जनाले पुरुष लिङ्गमा नागरिकताको प्रतिलिपि पाएका छन्,’भुसालले पहिचानसँग भने,‘महिलाबाट पुरुष एक र पुरुषबाट महिलाको लिने आठ जना छन्।’
जिल्ला प्रशासन कार्यालय काभ्रेले अन्यबाट पुरुषको नागरिकता लिन अर्का एक जनाले दिएको निवेदन गृह मन्त्रालयमा पठाएको जनाएको छ। २०७४ सालमा अन्यको नागरिकता लिने एक जनाले पुरुष लिङ्गमा लिन दिएको निवेदन गृह मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन। ‘तेस्रोलिंगीले अन्य लिङ्गमा लिएको नागरिकता बुझाएर अहिले पुरुष लिङ्गमा लिन निवेदन दिएकाले मन्त्रालयमा पठाइसकेका छौँ,’प्रजिअ पाण्डेले पहिचानसँग भनिन्,‘निर्णय भएर आएको छैन।’
अन्यबाट पुरुष या महिलाको लिन मेडिकल सिफारिस निवेदनसँगै पेस गर्नुपर्ने उनले बताइन। ‘लिङ्ग परिवर्तन गरेको मेडिकल रिपोर्ट निवेदनसँग राख्नुपर्छ,’उनले भनिन्,‘नागरिकतामा लिङ्ग परिवर्तन गर्नेहरूको निर्णय मन्त्रिपरिषद्बाट हुने भएकाले गृह मन्त्रालयमा सिफारिस गर्छौ।’
जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार काभ्रे मादनकुँडारीका हिन्दु लामा पुरुषबाट महिला बनेका छन्। उनी लिङ्ग परिवर्तन गरेर पुरुषबाट महिला बनेका हुन्। मेडिकल रिपोर्ट बुझाएर उनले महिला लिङ्गमा नागरिकताको प्रतिलिपि लिएका प्रशासन कार्यालय काभ्रेले जनाएको छ।
मन्त्रिपरिषद्ले व्यक्ति व्यक्तिको निवेदनसहितको प्रशासन कार्यालयबाट प्राप्त फाइलमा निर्णय गरिरहेको छ। लिङ्ग परिवर्तन गरेका या लिङ्ग परिवर्तन नगरी लैङ्गिक पहिचानमा नागरिकताको प्रतिलिपि लिन लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरू प्रशासन कार्यालय धाइरहेका छन्।
नागरिकता सम्बन्धी थप समाचारहरू
सानु थिङले पाइन ३१ बर्षमा ‘अन्य’ लैंगिक पहिचानको नागरिकता
नागरिकता लिन चिकित्सकको सिफारिस पेश गर्नुपर्ने…
नागरिकता बनाउन किन चिकित्सकको प्रमाणपत्र चाहियो ?
‘अन्य’ पहिचानमा लिएको नागरिकता फिर्ता गर्ने चेतावनी
एलजिबिटिआईलाई नागरिकता दिने बिषयमा सांसदहरु विभाजित

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.