सानु थिङले पाइन ३१ बर्षमा ‘अन्य’ लैंगिक पहिचानको नागरिकता

सानु थिङले पाइन ३१ बर्षमा ‘अन्य’ लैंगिक पहिचानको नागरिकता

मकवानपुर (पहिचान) मंसिर २० – जिल्ला प्रशासन कार्यालय मकवानपुरले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी एक जना तेस्रोलिंगी महिलालाई अन्य लैंगिक पहिचानको नागरिकता प्रदान गरेको छ । गृह मन्त्रालयले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई लिंगको महलमा अन्य जनाई नागरिकता दिन जिल्ला प्रशासन कार्यालयहरुलाई २०६९ पुसमा जारी गरेको परिपत्र अनुसार प्रशासन कार्यालय मकवानपुरले अन्य लैंगिक पहिचानको नागरिकता दिएको हो ।

हेटौडा उपमहानगरपालिका १२ पदम पोखरीकी तेस्रोलिंगी महिला सानु थिङ अन्य लैंगिक पहिचानमा नागरिकता पाउने मकवानपुरकी तेस्रो हुन् । उनले ३१ बर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकता लिएकी हुन् । गृहको परिपत्रपछि तेस्रोलिंगी महिला अजिता भुजेल र नेहा मानन्धरले अन्य लैंगिक पहिचान उल्लेख गरेर नागरिकता लिइसकेका छन् ।

हेटौंडा १२ का वडाअध्यक्ष ललित घलानको सिफारिस एवं हेटौंडा ४ का वडाध्यक्ष नविन सिग्देलसहित स्थानीयलाई साक्षी राखी जिल्ला प्रशासन कार्यालय मकवानपुरले थिङको लिङ्ग ’अन्य’ उल्लेख गरी नागरिकता दिएको हो ।

गृहको परिपत्र, यसअघिको नजिर तथा हेटौडा उपमहानगरपालिका वडा नम्वर १२ र वडा नम्वर ४ का वडा अध्यक्षले सनाखत गरेपछि सानु थिङलाई लैंगिक पहिचानमा अन्य उल्लेख गरेर नागरिकता दिएको प्रशासकिय अधिकृत मदन लामा थिङले जानकारी दिए । सानुले पाएको नागरिकतामा मदन लामा थिङले हस्ताक्षर गरेका छन् । ‘३१ बर्षको उमेर नागरिकता बनाउन आउनु भएको भनेर सोधखोज गरियो पहिचानसँग कुरा गर्दै उनले भने, दुई जना वडा अध्यक्ष र उनका दाईलाई साक्षी राखेर अन्य उल्लेख भएको नागरिकता जारी भएको छ ।’

जिल्ला प्रशासन कार्यालयहरुले महिला, पुरुष र अन्य उल्लेख गरेर नागरिकता दिइरहेका छन् । मकवानपुर जिल्ला भरीमा लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता लिनेको संख्या ३ जना मात्रै रहेको प्रशासन कार्यालयले जनाएको छ ।

गृहको परिपत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई अन्य लैंगिक पहिचान अनुसार नागरिकता दिनु भनेपनि प्रशासन कार्यालयहरुले नागरिकताको लिंगको महलमा अन्य जनाउन आनाकानी गर्ने गरेको यो समुदायका व्यक्तिले गुनासो गर्दै आएका छन् । १६ बर्षको उमेरमा महिला या पुरुष लैंगिक पहिचानमा नागरिकता लिएकाहरुले ‘अन्य’ उल्लेख गरेर प्रतिलिपि पाइरहेपनि नाम परिवर्तन गर्न पाएका छैनन् ।

नील हिरा समाज मकवानपुरकी कार्यक्रम संयोजक सुरज किरणले कानुनी व्यवस्था भए पनि यौनिक तथा लैंगिक अल्पसंख्यकलाई अन्य लैंगिक पहिचानमा नागरिकता पाउन कठिन रहेको सुनाए । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जन्मदर्ता प्रमाणपत्र, प्रहरीको सर्जमिन, सानुको घर भएको हेटौंडा १२ र नील हिरा समाजको कार्यालय रहेको वडा नम्वर ४ का जनप्रतिनिधिलाई साक्षी राखेर सानुले अन्य लैंगिक पहिचानमा नागरिकता पाएको बताए ।

पहिचानसँगको कुराकानीमा उनले अर्का एक जना व्यक्ति पनि ‘अन्य’ लैंगिक पहिचानमा नागरिकता लिने तयारीमा रहेको सुनाए । उनले आफूले जिल्ला प्रशासन कार्यालय चितवनबाट लिएको नागरिकतामा भने महिला, पुरुष र अन्य कुनै उल्लेख नभएको बताए ।

संविधानको धारा १२ अनुसार लैंगिक पहिचान सहितको नागरिकता दिन कानून संसोधनको प्रक्रिया चलिरहेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयकमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई लैंगिक पहिचानमा अन्य उल्लेख गरेर नागरिकता दिने भनिएको छ । यो विधेयकमा रहेका प्रावधानमा समितिका सदस्यहरुबीच आजसम्म सहमति जुट्न सकेको छैन ।

फोटो : नील हिरा समाज मकवानपुर

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.