‘अन्य’ पहिचानमा लिएको नागरिकता फिर्ता गर्ने चेतावनी

‘अन्य’ पहिचानमा लिएको नागरिकता फिर्ता गर्ने चेतावनी

मकवानपुर (पहिचान) चैत २१ – प्रदेश नं ३ का यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिले अन्य पहिचानसहितको नागरिकता फिर्ता गर्ने चेतावनी दिएका छन् । पहिचान सहितको नागरिकता लिने प्रक्रियामा विभेद गर्ने व्यवस्था राख्न लागिएको भन्दै अन्य पहिचानमा लिएको नागरिकता फिर्ता गर्ने चेतावनी दिएका हुन् ।

नील हिरा समाजले मकवानपुरको हेटौडामा प्रदेश नम्वर ३ स्तरिय प्रदेशका विभिन्न मन्त्रालय तथा सरकारी कार्यालयसँग गरेको अन्तरक्रिया कार्यक्रममा अन्य पहिचान सहितको नागरिकता लिएकी तेस्रोलिंगी अजिता भुजेलले अधिकार विहिन हुने नागरिकता फिर्ता गर्ने चेतावनी दिएकी हुन् । हेटौँडाकी भुजेलले तेस्रोलिंगी भएकै कारण आफूलाई घरबाट निकालिएको र सडकमा समेत दुःख पाएको बताइन । पहिचान अनुसारको नागरिकता लिएपनि हरेक अवसरबाट बञ्चित हुनुपरेको भुजेलको गुनासो छ ।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले अहिलेसम्म देशभरका करिब २ सय यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले नागरिकतामा अन्य लिंग उल्लेख गरेर नागरिकता लिएको जानकारी दिइन । उनले अहिले संसदमा छलफलको क्रममा रहेको नागरिकता बिधेयकले पहिचान अनुसारको नागरिकता लिन कठिन हुने व्यवस्था राखेको बताइन ।

संसद्ले नागरिकतामा तेस्रोलिंगी पहिचान उल्लेख गर्न निर्धारण गर्न लागेको केही शर्तहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकको बिषयमा साँघुरो सोचाइ राखेको उनको आरोप छ । नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको बिधेयकमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले नागरिकता लिन मान्यता प्राप्त चिकित्सकको सिफारिस पेश गर्नु पर्ने व्यवस्था गर्न लागिएको प्रति उनले आपत्ती जनाइन ।

उनले फौजदारी तथा देवानी संहिताले पनि यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारलाई खुम्च्याएको उल्लेख गरिन् । संसद्ले पहिचान उल्लेखका लागि व्यक्तिले लिंग परिवर्तन गरेको हुनुपर्ने तथा चिकित्सकले तेस्रोलिंगी भएको प्रमाणित गर्नुपर्ने लगायतका शर्तहरु राखेर नागरिकता विधेयक ल्याए त्यो समुदायका लागि मान्य नहुने चेतावनी दिइन ।

फ्रेन्ड्स हेटौँडाका प्रमुख डियर किरणले तेस्रोलिंगी हुनु भनेको रोग नभएर महिला पुरुष भने जस्तै छुट्टै लैंगिकता जनाउने भावना भएकाले तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोण र सोच सच्याउनुपर्ने बताए । सुरज थापाबाट डियर किरण भएका उनले तेस्रोलिंगी पनि महिला र पुरुष जत्तिकै समाज र देशलाई योगदान दिन सक्ने नागरिक भएको बताए ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाले यौनिक तथा लैंगिक अल्पसंख्यकको हकहितको पक्षमा आफू सकारात्मक रहेको बताइन । उनले यो समुदायलाई आर्थिक सशक्तिकरणका लागि उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाइन ।

तस्बिर : रुयेल सुनार

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading