विदेशीको तानातान

चिनियाँ फर्के लगत्तै अमेरिकाको काउन्टर भ्रमण 

चिनियाँ फर्के लगत्तै अमेरिकाको काउन्टर भ्रमण 

काठमाडौं : नेपाललाई अमेरिका र चीनले भूराजनीतिक केन्द्र मानेर तानातान गरिरहेका छन्। विश्वव्यापी शक्ति सन्तुलनका हिसाबले महत्त्वपूर्ण ठाउँमा रहेका कारण नेपाललाई दुई शक्ति राष्ट्रले तानातान गरिरहेका हुन्। 
तानातानकै क्रममा बिहीबार अमेरिकी सहायक विदेशमन्त्री काठमाडौं आउँदै छन्। चिनिया कम्युनिस्ट पार्टी सीपिसीका विदेश विभाग प्रमुख लिउ च्याइनचाओ नेपाल भ्रमणबाट स्वदेश फर्केको केही दिनमै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आउन लागेका हुन्। 
च्याइनचाओ नेपालका शीर्ष नेताहरूसँग भेट गरेर नेपाली भूभाग चीन विरुद्ध प्रयोग गर्न नदिन आग्रह गरेर फर्किएका छन्। नेपालको संसद्ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट एमसीसी सम्झौता अनुमोदन गरेपछि असन्तुष्टि व्यक्त गरेको चीनले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा सहभागी नहुने निर्णयको स्वागत गरेको छ। 
मन्त्रिपरिषद्ले एसपीपीमा सहभागी नहुने निर्णय गरे पनि पत्र पठाउन आलटाल गरिरहेको छ। एमसीसी अनुमोदन गराउन भूमिका खेलेका अमेरिकी सहायक विदेशमन्त्री लु एसपीपीको लबिङ गर्न काठमाडौं आउन लागेको कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन्। 
शुक्रवारसम्म काठमाडौँमा बस्ने डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको छ। राजनीतिक दलका अरू नेताहरूसँग भेट्ने नभेट्ने नेपालमा रहेको अमेरिकी दूतावासले केही बताएको छैन।  
एसपीपी विवाद : यो सम्झौता होइन, नेपालको प्रस्ताव स्वीकृत गरिएको हो
एसपीपी अस्वीकार गर्ने निर्णय गरेको केही सातामै नेपाल आउन लागेका लुको दुई दिने भ्रमणलाई महत्त्वका साथ हेरिएको छ। दूतावासले भने दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु को नेपाल भ्रमण सामान्य नै प्रष्टीकरण दिएको छ। यसअघि लु नेपालमा एमसीसी सम्झौता संसद्बाट अनुमोदन हुनुअघि गत वर्षको मङ्सिर १ देखि ४ गतेसम्म काठमाडौं आएका थिए। 
उनी अहिले एसपीपीको लबिङमा काठमाडौं आउन लागेको विषयमा चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालको सरकार र राजनीतिक दलको विदेश नीतिको असफलता भएको प्रतिक्रिया दिन्छन्। नेपालको कूटनीति असफलताले विदेशी चलखेल बढ्दै गएको उनले बताए। 
सरकार र राजनीतिक दलका नेताहरू असफल भएपछि नेपाललाई भूराजनीतिक रणनीतिको केन्द्र मानेर आ–आफ्नो स्वार्थ पुरा गर्न अमेरिका र चीन लागेको पूर्व राजदूत पौड्याल  बताउँछन्। ‘नेपालका नेताहरूको विदेश नीतिमा एउटै समान भ्वाइस छैन,’उनले भने,‘नेताहरू बिकाऊ भएपछि विदेशीहरू परेड खेल्न आइरहन्छन्।’ 
एसपीपी विवाद : अमेरिकाले झुक्क्याएर फसाउन खोजेको आरोप, फिर्ता हुन सरकारलाई पत्र लेखेको सेनाको जवाफ
परराष्ट्रविद् दिनेश भट्टराई भने चीन र अमेरिकाबाट भइरहेको निरन्तरको भ्रमणलाई गलत अर्थमा मात्रै बुझ्न नहुने बताउँछन्। ‘नेपालबाट प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भएको, चिनियाँ फर्के पछि अमेरिकी सहायक विदेशमन्त्रीको भ्रमण हुनुलाई जे अर्थ लगाउन पनि सकिन्छ,’भट्टराईले भने,‘के सन्देश दिन आउन लाग्नु भएको हो? उहाँको कुरा सुनेपछि थाहा हुने कुरा हो।’ 
अमेरिकी विदेशमन्त्री अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले सम्मान गर्ने कार्यक्रममा आउन लागेको आफूले सुनेको भट्टराईले बताए। ‘मन्त्रिपरिषद्बाट अस्वीकार गर्ने निर्णय भएको एसपीपी स्वीकार गर्न भने भने त्यसको कुनै औचित्य हुँदैन,’उनले भने,‘निर्णय गरिसकेको विषयमा अमेरिकाले कुरा राख्न सके पनि सरकारले स्वीकार गर्न सक्दैन।’ 
अमेरिका र चीनको काठमाडौँमा चलिरहेको म्याराथनलाई व्यवस्थापन गरेर दुई शक्तिबाट लाभ लिन भने नेपालका राजनीतिक दलहरू चुकिरहेका छन्।
अमेरिकालाई पत्र पठाउन संसदीय समितिको माग
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ। बुधवार बसेको समितिको बैठकले एसपीपीमा नेपाल सहभागी नहुने भनेर मन्त्रीपरिषद् बैठकले निर्णय गरे पनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गर्ने निर्णय गरेको हो।
समितिले ३ पटकसम्म सरकारका सम्बद्ध निकायहरूलाई पत्राचार गरी एसपीपी सम्झौतासँग सम्बन्धित कागजात माग गरे पनि नपाएकोले सो कागजात प्राप्त गर्न नसक्नुको कारण पनि माग गरेको समिति सभापति पवित्रा निरौला खरेलले बताइन।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading