"/>
ढुकुटीमा मुसो

नेता र कलाकारको दोहोरी सुनेपछि भैरवले भने, ‘अब पेरुङ्गोमा धान फलाउनुपर्छ’

नेता र कलाकारको दोहोरी सुनेपछि भैरवले भने, ‘अब पेरुङ्गोमा धान फलाउनुपर्छ’

काठमाडौं : साउन २९ गते जन्मदिन हो भैरव रिसालको। रिसाललाई उभिएर हिँड्न ‘लौरो’को सहारा लिनु परेको छ। बोली नबुझिने छैन। उमेरले ९४ वर्ष पुरा भएर ९५ वर्षको लाग्ने यही महिनाको २९ गते हो। दाइ कति वर्षको हुनु भयो भन्ने प्रश्नमा भैरवका भाइ पुरु रिसालले भने,‘अहिले ९४ वर्षको हुनुभयो,यही साउन २९ गते ९५ वर्ष लाग्नुहुन्छ।’
रिसाल स्वास्थ्यले साथ दिएसम्म निम्तो मान्न पुगिरहेका हुन्छन्। साउन १५ को दिन रिसाल प्रज्ञा भवन कमलादीको नागरिक सम्मान कार्यक्रममा पुगे। ‘अब पेरुङ्गोमा माछा मार्ने होइन। धान फलाउनु पर्छ,’डिजिटल आइसिटी नेपालको आठौँ वार्षिक कार्यक्रममा रिसालले भने,‘यही कार्तिकमा विश्वको जनसङ्ख्या आठ अर्ब पुग्दैछ। अब सुनेर र सुँघेर अघाउनु पर्नेछ।’

उनी व्यवस्था बदलिए पनि अवस्था उस्तै रहेको नागरिकको आर्थिक ऐना देखाइरहेका थिए। धान फल्ने खेतमा सिमेन्टेड बिल्डिङ ठडिइरहेका छन्। काम गर्ने मान्छे नहुँदा धान फल्ने खेत बाझै छन्। अन्न उत्पादन कम हुँदै गएको छ। जनसङ्ख्या बढिरहेको छ। नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।
देशको व्यवस्था प्रति सबै गम्भीर तर, अवस्था प्रति गैर जिम्मेवार बन्ने छुट कसैलाई हुन नहुने सुनाए रिसालले। उभिएर बोल्न नसक्नेलाई कार्यक्रमको प्रमुख अतिथि बनाएको भन्दै आयोजकसँग रिसालले आफ्नो गुनासो पनि सुनाए।
नेपाली काँग्रेसका नेता जगदीश्वर नरसिंह केसीले पीत पत्रकारिता भइरहेको आरोप लगाए। ‘नैतिकता र इमानदारिता हराएको छ,’केसीले भने,‘म जहाँ जाँदा पनि पीत पत्रकारिता नगर्न अनुरोध गरिरहन्छु।’
वरिष्ठ कलाकार राजाराम पौडेलले देश वायुले चलाइरहेको सुनाए। वरिष्ठदेखि कनिष्ठसम्मका सबैलाई चलचित्र महापुरुष बनाउँदै गरेका पौडेलले भने,‘एमसीसी, एसपीपीको कुरा सुन्दा सुन्दा रातभरमा देश नै छ कि छैन भन्ने हुन्छ। अबको चुनावमा दलका उम्मेदवारलाई हराउनुपर्छ।’
पौडेल र केसी बोलेर निस्किएपछि पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, पूर्व युवा तथा खेलकुद मन्त्री हितबहादुर तामाङ, बागमती प्रदेश सभा सदस्य केशव राज पाण्डे र तत्कालीन राज परिषद्का सदस्य उत्तम कुमार परियारले रिसालको हातबाट सम्मानपत्र प्रदान गराए।

सम्मानपत्र पाउने ४१ जनाको सूचिमा ब्रहम्वेत्ताचार्य अर्जुन विरक्ति तोत्रीय, बल्खु तरकारी बजारका मोहन कुमार बस्नेत, सेफर्ड कलेजकी कविता शर्मा, धादिङ धुनिवेशी गाउँपालिकाका पूर्व प्रमुखदेखि पत्रकारसम्म थिए। पहिचानका संस्थापक माधव दुलाललाई पनि वरिष्ठ पत्रकार रिसालले डिजिटल आइसिटी मिडियाको सम्मान पत्र प्रदान गरे।
कलाकार राजाराम पौडेलले अहिलेका नेताहरूलाई ‘वायु’को संज्ञा दिएर स्वतन्त्रलाई भोट माग्दा काँग्रेस काठमाडौँका नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले काठमाडौं महानगरपालिकामा एक्लो बालेन शाहले केही गर्न नसक्ने जवाफ फर्काए। ‘पञ्चायत कालमा पनि स्वतन्त्र उम्मेदवार निर्वाचित हुन्थे,’प्रधानले भने,‘उनीहरूले ल्याएका प्रस्ताव अस्वीकृत हुन्थे।’
एक जना सांसद जितेर केही गर्न नसक्ने प्रधानले बताए। उनले राजेन्द्र लिंगदेन, प्रेम सुवाल र दुर्गा पौडेलको प्रस्ताव कहिले पास भएको सुन्नु भएको छ? भन्दै प्रश्न पनि गरे। नीति बनाउने देखि कार्यान्वयन गर्ने काम दलहरुबीना सम्भव नहुने प्रधानले जिकिर गरे।
काठमाडौं महानगर प्रमुखमा काँग्रेस र एमालेका उम्मेदवारलाई कार्यकर्ताले नो भोट गरेपछि बालेन निर्वाचित भएको प्रधानको भनाई थियो। ‘बालेन एक्लैले केही गर्न सक्दैनन्,’प्रधानले भने,‘सदस्यमा काँग्रेस र एमालेको बहुमत छ।’
नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व युवा तथा खेलकुद मन्त्री हितबहादुर तामाङले पहिले बोल्ने वक्ताको कुरा नसुनेको भन्दै सम्मान हुनेलाई बधाई दिए।
कार्यक्रममा नेता र कालाकारबीच दोहोरी चलिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले भने सरकारमा ‘धान खाने’ मुसो भित्र्याए। करका दर हेरफेर गरेको आरोप पुष्टि हुन नसकेको संसदीय समितिको अपुरो प्रतिवेदनका आधारमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको ढुकुटी विवादित व्यक्तिको जिम्मा दिएका छन्।
अर्थमन्त्रीमा फर्किए शर्मा,सत्ता गठबन्धनलाई दिए धन्यवाद
विवादित जनार्दन शर्माले राजीनामा दिएपछि आफैँसँग अर्थमन्त्रायको जिम्मेवारी राखेका देउवाले २५ दिनपछि उनै शर्मालाई जिम्मा लगाए। एम अधिकारीका नामले विवादित नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई देउवा र प्रचण्डले अर्थमन्त्रीमा शर्मालाई फर्काउने सर्तमा छानबिन समेत गरेनन्।
अर्थमन्त्रीमा जनार्दन शर्मा र राष्ट्र बैङ्कमा एम अधिकारीको नामले विवादमा आएका महाप्रसाद अधिकारीलाई देउवा सरकारले ढुकुटीको जिम्मा दिएको छ। ढुकुटी भर्न भन्दा रित्याउनतिर लागेको आरोप लागेका दुवै जना सरकारको प्रिय बन्नु देशको विडम्बना हो।
पूर्वप्रशासकहरु बेथितिमा चलेको राज्य कन्ट्रोल भन्दा बाहिर जाने चिन्ता गर्छन्। पूर्वसचिब शिशिर ढुङ्गानाले देश नेताहरूको कन्ट्रोलबाट बाहिर जाने खतरा रहेको बताउँछन्। बजेट निर्माणबारे आफ्नो अनुभव संसदीय छानबिन समितिमा सुनाएका पूर्वसचिव ढुङ्गानाले पहिचानसँग भने,‘राज्य कसको कन्ट्रोलमा छ भन्न सकिँदैन। कन्ट्रोल भन्दा बाहिर जाने चिन्ता छ।’
देशमा गुणस्तरीय शिक्षा नहुँदा नेताहरूमा मनलाग्दी गर्ने प्रवृत्ति बढ्दै गएको शिक्षाकर्मी एवं रातो बङ्गला स्कुलकी निर्देशक शान्ता दीक्षित बताउँछिन्।
उनीसँगको कुराकानी सुन्न यहाँ क्लिक गर्नुहोला।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.