समानुपातिक सूची

शेखरको मागमा देउवा सहमत, पूर्णबहादुरले रोके

शेखरको मागमा देउवा सहमत, पूर्णबहादुरले रोके

प्रधानमन्त्री पत्नी आरजु पर्ने, मन्जु नपर्ने लगभग पक्का

काठमाडौं : नेपाली काँग्रेसले समानुपातिकको बन्द सूचीमा परेका उम्मेदवारको नागरिकता सङ्कलन गरेको छ। निर्वाचन आयोगमा आइतबार अन्तिम सूची बुझाउने अघिल्लो दिन काँग्रेसले उम्मेदवारको नागरिकता सङ्कलन गरेको हो।
२०७४ को चुनावमा उम्मेदवारको नामसँगै नागरिकता र मतदाता परिचयपत्र बुझाउनु पर्ने थियो, अहिले नागरिकता मात्रै बुझाए हुने आयोगले जनाएको छ। राजनीतिक दलले नै प्रमाणित गरेर बन्द सूचीमा परेका उम्मेदवारको नागरिकता आयोगमा बुझाउनेछन्।
काँग्रेसले असोज ३ मा बुझाएको बन्दी सुचीमा ७० देखि ७५ प्रतिशत नाम संशोधन गर्ने भएको छ। पिछडिएको क्षेत्र बाहेकका नाम संशोधन गर्ने तयारी काँग्रेसले गरेको छ।
सभापति शेरबहादुर देउवा संस्थापन इतर समूहले असन्तुष्टि जनाएपछि बन्द सुची हेरफेर गरेर नाम पठाउन राजी भएका हुन्। अन्तिम सूचीमा शेखर कोइराला पक्षका १७ जना पर्नेछन्। ‘यसअघि बुझाएको सुचीमा कोइराला पक्षका १३ जनाको नाम थियो,काँग्रेसका एक नेताले पहिचानसँग भने,४ जना थप्न देउवा सहमत हुनु भएको छ।’
उम्मेदवार छनौट : दलहरूमा नेतृत्वविरुद्ध विद्रोहको धम्की
कोइराला पक्षले प्रतिनिधि सभाको समानुपातिकतर्फ आफ्नो पक्षका कम्तीमा १२ जना सदस्य निर्वाचित हुनुपर्ने भनेका छन्। ‘१७ जनाको नाम थप भए पनि काँग्रेसको भागमा ४० पर्ने भएमा १२ जना आफ्ना पक्षका हुनुपर्छ भन्ने कोइरालाको मागमा देउवाले भइहाल्छ नि भन्नुभयो, उपसभापति पूर्णबहादुर खड्काले सल्लाह गर्नुपर्छ भनेपछि देउवाले हुन्छ सल्लाह गरौँ भने पनि लगभग कुरा मिलेको जस्तै छ,काँग्रेसका ती नेताले भने,पार्टीमा सहमति जुटाएर भोलि अन्तिम सूची आयोगमा बुझाउने तयारी छ।’
त्यसका लागि काँग्रेसले दिउँसो ३ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको छ। त्यसअघि सभापति देउवाले कोइराला पक्षसँग छलफल गर्नेछन्। कोइरालाले नाम थप्न भन्दा प्रतिनिधि सभामा निर्वाचित हुने सङ्ख्या खोजेका छन्। ‘देउवाले सहमत जनाए पनि खड्काले सल्लाह गर्नुपर्छ भनेकाले हिजो टुङ्गिएन,ती नेताले भने, देउवा सहमत भइसक्नु भएकाले आज बन्द सूचीको नाम टुङ्गो लाग्छ।’
बन्द सूचीमा परेकाहरूको नागरिकता माग्ने काम पनि अब सुरु गर्ने काँग्रेसले तयारी गरेको छ। ‘यसअघि पनि कतिले नागरिकता बुझाइसक्नु भएको छ, काँग्रेस स्रोतले भन्यो,अन्तिम सूचीमा पर्नेहरूको नागरिकता आज सङ्कलन हुन्छ।’
मञ्जु खाँण बाहिरिने, आरजुको सुरक्षित
काँग्रेसमा गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाममा धेरै विवाद भएको छ। गौर हत्याकाण्डमा जेल परेका पूर्वमन्त्री मोहम्मद अफताव आलमको नाममा पनि विवाद भएको छ। प्रदेश सभाको समानुपातिक सूचीमा भने सामान्य हेरफेर बाहेक अरू विवाद नरहेको स्रोतले बताएको छ।
श्रीमतीको नाममा विवाद गृहमन्त्री खाँणले मञ्जुको नाम फिर्ता लिन भनेका छन्। रुपन्देहीबाट आफू प्रत्यक्षमा चुनाव लड्न लागेको र पार्टीमा विवाद आएकाले नाम फिर्ता लिन खाँणले भनेका हुन्। ‘उहाँ बैठकमा त्यति आउनु हुन्न, यसो कहिलेकाहीँ आउनु हुन्छ, स्रोतले भन्यो, आएको बेलामा मञ्जुको नाम नराख्न सहमति जनाउनु भएको छ।’
गृहमन्त्री खाँणकी श्रीमती मञ्जु भने नाम फिर्ता लिन सहमति दिएकी छैनन्। सभापति देउवालाई पनि मञ्जुको नाम हटाउन सकस परिरहेको छ। समानुपातिकको बन्द सूचीमा देउवा पत्नी आरजु राणा देउवा पनि छिन्। आरजुको नाममा धेरै विवाद नभएकाले उनको नाम भने सुचीमा पर्ने काँग्रेस स्रोतले बताएको छ।
प्रत्यक्षतर्फ सिफारिस भएका आरजु समानुपातिकमा बसेकी छन्। प्रत्यक्षतर्फ २०७४ मा पराजित आरजु यो पटक समानुपातिक सुचीमा बसेकी हुन्।
पूर्वमन्त्री आलमको परिवारका एक सदस्यलाई समानुपातिकको सूचीमा राख्ने तयारी काँग्रेसले गरेको छ। ‘उहाँको नाममा विवाद भएको थियो,’स्रोतले भन्यो,’उहाँको नाम राखिँदैन, उहाँले सिफारिस गरेको उहाँकै परिवारका सदस्यलाई समानुपातिक सूचीमा राख्ने तयारी भएको छ।’
भ्रष्टाचार मुद्दाका अर्का आरोपित विजयकुमार गच्छेदार भने प्रत्यक्षतर्फ उम्मेदवार बन्ने भएका छन्। उनी सुनसरी निर्वाचन क्षेत्र ३ बाट प्रत्यक्षमा चुनाव लड्ने निश्चित भएको गच्छेदार निकट नेताले दाबी गरेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.