उम्मेदवार छनौट

दलहरूमा नेतृत्वविरुद्ध विद्रोहको धम्की

दलहरूमा नेतृत्वविरुद्ध विद्रोहको धम्की

काठमाडौं : सत्ता गठबन्धन दलहरू भित्रै सिट बाँडफाँडको किचलो भएको छ। नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाभित्र पार्टीकै नेताहरूले विद्रोहको धम्की दिएका छन् भने नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गठबन्धनको सिट बाँडफाँडको बैठकमा जानै सकस परेको छ ।
गठबन्धनका शीर्ष नेताहरू पार्टी भित्रकै घेराबन्दीमा परेका छन्। दोस्रो तहका नेताहरूको काम दुई दिनदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर चिया खाने र बेलुका खाना खान घर फर्कने मात्रै भइरहेको छ।
असोज १६ सम्म निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्द सुची सच्याएर बुझाउनु पर्ने समय पाएका दलहरूलाई पार्टी भित्रकै असन्तुष्टि समाधान गर्न हम्मेहम्मे परेको छ। प्रत्यक्षतर्फको सिट बाँडफाँडको छलफल भन्दा दलहरूलाई समानुपातिकको सूची सच्याएर बुझाउनु पर्ने चटारो समेत छ।
दलहरू आआफ्नै पार्टीको विवाद मिलाउन लागेपछि शुक्रवार बेलुकी पनि गठबन्धन दलको बैठक बस्न सकेन। साँझ अबेरसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकमा सहभागी नभएपछि दोस्रो तहका नेताहरू निराश हुँदै घर फर्किएका छन्।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालुवाटारमा प्रचण्डलाई कुर्दाकुर्दै रात परेपछि घर फर्किएको बताए। ‘गठबन्धन दलको सिट बाँडफाँड दुईचार ठाउँ बाहेक अलमष्ट ठाउँमा भएको छ,’पौडेलले भने,‘आज बसेर टुङ्गो लगाउने भनेको तर प्रचण्ड नआउँदा छलफल नै हुन सकेन।’
उनले समानुपातिककै रडाको रहेको बताए। काँग्रेसका पदाधिकारीको बैठकमा समानुपातिकको सुचीबारे छलफल भइरहेको पौडेलले बताए। प्रतिनिधिसभाको १ सय ६५ र प्रदेशसभातर्फ ३ सय ३० सिटको भागबन्डा मिलाउन गठबन्धन कार्यदल र शीर्ष नेताहरूले डेढ महिना यता बालुवाटारलाई गठबन्धनको कार्यदल जस्तो बनाएका छन्।
निर्वाचन आयोगले असोज २३ गतेका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको समय तोकेको छ। त्यसैले दसैँ अघि नै सिट बाँडफाँट टुङ्ग्याएर उम्मेदवार चयनमा जुट्ने काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।
राजनीतिक दलहरूमा आफ्नालाई च्याप्ने प्रवृत्तिविरुद्ध विद्रोहको स्वर गुन्जिरहेको छ। एमालेमा विद्रोह गरेर एकीकृत समाजवादी पार्टी नै गठन भएको छ भने काँग्रेसमा सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चा बन्दी भएको छ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन्। शुक्रवार काठमाडौँमा भएको कार्यक्रममा महामन्त्री थापाले आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्ने अवस्था आएको बताएका हुन्।
उनले राजनीतिक दल र व्यवस्था जनताको लागि नभएर निश्चित नेताको पद प्राप्तिका लागि उपयोग हुन थालेको भन्दै सङ्घर्षका लागि तयार रहन आह्वान नै गरेका छन्। ‘जुन उद्देश्यका साथ संस्थापकहरूले यो पार्टी बनाउनु भएको हो, त्यो उद्देश्य प्राप्तिका लागि फेरि मिहेनत गर्नुपर्ने छ,’थापाले भने,‘पार्टी शुद्धीकरणका लागि विद्रोह अपरिहार्य भएको छ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading