निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सांसदमा निर्वाचित

काठमाडौं -४ मा गगन विजयी, समानुपातिकमा घण्टीसँग माओवादीको प्रतिस्पर्धा

काठमाडौं -४ मा गगन विजयी, समानुपातिकमा घण्टीसँग माओवादीको प्रतिस्पर्धा

496
SHARES

काठमाडौं : प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका चार सदस्य निर्वाचित भएका छन्। नेकपा एमालेका एक सदस्य निर्वाचित भएका छन्। काठमाडौं निर्वाचन क्षेत्र नम्बर १, क्षेत्र नम्बर ४, मुस्ताङ र मनाङबाट प्रतिनिधि सभामा काँग्रेस विजयी भएको छ। ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले विजयी भएको छ।

प्रत्यक्षतर्फ काँग्रेसका उम्मेदवारले अग्रता लिए पनि समानुपातिकतर्फ एमालेले अग्रता कायम गरेको छ। निर्वाचन आयोगका अनुसार एमालेले ७६ हजार ९९५ मत ल्याउँदा काँग्रेसले ६६ हजार ५९७ मत ल्याएको छ। स्थानीय चुनावपछि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ ३३ हजार ३४३ मत ल्याएको छ भने तेस्रो शक्तिको रूपमा रहेको माओवादी केन्द्रले २९ हजार ६५७ मत पाएको छ।

प्रत्यक्षतर्फ काठमाडौं क्षेत्र नम्बर १ मा काँग्रेसका उम्मेदवार प्रकाशमान सिंह निर्वाचित भएका छन्। उनले ७ हजार १४३ मत ल्याई विजयी भएका हुन्। प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७ हजार १८ मत ल्याए। मिश्र १२५ मतान्तरले पराजित भएका निर्वाचन आयोगले जनाएको छ।

२०७४ को चुनावमा पनि सिंहका प्रतिस्पर्धी रहेका मिश्र झिनो मतान्तरले पराजित भएका थिए। राजतन्त्र फर्काउने एजेन्डासहित राप्रपाबाट चुनाव लडेका मिश्रलाई यो पटक पनि सिंहले झिनो मतान्तरले नै पराजित गर्न सफल भएका छन्।

सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। काँग्रेसको साधारण सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका सिंहले पार्टीको काठमाडौँ जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन्। सरल व्यक्तित्व भएका सिंह आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खटिएर जनताको सुख दुःखमा साथ दिने नेतामा पर्छन्।

हार्न नचाहनेलाई जब घण्टीले तर्सायो

यस्तै प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ४ मा काँग्रेसका उम्मेदवार गगनकुमार थापा विजयी भएका छन्। थापा २१ हजार ३०२ मत ल्याई विजयी भएका हुन्। प्रतिस्पर्धी एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत ल्याएका छन्। थापाले भट्टराईलाई ७४४७ मतान्तरले पराजित गरे।

संविधानसभा सदस्य निर्वाचन २०६४ मा काँग्रेसका तर्फबाट समानुपातिक सदस्य निर्वाचित थापा २०७० मा काठमाडौं ४ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए। उनी २०७४ मा पनि काठमाडौं ४ बाटै निर्वाचित भएका थिए। थापाले काठमाडौं ४ मा आफ्नो विजयी यात्रालाई जारी राखेका छन्।

संसद् छिर्न नपाउने

मनाङबाट काँग्रेसका टेकबहादुर गुरुङ २ हजार ५७५ मत ल्याएर विजयी भएका छन्। प्रतिस्पर्धी एमालेका पोल्देन छोपाङ गुरुङले २ हजार २४७ मत ल्याए। ३२८ मतान्तरले निर्वाचित टेकबहादुरले प्रतिनिधि सभा सदस्यको रूपमा निर्वाचित भएको प्रमाणपत्र बुझे पनि संसद् बैठकमा उपस्थित हुन पाउँदैनन्।

भ्रष्टाचार मुद्दाका आरोपी टेकबहादुरको मुद्दा कानुन अनुसार विशेष अदालतबाट किनारा नलागेसम्म संसद् छिर्न भने पाउँदैनन्। गुरुङमाथि शक्तिको दुरुपयोग गरी काठमाडौं भृकुटीमण्डपको जग्गा भाडामा लगाएको विषयमा भ्रष्टाचारको आरोप लागेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ ले भ्रष्टाचार अभियोगमा सजाय भुक्तान गरेको व्यक्ति उम्मेदवार बन्न नपाउने भनेको छ।

ललितपुर २ मा एमाले

ललितपुर क्षेत्र नम्बर २ मा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका छन्। उनी १५ हजार २५ मत ल्याई विजयी भएका हुन्। प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुदिन शाक्यले ८ हजार ८८६ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ८ हजार ६६६ मत प्राप्त गरेका छन् भने सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले आठ हजार दुई सय ६४ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रघुवरराज थापाले ६ हजार ६४६ मत प्राप्त गरे।

प्रतिस्पर्धीलाई पराजित गरेका महर्जन पहिलो पटक चुनावी प्रतिस्पर्धामा थिए। उनी एमालेको बागमती प्रदेश कमिटीका सदस्य हुन्। एमाले विभाजन हुँदा एकीकृत समाजवादीतिर गएका उनी केही दिनमै एमाले फर्किएका थिए। एकीकृत समाजवादीमा उनी केन्द्रीय सदस्य थिए।

उनी पञ्चायतकालदेखि राजनीतिमा सक्रिय रहे पनि २०४९ र २०५४ सालको स्थानीय चुनावमा ललितपुर नगरपालिका–८ को वडाध्यक्षमा निर्वाचित भएका थिए।

समाचार शेयर गर्नुहोस्
496
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.