चुनाव

हार्न नचाहनेलाई जब घण्टीले तर्सायो

हार्न नचाहनेलाई जब घण्टीले तर्सायो

प्रतिनिधि सभामा काँग्रेसले खोल्यो खाता, मुस्ताङबाट योगेश गौचन निर्वाचित

काठमाडौँ : प्रतिनिधि सभा सदस्यमा हिमालपारिको जिल्ला मुस्ताङबाट योगेश गौचन थकाली निर्वाचित भएका छन्। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका केन्द्रीय प्रतिनिधि २९ वर्षका थकाली ३ हजार ९९२ मत ल्याएर विजयी भएका हुन्।

प्रतिस्पर्धी ६० वर्षका नेकपा एमालेका प्रेमप्रसाद तुलाचन ९१४ मतान्तरले पराजित भए। तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ। थकाली र तुलाचनसँगै चुनावी प्रतिस्पर्धामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रवीण कुमार शेरचनले १३ मत प्राप्त गरेका छन्।

मुस्ताङमा अन्तिम मतदाता नामावलीमा १० हजार ९५७ रहे पनि ७ हजार २ सय ५८ मत खसेको जिल्ला निर्वाचन अधिकृत मदन अर्यालले जानकारी दिए। गणना भएको ८८ मत बदर भएको छ। घण्टी चुनाव चिन्ह रहेको राष्ट्रिय स्वतन्त्र पार्टी र तिर चिन्ह रहेको राप्रपाले बदर मत भन्दा पनि कम मत पाएका छन्। महिला ५ हजार ५८१, पुरुष ५ हजार ३७५ र अन्य मतदाता एक जना थिए।

२७५ सदस्यीय प्रतिनिधि सभा सदस्यमा गौचन निर्वाचित भएसँगै नेपाली काँग्रेसले खाता खोलेको छ। संविधान कार्यान्वयनको दोस्रो चुनावमा प्रतिनिधि सभातर्फ निर्वाचित पहिलो सदस्य बनेका छन् योगेश। उनी काँग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा हुन्। २०७४ को चुनावमा एमालेका तुलाचनसँग पराजित भएका रोमी यो चुनावमा पनि तुलाचनसँगै प्रतिस्पर्धा गर्न सर्वसम्मत उम्मेदवार सिफारिस भएका थिए।


उनले स्थानीय चुनावमा देखिएको मतदाताको युवा मोहलाई क्यास गर्न छोरा योगेशलाई उम्मेदवार बनाएका थिए। दुई पटक सांसदमा निर्वाचित भए रोमी वाणिज्य मन्त्री बनेका थिए। स्वर्गीय गिरिजाप्रसाद कोइरालाले पटकपटक केन्द्रीय सदस्य बन्न दिएको अफर अस्वीकार गरेर चर्चामा थिए रोमी।

छोरा योगेश बुबा रोमीको राजनीतिक विरासत कायम राख्न सफल भएका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतगणना चलिरहेका निर्वाचन क्षेत्रमा काँग्रेससहितको गठबन्धन र एमालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले कडा टक्कर दिइरहेका छन्। मतगणनाको प्रारम्भिक विवरणमा २०७९ असार ७ गते दर्ता भएको रबी लामिछानेको स्वतन्त्र पार्टीले पुराना दलको घण्टी बजाइरहेको छ।

नसच्चिए इतिहासमा सीमित

२००३ सालमा स्थापना भएको काँग्रेस र २००६ सालदेखिको कम्युनिस्ट पार्टीका नेताहरूलाई मतदाताले सच्चिन चुनौती दिएका छन्। मतगणनाको प्रारम्भिक विवरण अनुसार ‘उही पुरानै अनुहार’का कारण दलीय व्यवस्थामा धमिरा लागेको सङ्केत दिएको छ। मतदानका लागि योग्य मध्ये झन्डै ३९ प्रतिशतले मत प्रकट नै गरेनन्।

निर्वाचन आयोगको प्रारम्भिक विवरण अनुसार देशभर योग्य मतदातामध्ये जम्मा ६१ प्रतिशतले मत प्रकट गरेका छन्। १०० मतदातामध्ये ३९ जनाले मतदाता नामावलीमा नाम भएर पनि भोट खसालेनन्। २०७४ को चुनावमा ६८ प्रतिशत खसेकोमा यो चुनावमा मतदाताको सङ्ख्या धेरै तर मतदान भने थोरै भएको छ। वैशाखमा सम्पन्न स्थानीय चुनावमा जस्तो प्रतिनिधि र प्रदेश सभा चुनावमा मतदाताको उत्साह देखिएन।

६१ प्रतिशत मत खस्यो, आफ्नै नेतृत्वमा सरकार बनाउने दाबी

‘देश बदल्नका लागि राजनीतिक दल आवश्यक’ भन्दै पहिलो पटक चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना राजनीतिक दलभित्रको वितृष्णालाई क्यास गरेको छ। ‘मासु भात’ खुवाएर भोट लिने काँग्रेस र एमालेको पुरातनवादी व्यवहारलाई मतदाताले झापड हानेका छन्। काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को नमोवुद्ध नगरपालिका वडा नम्बर २ को मतदान केन्द्रमा मतदातालाई एमालेले खसीको मासु र काँग्रेससहितको गठबन्धनले कुखुराको मासु खुवाएका थिए।

दलहरूको मासु भातमा लोभिने मतदाता कम हुँदै गएको सङ्केत पनि प्रारम्भिक मतगणनाबाट देखिएको छ। चुनावमा मात्रै झुल्किने उम्मेदवारहरूलाई मतदाताले यो चुनावमा पराजित नै गराउन नसके पनि सच्चिन खबरदारी गरेका छन्।

एमालेको गठबन्धनसँग मात्रै चुनावी प्रतिस्पर्धा हुने अनुमान गरेको काँग्रेससहितको गठबन्धनलाई नयाँ दल घण्टीले तर्साइदिएको छ। ललितपुर क्षेत्र नम्बर ३ मा काँग्रेस र एमाले दुवैको मत राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीमा गए पनि अन्तिममा जित काँग्रेससहितको गठबन्धनका उम्मेदवारको हुने दाबी नेपाली काँग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले सुनाएका छन्।

उनले पार्टीमा बरु हार्न तयार हुने तर चेन्ज हुन नचाहने मानसिकता कायम रहेको बताए। ‘घण्टीमा काँग्रेस र एमाले दुवैको मत गएको देखिन्छ,’उनले भने,‘दलहरूमा मै हुँ भन्ने मानसिकताले मतदाताको भोट क्रस भएको छ।’ उनले काँग्रेस परिवर्तनलाई एसेप्ट गर्न नचाहने परम्परावादी भएको टिप्पणी गरे।

उनले पार्टी सच्चिनुको विकल्प नहरेको बताउँछन्। उनलाई पार्टी सच्चिने विश्वास भने छैन। ‘काँग्रेस सुध्रने सङ्केत छैन,’उनले भने,‘रुढीवादी, परम्परावादीमा रहेर युवा पुस्तालाई राजनीतिमा अवसर नदिए काँग्रेस इतिहासमा सीमित हुन बेर छैन।’

हार्न तयार हुने तर कुर्सी नछोड्ने प्रवृत्ति नेतादेखि कार्यकर्तासम्म नै रहेको बस्नेतले सुनाए। तरुण दलका पूर्व अध्यक्ष समेत रहेका बस्नेतले पहिचानसँग भने,‘चेन्ज हुनै चाहँदैनौ हामी, पार्टी रुढीवादी भयो, नसच्चिए इतिहासमा सीमित हुन्छ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading