चुनाव

६१ प्रतिशत मत खस्यो, आफ्नै नेतृत्वमा सरकार बनाउने दाबी

६१ प्रतिशत मत खस्यो, आफ्नै नेतृत्वमा सरकार बनाउने दाबी

काठमाडौं : राजनीतिक खेलाडी छनोट गर्ने चुनाव सम्पन्न भएको छ। पाँच वर्ष सत्ताको बागडोर सम्हाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएका संसदीय राजनीतिका खेलाडी छनोट गर्ने चुनाव छिटफुट घटना बाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले पत्रकार सम्मेलन गरेर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिएको छ। पुरा विवरण प्राप्त नभएको भन्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मत प्रतिशत केही बढ्न सक्ने तर अनुमान गरे भन्दा कम मतदान भएको बताए।

प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र ३३० प्रदेश सभा सदस्य चुन्न देशका २२ हजार २ सय २७ मतदान केन्द्र तोकिएको थियो। बाजुरामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि मतदान स्थगित भएको छ। एक प्रहरीसहित ३ जना गम्भीर घाइते भएका छन्।

त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान स्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय सुरेन्द्र अएडीको मृत्यु भएको वडाध्यक्ष जुद्धबहादुर अएडीले जानकारी दिए।

मतपेटिका खोसाखोस गरिरहेको अवस्थामा दुई पक्षीय झडपपछि प्रहरीले गोली चलाएको प्रत्यक्षदर्शी बताएका छन्। गोली लागेर मृत्यु हुने नेपाली काँग्रेसका कार्यकर्ता हुन्। प्रहरी हवलदार कृष्ण कुँवर, स्थानीय परशुराम पाध्याया र खडक अएडी घाइते भएका छन्। गोली चलेपछि खसेको मतपत्र र मतपेटिका सुरक्षित राखिएको छ।

आयोगले सुर्खेत, नवलपरासी र गुल्मी र बाजुराका १५ स्थानमा मतदान स्थगित भएको जनाएको छ। मतदान रद्द भएका स्थानमा दुई दिनभित्र मतदान गराउन निर्वाचन आयोगले निर्देशन दिएको छ। देशभर मतपेटिका सङ्कलनको काम भइरहेको छ। काठमाडौं लगायत राजनीतिक दलहरूसँग सहमति भएको स्थानमा आइतबार राति देखि नै मत गणना सुरु गर्ने आयोगले जनाएको छ।

बहुमतको सरकार बनाउने दलहरूको प्रक्षेपण

चुनावमा मतदान गरिसकेपछि दलका नेताहरूले बहुमतको सरकारको गठन हुने बताएका छन्। एमालेले चुनावी तालमेल गरेका दलहरूसँग मिलेर मङ्सिर १५ भित्र बहुमतको सरकार बनाउने दाबी गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले एमालेको नेतृत्वमा बहुमतको सरकार बन्ने दाबी सुनाएका हुन्।

सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने जसको नेतृत्वमा सरकार बने पनि गठबन्धन कायम रहने बताएका छन्। पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले अहिलेको गठबन्धन लामो समयसम्म जाने बताए। प्रचण्डले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने बारेमा गठबन्धन दलहरू बिचमा छलफल नभएको दाबी पनि गरे।

सत्ता गठबन्धनबाट छुट्टिएर एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भने निर्वाचनको परिणामपछि नै कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने निर्णय हुने बताएका छन्।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सांसद चुनिएको भोलिपल्टै देखि पार्टी संसदीय दलको नेता हुन निर्वाचनको तयारी थाल्ने बताएका छन्। पत्रकारसँग कुरा गर्दै थापाले प्रधानमन्त्रीका लागि आफूले प्रत्यक्ष सङ्केत दिएको उल्लेख गरे।

नयाँ दलको उदय

पुराना राजनीतिक दलको घण्टी बजाउँदै रबी लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ दलको रूपमा उदय हुने सङ्केत देखिएको छ। गणना सुरु हुनु अगाडि नै राष्ट्रिय स्वतन्त्र पार्टी चौथो या पाँचौँ शक्तिको रूपमा उदाउने अनुमान सार्वजनिक हुन भएका हुन्।

प्रत्यक्षतर्फ मुख्य प्रतिस्पर्धा दलीय गठबन्धनका उम्मेदवारहरुबीच भए पनि समानुपातिकमा स्वतन्त्र पार्टीले कुल खसेको मतको ३ प्रतिशत मत पार गरेर राष्ट्रिय पार्टी बन्ने अनुमान सार्वजनिक भएको हो। राष्ट्रिय पार्टीको मान्यता पाउन थ्रेसहोल्ड कटाउनु पर्छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading