निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

शून्य हेल्थ : एकै छिनमा नतिजा निकाल्ने प्रविधि नेपालमा

शून्य हेल्थ : एकै छिनमा नतिजा निकाल्ने प्रविधि नेपालमा

787
SHARES

काठमाडौं : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले झापा, सुनसरी, मोरङ र गाईघाटमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको जनाएको छ। सङ्घको स्वास्थ्य समितिका संयोजक डाक्टर सञ्जीव सापकोटाका अनुसार शिविरमा स्तन क्यान्सर, मुटु लगायतका स्वास्थ्यमा पर्ने समस्याहरूको निःशुल्क परीक्षण गरिनेछ।

मोरङ र सुनसरीका विभिन्न क्षेत्रमा १५ वर्षभन्दा तलका बच्चाहरूको मुटु स्वास्थ्य चेकअप गरिने डा. सागर पौडेलले जानकारी दिए। झापाको बाउनडाँगीमा हेयरिङ एडको स्क्रिनिङ गर्ने स्वास्थ्य समितिले निर्णय गरेको छ।

एनआरएनएले विश्वका विभिन्न देशमा रहेका नेपाली चिकित्सक र नर्सहरूलाई क्षेत्रीय रूपमा भेला गरेको नेपालीको स्वास्थ्य समस्याबारे मन्थन गर्ने उद्देश्य रहेको पनि जनाएको छ।

विश्वका विभिन्न देशमा ५ हजार नेपाली चिकित्सक र १५ हजार नर्स रहेको एनआरएनएले जनाएको छ। गैरआवासीय नेपाली सङ्घको क्षेत्रीय स्वास्थ्य सम्मेलन आगामी जनवरी तेस्रो साता नर्थ अमेरिकामा गर्ने निर्णय पनि समितिको बैठकले गरेको संयोजक सापकोटाले जानकारी दिए।

सङ्घकी कार्यकारी अध्यक्ष रबिना थापाले सङ्घको स्वास्थ्य समितिले मानव स्वास्थ्यमा राम्रो काम गरेको बताइन। उनले कोरोना महामारीमा स्वास्थ्य समितिले खेलेको महत्त्वपूर्ण भूमिकाले मानिसहरूको जीवन रक्षा भएको बताइन। नेपालमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा अझ बढी काम गर्नु पर्ने उनको भनाई छ।

नेपालमा सा–सानो स्वास्थ्य परामर्शसमेत नहुँदा स्तन र पाठेघरको क्यान्सरले धेरै महिलाले ज्यान गुमाउनु परेको उल्लेख गर्दै उनले भनिन्, ‘क्यान्सरविरुद्ध राष्ट्रिय अभियान चलाउन आग्रह गर्छु।’

डा. अरुण शाहीले नेपालमा क्यान्सर सार्वजनिक स्वास्थ्यमा चुनौतीको रूपमा आएको बताए। उनले पाठेघरको मुख र स्तन क्यान्सर गाउँगाउँमा पुगेको बताउँदै समयमै रोग पत्ता लगाउन सके क्यान्सर निको हुने सुनाए।

समितिको बैठकमा अनिसा भण्डारीले ‘शून्य हेल्थ’ अनुरूप छोटो समयमा समस्याको पहिचान गर्ने प्रविधि नेपालमा आइसकेको जानकारी दिइन। उनले नयाँ प्रविधिबाट एकै छिनमा टेस्टको नतिजा निकाल्न सकिने बताइन।

शून्य हेल्थका प्रमुख पवन खड्काले नयाँ प्रविधि सस्तो र सुलभ भएको बताए। उनले ती प्रविधिहरू गाउँगाउँको स्वास्थ्य चौकीमा समेत प्रयोगमा ल्याउन सकिने बताए।

समाचार शेयर गर्नुहोस्
787
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.