ग्लोबल आइएमई बैङ्क र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतीबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

ग्लोबल आइएमई बैङ्क र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतीबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

206
SHARES

काठमाडौँ – ग्लोबल आइएमई बैङ्क लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबीच आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरूमा मोतीबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

बैङ्कको कर्पोरेट कार्यालय कमलादीमा मङ्गलवार बैङ्कका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइटको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो।

समझदारी पत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले हस्ताक्षर गरेका छन्।

समझदारी अनुसार, तिलगंगा आँखा प्रतिष्ठानले ग्लोबल आइएमई बैङ्कको वित्तीय सहयोगमा सातै प्रदेशका सात स्थानमा आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरूको निःशुल्क रूपमा मोतीबिन्दुको पहिचान गरी शल्यक्रिया गर्ने छ।

साथै, विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तथा विपन्न छात्रा/छात्रहरूको आँखा परीक्षण गरी आवश्यकता अनुसार निःशुल्क रूपमा चस्मा वितरण गरिने समेत समझदारी भएको छ।

हस्ताक्षर समारोहमा सम्बोधन गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैङ्कले आफ्नो स्थापनाकालदेखि नै नाफाको एक हिस्सा समाजलाई फिर्ता गर्ने परम्परालाई निरन्तरता दिँदै आएको बताए।

उहाँले भने,“हामीले यो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई सातै प्रदेशमा समान रूपमा पुर्‍याउने प्रयास गरेका छौँ, किनकि हाम्रो विश्वास छ- हामी जहाँ व्यापार गर्छौ, जहाँबाट नाफा कमाउँछौँ, त्यहीँ समाजप्रति हाम्रो सबैभन्दा ठूलो दायित्व पनि रहन्छ।”

उनले बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकका ७७ वटै जिल्लामा रहेका आफ्ना शाखा कार्यालयमार्फत शिक्षा, स्वास्थ्य, वातावरण, मानवीय सहायता, दिगो विकास लक्ष्य तथा बेलाबेलामा आइपर्ने विभिन्न दैविक प्रकोपहरूमा उद्धार तथा राहतमा विभिन्न कार्यक्रमहरू गर्दै आएको बताए।

त्यसैगरी, तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. रुइटले नेपाली बैङ्कसँगको सहकार्यमा अवसर र चुनौती दुवै रहेको बताउँदै ग्लोबल आइएमई बैङ्कसँगको सहकार्यलाई दिगो हुने गरी काम गर्ने बताए।

उनले आफूहरूले कुनै पनि कार्यक्रममा पारदर्शिता र चुस्त व्यवस्थापनमा जोड दिने गरेको पनि उल्लेख गरे।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत रेग्मीले नेपालकै ठूलो बैङ्क र तिलगंगाजस्तो प्रतिष्ठित संस्थाबिचको सहकार्यले बैङ्कलाई सामाजिक उत्तरदायित्वको कार्यक्रम सञ्चालन गर्न उत्साह मिलेको बताउँदै यस सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्दै लैजाने बताए।

हस्ताक्षर समारोहमा बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, बैङ्कका उच्च पदस्थ कर्मचारीलगायत प्रतिष्ठानका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

समाचार शेयर गर्नुहोस्
206
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.