लैङ्गिक पहिचान

छापामार शैलीमा मतदाता भेट्छु : शरिन तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी

छापामार शैलीमा मतदाता भेट्छु : शरिन तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं : तिरस्कारकाबीच फुल फुलाउने उद्देश्य थियो राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङ शरीनको। वैदेशिक रोजगारीमा फसेका सात जनालाई उद्धार गरेर सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार बनेका उनले गठबन्धनका उम्मेदवारलाई जित निकाल्नु फलामको चिउरा चपाउनु सरह बनाए।

प्रतिनिधि सभा ललितपुर क्षेत्र नम्बर ३, काभ्रे क्षेत्र नम्बर २ र सुनसरी १ सहितका निर्वाचन क्षेत्रमा स्वतन्त्र पार्टीका उम्मेदवारले गठबन्धनका उम्मेदवारलाई आच्छुआच्छु गराए। उर्जामन्त्री समेत रहेकी पम्फा भुसाल स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्कीसँग पराजित भइन।

काभ्रे २ मा स्वतन्त्र पार्टीका दिनेश हुमागाईँले स्थानीय तह चुनावमा १५ हजार बढी भोट पाएको काँग्रेससहितको गठबन्धनका उम्मेदवार शिव प्रसाद हुमागाईँको मत खोसे। सुनसरी १ मा गठबन्धनका मुक्सामहाङ सुब्बालाई स्वतन्त्र पार्टीका उम्मेदवार शरिनले पछाडि पारे। गठबन्धनप्रति असन्तुष्ट भोट बटुलेर निकटतम प्रतिस्पर्धी बनेका शरिनले एमालेसहितको गठबन्धनका उम्मेदवार अशोककुमार राईलाई जित निकाल्न कडा टक्कर दिए।

राई १७ हजार ५९ मत ल्याएर निर्वाचित हुँदा शरीन १६ हजार ६०६ मत ल्याएर निकटतम प्रतिस्पर्धी बने। जनता समाजवादी पार्टी, नेपालका अशोककुमार राई १७ हजार ५९ मत ल्याएर विजयी भए। निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ शरीन ४५३ मतान्तरले मात्र पराजित भए। नेपाली काँग्रेस सहितको गठबन्धनका उम्मेदवार नेकपा माओवादीका मुक्सामहाङ सुब्बालाई शरीनले मतान्तरमा पछाडि पारे।

सुनसरी १ मा चुनावी प्रतिस्पर्धामा रहेका २० उम्मेदवार मध्ये १० जना स्वतन्त्र नै थिए। प्रतिस्पर्धामा रहेका मध्ये १४ जनाले जमानत नै जोगाउन सकेनन्। शरीन दोस्रो पपुलर मत ल्याउन सफल भए।

मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको अन्तिम मत परिणाम निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छैन। आयोगले अहिलेसम्म सार्वजनिक गरेको विवरण अनुसार चुनाव आउनु पाँच महिना अघि मात्रै गठन भएको स्वतन्त्र पार्टीका ७ जना उम्मेदवार प्रत्यक्षतर्फ निर्वाचित भइसकेका छन्।

समानुपातिक तर्फ दलहरूले पाएको मत गणनाको पछिल्लो विवरण अनुसार स्वतन्त्र पार्टीले काँग्रेस र एमाले पछि तेस्रो मत पाएको छ। २०७४ को चुनावमा तेस्रो मत पाएको नेकपा माओवादी केन्द्रलाई समानुपातिकको जारी मतगणनामा स्वतन्त्र पार्टीले पछाडि पारेको छ।

देश बदल्नका लागि राजनीति दल आवश्यक भनेको स्वतन्त्र पार्टीले पुराना दलहरूप्रति मतदातामा रहेको वितृष्णलाई क्यास गरेको छ। उसले हाताहाती प्रत्यक्षमै सात जना सांसद पाएको छ।

छापामार शैली

१४ वर्ष इजरायल बसेर सन् २०२० मा मात्रै नेपाल फर्केका हुन् शरीन। विदेशमा नेपाली युवा, चेलीबेटी अलपत्र पार्ने दलाललाई अल्टिमेटम दिँदै उद्धार गर्ने काममा सक्रिय शरीनको सांसद बनेर दूतावासका कर्मचारीलाई थर्काउने धोको भने यो चुनावले पुरा गरेन।

अबको पाँच वर्ष प्रतिपक्षमै बसेर मतदाताको दुखमा सहयोग गर्ने उनले योजना सुनाएकी छन्। ‘मतदाताको दुख पीडा अन्त्य गर्न छापामार शैलीमा जान्छु’शरीनले पहिचानसँग भने। उनले वैदेशिक रोजगारीमा अलपत्र परेका नेपालीको उद्धार गर्न साधारण अभियन्ताले मात्रै नपुग्ने अनुभव पनि सुनाए।

उनले दूतावासका कर्मचारीहरूले उद्धारमा सहयोग नगरेको गुनासो पनि गरे। ‘दूतावासमा फोन उठाइहाले सलाम वालेकुम भनेर फोन उठाउँछ। अरविकले उठाउँछ। ऊसँग बोल्दाबोल्दै पैसा सकिन्छ हो,’उनले भने,‘सांसद भएर गएपछि त एक कलमै फोन उठ्छ नि। म फलाना हो भन्ने बित्तिकै हस् हजुर, हस् हजुर गरेर मेरो काम गरिदिन्छ, उद्धार गरिदिन्छ। समस्यालाई सुनिदिन्छ।’

उनले दूतावासका कर्मचारीलाई तह लगाउनु पर्ने बताए। ‘राजदूतावासहरूमा यस्तो यस्तो कर्मचारीहरू छन् जसलाई चाहिँ मैले तह लगाउनु पर्ने छ क्या,’उनले भने,‘विशेष गरेर वैदेशिक रोजगारीमा बसेका युवाहरूको कुरा सुन्दैन। चेलीबेटीको कुरा सुन्दैन। कुरा सुनाउनका लागि उम्मेदवारी दिएको हो।’

उनले अभियन्ता भन्दा पनि सांसद भएपछि केही हदसम्म दूतावासका कर्मचारीले कुरा सुन्ने बताए। उनले चुनावमा हारजित हुने भन्दै पार्टीको सल्लाह अनुसार अगाडि बढ्ने बताए।

‘सल्लाह त लिनु पर्‍यो, एकलौटी निर्णय लिएर आफू मात्रै दम्भकारी भएर अब हाम्रो केपी बा जस्तो भएर त हिँड्नु भएन,’उनले भने,‘म एक लौटी निर्णय जनतालाई थुपार्न चाहन्न।’
उनले यो पटक चुनाव जित्ने गरी भोट नपाए पनि अर्को पटक चुनाव जित्ने गरी भोट पाउने बताए। उनले चुनावमा पराजय भएर नभाग्ने सुनाए। ‘सबैलाई सम्झन्छु। यो पटक सरिनलाई सम्झनु भएन घण्टीलाई सम्झनु भएन भने पनि अर्को पटक सम्झनु हुन्छु,’उनले भने,‘सुनसरी क्षेत्र १ मा बसेर जनताको सेवा गर्छु।’

चरित्र माथि शङ्का

शरीन जन्मँदा छोरी हुन्। छोराछोरी जन्माएर हुर्काउने आमा पनि हुन उनी। छोराछोरी हुर्किबढेपछि इजरायल पुगेकी उनले श्रीमान्सँग डिभोर्स गरे। आफुजस्तै छोरी मान्छेसँग वैवाहिक सम्बन्धमा रहेको सार्वजनिक गरे। हिजो उनी कसैको श्रीमती थिइन भने आज उनी श्रीमान् छन्। श्रीमान्बाट श्रीमतीले पाउने मायामा कुनै कमी हुन नदिएको बताउँछन् शरिन।

श्रीमानले श्रीमतीलाई दिने माया नपाएकै कारण डिभोर्स गरेको उनले बताए। ‘आखिर यति माया हिजोका दिनमा मलाई कसैले दिएको भए डिभोर्स पनि गर्दैनथे होला नि,’उनले भने,‘ तिरस्कारका बिचमा मैले फुल फुलाउन खोजेको हो त्यति हो।’

चुनावका क्रममा मतदाताको घरघरमा पुग्दा आफ्नो चरित्रमाथि कसैले औँला नउठाएको उनले बताए। छोरी भए पनि छोराको फिलिङस आउने गरेको बताउने शरीनले आफूलाई ‘ट्रान्समेन’ भन्न रुचाए। ‘भोट माग्न जाँदा बुढी आमाहरूले तिमी त छोरा मान्छे जस्तै देख्छ भन्दा म छोरा मान्छे नै हो आमा भन्थे,’उनले भने,‘मेरो लैङ्गिकता माथि कोही पनि मतदाताले औँला उठाउनु भएन।’

रबीविरुद्ध मिडियाहरू हात धोएर लागेको आरोप, उपनिर्वाचन भए झन् ठुलो मतान्तरले जित्छौँ : प्रवक्ता ढकाल

उनले निर्वाचन आयोगमा उम्मेदवार दर्ता गर्दा महिला लैङ्गिक पहिचानमा गरेका थिए। नागरिकतामा गोमा तामाङ नै भनेर लेखिएको छ भने लिङ्गमा महिला रहेको स्वतन्त्र पार्टीका प्रवक्ता डाक्टर मुकुल ढकालले बताए। ‘प्रारम्भिक उम्मेदवारीमा खुला आवेदन गरेका थियौ। खुला आवेदनसँगै सर्च गर्ने गरी टोली पनि बनाएका थियौ,’प्रवक्ता ढकालले पहिचानसँग भने,‘शरीन (गोमा) हामीसँग पहिलेदेखि नै जोडिएको मान्छे हो। उहाँले विदेशमा बसेर दुख पाएका नेपालीको उद्धारमा सिधा कुरा जनतासँगै काम गर्नु भएको हो।’

शरीनलाई दिदी बहिनी भनेर बोलाउँथे। अहिले उनी आफूलाई दाइ या भाइ भनेर सम्बोधन गर्न सुझाउँछन्। ‘उहाँले आफूलाई दाइभाइ भन्नुहुन्छ। उहाँको नागरिकतामा महिला भनेर लेखेको छ। उहाँले पहिले नै नागरिकता बनाउँदा महिला नै लेख्न बाध्यता पनि थियो होला,’प्रवक्ता ढकालले भने,‘अब तपाई आफूले आफूलाई कसरी चिनाउन चाहनुहुन्छ भनेर सोध्छौ। अब त उहाँको नागरिकता पनि बदल्न सकिन्छ नि।’

उनले लैङ्गिक पहिचानको विषय स्वतन्त्र पार्टीले राष्ट्रव्यापी आन्दोलनको रूपमा लिएको बताए। ‘लैङ्गिक पहिचानको आधारमा नागरिकता देखि सबै डकुमेन्ट, सर्टिफिकेट सबै बन्नु पर्छ। विश्वविद्यालयमा परीक्षा दिन रोकिएका सबै खुलाउनु पर्छ भन्ने पार्टीको धारणा नै हो यसमा त,’उनले भने,‘यो धारणा अन्तर्गत उहाँ त्यसमा जान चाहनुहुन्छ कि हुँदैन भन्ने मैले उहाँसँग सोध्न बाँकी छ। उहाँले नागरिकतामा महिला भएका कारणले महिला लेखेको पनि हुन सक्छ। किनभने भोलि उम्मेदवारीमा उजुरी पर्ने र खारेजी हुन सक्छ भन्ने कुराले पनि हुनसक्छ। सिस्टमले सोधेको भिन्नै कुरा भइहाल्यो। पर्सनल्ली सोध्न बाँकी छ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading