नागरिकता विवाद

रबीविरुद्ध मिडियाहरू हात धोएर लागेको आरोप, उपनिर्वाचन भए झन् ठुलो मतान्तरले जित्छौँ : प्रवक्ता ढकाल

रबीविरुद्ध मिडियाहरू हात धोएर लागेको आरोप, उपनिर्वाचन भए झन् ठुलो मतान्तरले जित्छौँ : प्रवक्ता ढकाल

काठमाडौं : नागरिकता विवादमा फसेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछाने विरुद्ध केही मिडियाहरू हात धोएर लागेको रबीका कानुन व्यवसायीले आरोप लगाएका छन्।

नेपाल वार एसोसिएसनका पूर्वमहासचिव समेत रहेका सुनिल पोखरेलले उकेरा र थाहा रबीविरुद्ध हात धोएर लागेको बताए। ‘किन यो उकेरा र थाहा हात धोएर लागेको छ त रबी लामिछानेविरुद्ध?,’पोखरेलले भने,‘म उसको वकिल हुँ, म बोल्दिन।’

उनले उसको सबै चिजमा बोलिरहेकाले मिडियामा नबोल्ने बताए। अहिलेसम्म अदालतमा मुद्दा परेको जानकारी नभएको भन्दै पोखरेलले भने,‘कोही आउँलान नि कोही न कोही आइहाल्छन् नि यत्रो राष्ट्रवादीहरू छन्, आइहाल्छन् नि।’

चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेलाई पक्राउ गरी कारबाही गर्न समाजवादी केन्द्र नेपालका युवराज सफलले गृह मन्त्रालयमा उजुरी दिएका छन्। गृहबाट लामिछानेको नागरिकता विवाद छिनोफानो नभए सर्वोच्च अदालत जाने उनले बताएका छन्।

निर्वाचन आयोग उजुरीको छिनोफानो नगरी पन्छिएको छ। आयोग पन्छिएपछि लामिछाने पनि अदालतमा मुद्दा परे बहस गर्न वकिललाई तयारी अवस्थामा राखेर बसेका छन्। लामिछानेलाई नेपाली नागरिक नै नभए जसरी हेरिएको गुनासो स्वतन्त्र पार्टीका प्रवक्ता डाक्टर मुकुल ढकालले गरेका छन्।

उनले लामिछानेले अमेरिकी नागरिकता बुझाइसकेपछि नेपालको नागरिकता स्वतः एक्टिभेट भएको बताए। ‘खारेजी भएको निस्सा पनि छैन नि कहीँ कतै,’ढकालले पहिचानसँग भने,‘नागरिकता ऐनमा भएको व्यवस्था खारेज भएको निस्सा लिनेहरूका लागि हो,अन्ततोगत्वा नेपाली हो कि होइन त भन्दा नेपाली त हो नि होइन?’


नेपालको नागरिकता ऐन २०६३ मा विदेशको नागरिकता लिने नेपालीले नेपालको नागरिकता त्याग गरेको निस्सा लिनुपर्ने व्यवस्था छ। लामिछानेले नागरिकता त्याग नगरेकाले निस्सा लिएका छैनन्। उनका वकिलले पनि निस्सा नै नलिएकाले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउनु नपर्ने सुझाव दिएका छन्।

लामिछानेको पार्टीका प्रवक्ता ढकालले पनि पार्टी सभापतिको नागरिकताको विषयलाई लिएर राजनीतिक रूपमा कित्ताकाट गर्न खोजिएको बताएका छन्। ‘प्रक्रियामा त्रुटि भएको होला,’उनले भने,‘मिलेको छैन भने पनि एकै दिनमा मिल्ने कुरा हो नि। प्रक्रियामा जान समस्या भएन।’

उनले प्राविधिक रूपमा त्रुटि भए अदालतले भन्ने बताए। ‘अदालतले भने अनुसार गरौला। हामीलाई ठुलो चिन्ता छैन। उपनिर्वाचन भए पनि हामी आरामले जित्छौ। झन् ठुलो मतान्तरले जित्छौ,’ढकालले भने,‘यसले अन्तिममा हामीलाई केही गर्‍यौ भने पनि गैरआवासीय नेपाली नागरिकदेखि सबै पक्षहरू अन्तिममा हामीसँग जोडिन्छन्। गैरआवासीय नेपाली यति धेरै छन्। विदेशमा बसेका नेपाली ५० लाख छन्।’

उनले अब राजनीतिक रूपमा कित्ताकाट गर्न खोज्छन् भने पनि केही फरक नपर्ने बताए। ‘हामीसँग झन् धेरै जनता जोडिनुहुन्छ। यो आम नेपालीको समस्या हो,’उनले भने,‘अदालतले जे भन्छ त्यो हामी गर्न तयार छौ। प्राविधिक रूपमा कहीँ त्रुटि रैछ भने पनि एक दिनमा बनी हाल्छ। नागरिकता खारेज भए पनि अर्को मान्छेलाई जिताउन मिल्दैन उपनिर्वाचन गराउनु पर्छ।’

अडियो सुन्नलाई यहाँ क्लिक गर्नुहोला

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading