निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

एम्बुलेन्स हस्तान्तरण

आइएफआरसीका महासचिवले भने, प्रधानमन्त्री आउनु भएन, फर्कँदा कुरा गर्छु

आइएफआरसीका महासचिवले भने, प्रधानमन्त्री आउनु भएन, फर्कँदा कुरा गर्छु

639
SHARES

काठमाडौं : सरकारले जनस्वास्थ्य सेवा ऐन आइसकेपछि एकीकृत रूपमा एम्बुलेन्स सञ्चालन हुन थालेको बताएको छ।

घटनास्थलबाट अस्पतालसम्म पुर्‍याउने सवारी साधनको रूपमा मात्रै रहेको एम्बुलेन्सलाई मोबाइल अस्पतालका रूपमा सेवा प्रवाह गर्ने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

एम्बुलेन्स सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयको अनुमति अनिवार्य लिने नीतिगत व्यवस्था गरिएको स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाईका प्रमुख डाक्टर समीरकुमार अधिकारीले बताए।


रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को सहयोग नेपाल रेडक्रस सोसाइटीले विभिन्न २२ जिल्ला शाखा र आठ उपशाखालाई ३० वटा एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा अधिकारीले स्वास्थ्यकर्मी सहित प्रि हस्पिटलको रूपमा जिपिएस कोड नम्बर लिएर मात्रै एम्बुलेन्स सञ्चालन गर्नुपर्ने मापदण्ड कार्यान्वयनमा आइसकेको जानकारी दिए।

नेपालमा एम्बुलेन्सको सङ्ख्या २ हजार ४३२ वटा पुगेको छ। त्यसमध्ये नेपाल रेडक्रस सोसाइटीका २७५ र सरकारी सङ्घसंस्थाका ३०० एम्बुलेन्स छन्। बाकी एम्बुलेन्स विभिन्न क्लब तथा प्रतिष्ठानको नाममा सञ्चालन भइरहेका छन्।

ठुला अस्पतालका गेटमा एम्बुलेन्स थुप्रिएको भन्दै उनले भने,‘एम्बुलेन्स सञ्चालन व्यवसायीक भएको छ।’ रेडक्रसले हस्तान्तरण गरेका एम्बुलेन्स स्वास्थ्य मन्त्रालयमा दर्ता भएर सञ्चालन गर्न उनले आग्रह गरे। एम्बुलेन्स सेवा लिनका लागि अहिले बागमती प्रदेशको धुलिखेल, हेटौँडा र धादिङमा १०२ मा फोन गरेर लिन सकिने व्यवस्था गरिएको उनले बताए।

प्रधानमन्त्री गएनन्

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेनन्। रेडक्रसले प्रधानमन्त्री प्रचण्डलाई भेटेर निम्तो दिए पनि एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रचण्ड गएनन्। रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले कार्यव्यस्थताका कारण प्रधानमन्त्री प्रचण्ड आउन नसक्नु भएको बताए।

रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का महासचिव जगन्नाथ चापागाईँले प्रधानमन्त्री आउने अपेक्षा राखे पनि नआउनु भएको गुनासो गरे। उनले जेनेभा फर्कनु अगाडि प्रधानमन्त्री प्रचण्डलाई भेट्ने बताए। एम्बुलेन्सलाई गाडीको रूपमा नहेर्न आग्रह गर्दै चापागाईँले एम्बुलेन्सलाई मान्छे मर्नबाट बचाउने साधनका रूपमा प्रयोग गर्नुपर्ने बताए।

उनले मानवीय सेवाको भावना लिएर काम गर्न रेडक्रसकर्मीहरूलाई सुझाव समेत दिए। ‘मानवीय सेवालाई जोगाउन सकेका छैनौ कि भन्ने लागेको छ,’उनले भने,‘मानवीय सेवा बाहेक अरू एजेन्डा हुनुहुँदैन।’


आइएफआरसीका महासचिव चापागाईँले ३० वटा एम्बुलेन्सको चाबी रेडक्रसको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरे। महासचिव चापागाईँले विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पुर्‍याउने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरेको बताए।

हस्तान्तरण गरिएका ३० वटै एम्बुलेन्स ‘ख’ वर्गका छन्। ‘ख’ वर्गका एम्बुलेन्समा अक्सिजन सिलिन्डर, मोनिटरलगायत न्यूनतम स्वास्थ्य पूर्वाधार रहेका हुन्छन्।

एम्बुलेन्स प्राप्त गर्नेमा इलाम, झापा, तेह्रथुम, सङ्खुवासभा, सप्तरी, उदयपुर, भक्तपुर, नुवाकोट, तनहुँ, गुल्मी, प्युठान, सल्यान, सुर्खेत, दाङ, जाजरकोट, डोटी, मुगु, बझाङ, बैतडी, दार्चुला, कैलाली र कञ्चनपुर जिल्ला शाखा छन्।

यस्तै बाँकेको सोनारी, बर्दियाको बारबर्दिया, भोजपुरको अन्नपूर्ण, गोरखाको मनकामना, कालिकोटको नरहरिनाथ, रोल्पाको घर्तीगाउँ, सिन्धुलीको ग्वालटार र सिराहाको मिर्चैया उपशाखाले पनि एम्बुलेन्स प्राप्त गरेका छन्।

समाचार शेयर गर्नुहोस्
639
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.