निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

काँग्रेस नेता भण्डारीलाई थप उपचारका लागि देशबाहिर लैजान चिकित्सकको सिफारिस

काँग्रेस नेता भण्डारीलाई थप उपचारका लागि देशबाहिर लैजान चिकित्सकको सिफारिस

517
SHARES

काठमाडौं : नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी ग्यास सिलिन्डर लिक भएर आगो लाग्दा गम्भीर घाइते भएका छन्।

काठमाडौँको बुद्धनगरस्थित निवासमा गएराति १० बजे ग्यास सिलिन्डर लिक भएर आगो लाग्दा भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका हुन्। 

दुवै जनाको कीर्तिपुर बर्न अस्पतालको आइसियु कक्षमा राखेर उपचार भइरहेको चन्दका भाइ हरिहर भण्डारीले जानकारी दिए। ‘आमा र दाइको शरीर जलेको छ,दाइ अलिअलि बोल्नु भएको छ,’हरिहरले पहिचानसँग भने,‘अहिले आइसियुमा राखेर उपचार भइरहेको छ।’ 

नेता भण्डारीको अनुहार, दुवै हात, दुवै गोडाहरूमा गरी २५ देखि ३० प्रतिशत शरीरको भाग जलेको अस्पतालले जनाएको छ। अस्पतालले विज्ञप्ति निकालेर भण्डारीकी आमा हरिकलाको जीउको अधिकांश भागमा गरी ७० प्रतिशत जलन भएको जनाएको छ। 

दुवै जनाको स्वासनलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिएको अस्पतालमा जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मी र मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले निकालेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ। 

हालको स्रोत र साधनको अवस्थामा उहाँहरूको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न चिकित्सकले सिफारिस गरेका छन्। थप उपचारका लागि भारत लैजाने बारेमा छलफल भइरहेको भाइ हरिहरले बताए। 

राजनीतिक दलका नेता एवं शुभचिन्तकहरू अस्पतालमै पुगेर काँग्रेसका युवा नेता गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चन्द्र भण्डारी र आमा हरिकला भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। 

काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राति नै कीर्तिपुरस्थित बर्न सेन्टर पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। काँग्रेस महामन्त्री गगन थापा, नेता प्रदीप पौडेललगायत नेता अस्पताल पुगेर भण्डारीलाई भेटेका छन्। 

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जालमा खाना पकाउने ग्यास दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारी र आमा हरिकला भण्डारी गम्भीर घाइते हुनुभएको घटनाले अत्यन्त मर्माहत बनाएको लेखेका छन्।

समाचार शेयर गर्नुहोस्
517
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.