निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

राष्ट्रपतिबाट आममाफी पाएका दुई जना चोरीको आरोपमा पक्राउ

राष्ट्रपतिबाट आममाफी पाएका दुई जना चोरीको आरोपमा पक्राउ

426
SHARES

काठमाडौं : प्रजातन्त्र दिवसको दिन राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका दुई जना चोरीको आरोपमा पक्राउ परेका छन्।

मकवानपुरका रेसम रुम्बा र धादिङका सागर तामाङ २०६९ जेठ २ गते ज्यान मुद्दामा जेल परेका थिए। ७ वर्ष कैदपछि २०७७ फागुन ७ गते प्रजातन्त्र दिवसको दिन राष्ट्रपतिबाट आममाफी पाएर छुटेका दुवै जना चोरीको आरोपमा पक्राउ परेका हुन्।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएको चोरीको आरोपमा प्रहरीले पाँचथर घर भई गोकर्णेश्वरका सुनचाँदी व्यवसायी ४३ वर्षीय राजकुमार योङ्या लिम्बू, धनकुटाका ३८ वर्षीय जीवन मगर, मकवानपुरका ४२ वर्षीय रेसम रूम्बा, धादिङका सागर तामाङ, सिन्धुपाल्चोकका पेम्बा लामा र मुस्ताङका डिमा वाङ्दी गुरुङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालका अनुसार पक्राउ परेकामध्ये रेसम रुम्बा, सागर तामाङ र योङ्या लिम्बु आपराधिक पृष्ठभूमिका हुन्। ती मध्ये लिम्बू गत असोज ३० गते सवारी अङ्गभङ्ग मुद्दा दर्ता भएर तारिखमा रहेको देखिएको एसपी रिजालले बताए।

प्रहरीका अनुसार गत पुस ७ गते बिहान करिब २ बजे काठमाडौं महानगरपालिका ६ बौद्ध फूलबारी स्थित सङ्गे लामाको घरको पूजा कोठाको झ्यालको ग्रिल फुटाई अन्दाजी ४२ लाख रुपैयाँ बराबरका सामानहरू चोरी भएको थियो।

यस्तै फागुन १ गते बिहान करिब साढे २ बजेको समयमा ललितपुर महानगरपालिका १६ पाटन घर भई हाल काठमाडौं ०६ बौद्ध स्तुपास्थित सुन चाँदी तथा विभिन्न धातुका ह्याण्ड क्राफ्ट पसल सञ्चालन गर्ने सुजन शाक्यको पसलको स्टोर रुमको ताला फुटाई सुन चाँदीसहित करिब ३५ लाख ५० हजार ९५० रुपैयाँ बराबरको सामान चोरी भएको थियो।

उनीहरूले चोरी गर्न जाँदा विभिन्न ब्रान्डका (एडिडास, रिबोक, पुमा आदि) महँगो ब्रान्डका कपडा, जुत्ता र क्याप टोपी प्रयोग गरेका थिए भने चोरी गरी सकेपछि हुलिया परिवर्तनका लागि ब्राण्डेड कपडा, जुत्ता र क्याप टोपी आदि परिवर्तन गर्ने गरेका थिए।

प्रहरीका अनुसार उनीहरूले नगद, सुन, चाँदी वा बहु मूल्य धातुहरू मात्र चोर्ने गरेका थिए भने चोरीका सामानहरू पाँचथर हिलिहाङ गा.पा. वडा नं–०४ घर भई हाल गोकर्णेश्वर नपा ५ मा बस्ने वर्ष ४३ को राज कुमार योङया लिम्बुले सोही स्थानमा सञ्चालन गरेको पाथीभरा सुन चाँदी पसलमा बिक्री गर्ने गरेका थिए।

पक्राउ परेका उनीहरूबाट २ लाख ४० हजार नगद, सुनको सिक्री, चोकर, मङ्गलसूत्र, चिमटि, पोते भएको थान–२१, चन्द्रमा थान–१, चाँदीको जस्तो देखिने सेतो धातुको तिब्बेतियन पूजाको भाडा बर्तनहरू बरामद गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, कोठाको ताल्चा फुटाउन, ग्रिल खोल्न प्रयोग गर्ने औजार फलामको रड ३ थानसमेत बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका ६ जनालाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिनको म्याद थप गरी प्रहरी वृत्त बौद्धबाट अनुसन्धान भइरहेको छ।

समाचार शेयर गर्नुहोस्
426
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.