निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रदेश १ : निषेधाज्ञा जारी गरेर कोशी नामकरण

प्रदेश १ : निषेधाज्ञा जारी गरेर कोशी नामकरण

759
SHARES

मोरङ : प्रदेश १ को बल्ल नामकरण भएको छ। अब प्रदेश १ को नाम कोशी रहने भएको छ। प्रदेशसभामा भएको मतदानमा दुई तिहाइभन्दा बढी मतबाट कोशी प्रदेशको प्रस्ताव पारित भएको सभामुख बाबुराम गौतमले घोषणा गरे।

प्रस्तावको पक्षमा ८२ र विपक्षमा ४ मत खसेको छ। मतदानमा ८६ जना सांसद सहभागी थिए।

प्रदेशको नाम कोशी राख्न नेकपा एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव पेस गरेका थिए। एमाले सांसदद्वय विदुर लिंथेप र निरन राईले समर्थन गरेका थिए।

कोशी प्रदेशको पक्षमा एमालेसहित केन्द्रमा नयाँ समीकरण गरेर सरकारमा जान माओवादी केन्द्रसँग गठबन्धन गरेको काँग्रेस, माओवादी र राप्रपाका सांसदले मतदान गरे।

काँग्रेस माओवादीसँगै गठबन्धन गरेको नेकपा एकीकृत समाजवादी भने एमाले सांसदको प्रस्तावमा सहमत भएन। समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रस्ताव गरेको किराँत–लिम्बुवान–सगरमाथा प्रदेश बहुमतले अस्वीकृत भएको थियो

मतदानमा जसपा कि सांसद निर्मला लिम्बू र राप्रपाकी सांसद सविना बजगाईँ मतदानमा सहभागी हुन पाएनन्। अन्य ४ जना सांसद पनि मत विभाजनमा अनुपस्थित थिए।

प्रदेशको सत्तारुढ एमाले र प्रतिपक्षी काँग्रेसबिच कोशी नाम पारित गर्ने सहमति भएको थियो। त्यसमा माओवादी केन्द्रले पनि समर्थन जनायो।

४ सांसद भएको एकीकृत समाजवादी र एक सांसद मात्र भएको जसपाले पहिचानको नाम दिएर ‘किरात लिम्बुवान सगरमाथा’ नामको प्रस्ताव दर्ता गरेका थिए।

उक्त प्रस्तावलाई प्रदेशसभाले अस्वीकृत गरिदिए पछि जसपाका एक मात्र सांसद एवं प्रदेश १ की स्वास्थ्यमन्त्री निर्मला तावाले धुरु धुरु रुँदै कोसी नामसँग सती गएरै नाम स्विकार्नुपरेको बताएकी थिइन।

मन्त्रीले रुँदै भावुकता प्रदर्शन गरेपछि प्रदेशसभा सचिवालय अगाडि प्रदेश १ को नाम पहिचानका आधारमा राख्नुपर्ने मागसहित पहिचान पक्षधरहरूले प्रदर्शन गरेका थिए। प्रदर्शन हुन सक्ने भन्दै अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लगाइएको छ।

विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरपर अर्को आदेश नभएसम्म निषेधाज्ञा आदेश जारी गरिएको छ। सभा, जुलुस, भेला, र्‍याली, धर्ना जस्ता कार्यहरू गर्न निषेध गरिएको छ।

समाचार शेयर गर्नुहोस्
759
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.