त्यो समाचार, जसले अँध्यारोमा सुत्केरी गराउँदा हुने जोखिम कम भयो

त्यो समाचार, जसले अँध्यारोमा सुत्केरी गराउँदा हुने जोखिम कम भयो

महिला मुक्तिका लागि आवाज बुलन्द बनाउने महिला पत्रकारहरू अझै पनि आफ्नै पेसामा भने चुनौतीका चाङमा बसेर सङ्घर्षरत छन्।

पत्रकार बसुन्धरा गौतमलाई एकल महिला, हिंसा पीडित महिलाका पक्षमा भएको आन्दोलनका बारेमा लेखे बोलेको आज पनि ताजै लाग्छ। २०६४।०६५ मा भएको त्यो आन्दोलन सफल बनाउन गौतम पत्रकारिताका माध्यमबाट सक्रिय भइन्। उनले एकल महिला भइसकेपछि समाजले कसरी हेर्छ भन्ने कुरा नजिकबाट देखेकी थिइन् र उनीहरूको न्यायका लागि आफ्नै मुद्दा सरह आन्दोलन सफल बनाउन लागिन्।

आन्दोलनरत महिलाहरू पुरुष पत्रकारभन्दा महिला पत्रकारसँग आफ्नो कुरा भन्न सक्थे। ‘म महिला हुँ। मेरो रोगका बारेमा महिला डाक्टरलाई जति सजिलोसँग भन्न सक्छु, पुरुष डाक्टरसँग त भन्न सक्दिनँ’, उनले विगतको आन्दोलन सम्झँदै भनिन्, ‘आन्दोलनका वेला पनि महिलाहरूले महिला पत्रकारसँग आफ्नो समस्या भन्नु र पुरुष पत्रकारसँग भन्नु त फरक पर्थ्यो नि।’

२०५८ सालदेखि पत्रकारिता सुरु गरेकी गौतमले महिलाका पक्षमा भएका आन्दोलनलाई सञ्चारमाध्यमबाट उठाइन्। राज्यलाई दबाब सिर्जना गर्न उनले उठाएका विषयहरूले सहयोग पुगेको उनको आफ्नै अनुभव छ।

तत्कालीन महेन्द्र अस्पताल (हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान)मा अँध्यारोमा महिला सुत्केरी हुने विषयलाई उनले स्थानीय रूपमा मात्र होइन, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीसम्म उठाइन्।

जसले गर्दा विदेशमा बस्ने नेपालीले अस्पतालमा सोलारको व्यवस्था गरे र अँध्यारोमा सुत्केरी गराउनुपर्ने बाध्यता हट्यो। ‘सुत्केरी हुनु पीडा मात्र होइन, जोखिम कति छ भन्ने पुरुष पत्रकारभन्दा मैले बुझेकी र भोगेकी छु’, गौतमले भनिन्, ‘त्यसले गर्दा पनि अस्पतालमा बत्ती अभावको कुरा प्राथमिकताका साथ उठाएँ। जसले अँध्यारोमा सुत्केरी गराउँदा हुने जोखिम कम भयो।’

अहिले गौतमलाई लाग्छ, सायद महिला पत्रकार नभएका भए यी मुद्दा सञ्चारमाध्यममा नआउन पनि सक्थे। आएका भए पनि प्राथमिकताका साथ नउठ्न सक्थे। महिलाका समस्याबारे महिलाले बुझेको हुँदा यी मुद्दालाई प्राथमिकताका साथ उठाएको गौतम बताउँछिन्।

गौतम घरको जिम्मेवारी, समाजको अपहेलित व्यवहार सहँदै न्यून पारिश्रमिकमा पत्रकारितामा लागिरहिन्। आफूले पत्रकारिता गरेको दुई दशकबिच उनलाई समाजको गति बदलिएको लागेको छ।

पत्रकार गौतम देशमा भएका ठुला आन्दोलनसँगै महिलाहरू पत्रकारितामा आउने वातावरण भए पनि यस क्षेत्रमा ठुलै सङ्घर्ष गर्नुपर्ने बाध्यता रहेको बताउँछिन्। अझै पनि महिलालाई पत्रकारिता क्षेत्रमै दोस्रो दर्जाका रूपमा हेरिने, सीप अनुसारको जिम्मेवारी सञ्चारमाध्यमले नदिने, न्यून पारिश्रमिकमा काम गर्नुपर्ने लगायत बाध्यता रहेको उनले सुनाइन्।

जसका कारण पुरुष पत्रकारका तुलनामा महिला पत्रकार निकै कम रहेको उनको बुझाइ छ। नेपाल पत्रकार महासङ्घ दाङमा २७३ जना पत्रकारमा महिला पत्रकार ६३ जना छन्। जुन कुल पत्रकारहरूको सङ्ख्यामा महिला पत्रकार करिब २३ प्रतिशत मात्र हो। महिलाहरू पत्रकारितामा अझै पुरुषसरह आउन सकेका छैनन्। आए पनि न्यून सङ्ख्यामा छन्।

……….

सक्रिय पत्रकारितादेखि अलि टाढा भएकी रिता लामाले करिब दुई दशक पत्रकारिता गरिन्। विद्यालय स्तरदेखि भित्ते पत्रिका निकाल्दा पत्रकारितामा लोभिएकी लामाले २०६३ सालदेखि सक्रिय पत्रकारिता सुरु गरेकी थिइन्। राष्ट्रिय समाचार समितिमा समेत काम गरेकी उनी हाल पत्रकारिता छाडेर एक परियोजनामा आबद्ध छिन्।

पत्रकारितादेखि टाढा हुनुको कारण बताउँदै उनले भनिन्, ‘जिम्मेवारी बढ्दै जाँदा सक्रिय पत्रकारिता गर्न नसकिने रहेछ।’ दोस्रो, तेस्रो जिम्मेवारी लिएर पत्रकारिता गर्दा पनि भनेअनुसार पारिश्रमिक नहुँदा केही समयलाई अलि टाढा भएको उनले बताइन्। ‘घरको चुलोदेखि अफिससम्मको जिम्मेवारी हामीलाई छँदै छ। पत्रकारितामा फेरि निश्चित समय भन्ने छैन’, उनले भनिन्, ‘सधैँ दौडधुप हुन्छ। अपडेट भइरहनुपर्छ। दोस्रो, तेस्रो जिम्मेवारीले अहिले पत्रकारितादेखि अलि टाढा हुनु परेको छ।’

लामा यस्ती पत्रकार हुन, जसले छोरी सानी हुँदा पनि पिठिउँमा छोरी र गलामा क्यामेरा बोकेर रिपोर्टिङ गरिन्। उनलाई न कार्यालयले बिदा बस भन्यो, न घर परिवारमा नै त्यो वातावरण भयो। जसले गर्दा छोरीका साथमै उनले समाचार लेखिन्। समाजलाई झकझकाइन् तर वातावरण अनुकूल नहुँदा पत्रकारिता छाड्नु परेको उनले बताइन्। ‘आफूमात्र बाँच्नु छैन, बिहेपछि छोराछोरी हुन्छन्। जिम्मेवारी थपिन्छ। घरको जिम्मेवारी अझै पुरुषले लिने भन्ने छैन’, उनले भनिन्, ‘अफिसमा कामको कुनै निश्चित समय नहुने, त्यसमा पनि न्यून पारिश्रमिकले समस्या भएपछि पत्रकारिता गर्न नसकिने रहेछ।’

पुरुष पत्रकार र महिला पत्रकारबिच अहिले पनि विभेद रहेको लामा बताउँछिन्। उनले महिला पत्रकारलाई मिडियाहरूले पनि स्थान दिन नचाहने प्रवृत्ति रहेको जिकिर गरिन्। ‘महिला पत्रकारको जति क्षमता भए पनि स्थान दिइँदैन। सामान्य रिपोर्टर नै बनाइन्छ’, लामाले भनिन्, ‘महिलाले केही गर्न सक्दैनन् भन्ने विभेदकारी सोच अझै छ।’

उनले पत्रकारिता पूरै छाड्न नसकिने बताइन्। ‘पत्रकारितादेखि केही समयलाई अलि टाढा भएकी हुँ। पूरै छाड्न सकिन्न’, ‘उनले भनिन्, ‘अब छिटै सक्रिय पत्रकारिता गर्छु।’ फेरि किन फर्किने भन्ने प्रश्नमा लामाले दशकौँदेखि पत्रकारितामा समय बिताएको भन्दै जानेको, बुझेको र अझै समाजमा रहेको बेथितिका विरुद्धमा बोल्न फर्किने तर्क गरिन्।

लामा र बसुन्धारा मात्र होइन, आधा दशकदेखि पत्रकारितामा रहेकी रमा नेपाली पनि पत्रकारितामा महिलालाई अझै पनि स्थान नदिने प्रवृत्ति रहेको बताउँछिन्। समाजमा महिला पत्रकारलाई पत्याइहाल्ने अवस्था नभएको उनको बुझाइ छ। उनी आफ्नो पेसाबाट आफू खुसी रहेको तर समाजकै दिग्गज व्यक्तिहरू महिला यस्तै हुन् भन्ने भ्रममा रहेको बताउँछिन्।

महिलालाई पत्रकारितामा कठिन हुने गरेको उनको बुझाइ छ। ‘अन्य पेसाजस्तो कुनै निश्चित समयमा मात्र काम गर्ने भन्ने पत्रकारितामा हुँदैन। कहिले साँझ, कहिले बिहान पनि डिउटी हुन्छ’, उनले भनिन्, ‘जतिवेला पनि घरबाट निस्किएपछि महिलामाथि प्रहार हुने गर्छ।’ महिलालाई अझै दोस्रो दर्जाका रूपमा हेरेर सोधिखोजी गर्ने सामाजिक प्रवृत्ति रहेको उनले बताइन्।

विभेदविरुद्धको लडाइँ जारी छ : उपाध्यक्ष आचार्य

नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशकी उपाध्यक्ष चुमा आचार्य पत्रकारितामा विभेद रहेको बताउँछिन्। यसै विभेदबिचमा मिडियासँग महिला पत्रकारको लडाइँ जारी रहेको उनले बताइन्। ‘अहिले पनि सक्षम महिलाहरूलाई मिडियाले नै प्रमुख तहमा जिम्मेवारी दिन सकिरहेका छैनन्। एउटा रिपोर्टर, वाचनका जिम्मेवारीमा सीमित गरिएको छ’, उपाध्यक्ष आचार्यले भनिन्, ‘अनि हामीले उठाएका विषयले प्राथमिकता पाउँदैनन्। पाए पनि कतै बीचमा थोरैमात्र पाउँछन्। त्यसैले अझै मिडियासँगै हाम्रो लडाइँ छ।’

मिडियामा हुने विभेदसँगै घरको जिम्मेवारीले महिलाहरू पत्रकारितामा निरन्तर रूपमा लाग्न नसकेको उनको भनाइ छ। आचार्य पत्रकारिता अहिले आफैँमा सक्षम नभएकाले पनि पत्रकारिता पेसा नै चुनौतीका रूपमा देखा परेको बताउँछिन्। ‘ठुला मिडिया बाहेक जिल्ला तहका साना मिडिया आफैँ सक्षम छैनन्’, उनले भनिन्, ‘मिडिया सक्षम नभएपछि पत्रकारिता पेसा नै चुनौतीका रूपमा रहेको छ। त्यसको असर महिला पत्रकारलाई अझ धेरै पर्छ।’

दुई दशकदेखि पत्रकारितामा रहेकी आचार्यले सरकारले महिला पत्रकारलाई भनेर छुट्टै योजना ल्याउनुपर्ने बताइन। ‘सरकारी तहबाट महिला पत्रकारका लागि योजनाहरू हुनुपर्छ’, उनले भनिन्, ‘महिला पत्रकारका लागि तालिम, फेलोसिप कार्यक्रमहरू भए नयाँ आउने पुस्ताका लागि सहज हुन्छ।’

चुनौतीसँगै अवसर

नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशकी उपाध्यक्ष आचार्यले पत्रकारितामा चुनौतीबिच पनि अवसर रहेको बताइन्। समाजको बनोटले आजसम्म पनि महिलालाई गरिने व्यवहार, हेरिने नजर विभेदकारी रहँदै आएको बताउँदै उनले यसबिच पनि महिला पत्रकारहरूलाई अवसर रहेको बताइन्।

आफ्नो विगत सम्झँदै दुई दशकअघिको जस्तो चुनौती अहिले नरहेको बताउँछिन् उनी। ‘म त बाँच्नकै लागि पत्रकारिता गरेकी हुँ’, आचार्यले भनिन्, ‘यही पेसाले अर्घाखाँचीबाट केही नलिएर आएकी मान्छे म आज बस्ने वास बनाएकी छु। छोराछोरी हुर्काएकी छु।’ उनले समाज परिवर्तन हुँदै गएको भन्दै यसमै थप सङ्घर्ष गर्न जरुरी रहेको बताइन्।

आचार्यलाई मात्र होइन, आधा दशकदेखि पत्रकारितामा रहेकी सुशीला ओली पनि पत्रकारितामा अवसर रहेको बताउँछिन्। रेडियो मध्यपश्चिम घोराहीमा कार्यरत ओलीले पत्रकारिताका माध्यमबाट समाज सेवा गर्न सकिने बताउँदै अहिले अर्को पेसाका बारेमा नसोचेको बताइन्। घरपरिवारको सहयोग भएमा पत्रकारिता गर्न सहज हुने अनुभव सुनाउँदै उनले बिहेपछि पनि कुनै अप्ठेरो नरहेको बताइन्।

पत्रकार रमा नेपाली पत्रकारितामा सम्भावना रहेको देख्छिन्। उनले महिला पत्रकारहरूले अरूले के भन्छ भन्दा पनि आफूले के गर्ने भनेर लाग्नुपर्ने बताइन्। ‘महिला पत्रकारहरूले पनि आफ्नो क्षमता विकासमा लाग्नुपर्छ। आफूलाई कमजोर सोचेर बस्नु हुँदैन’, उनले भनिन्, ‘समाज परिवर्तन गर्न त आफूबाट सुरु गर्नुपर्छ।’

(पत्रकार तपेन्द्र रोका मगरको यो समाचार फिचर प्रशिक्षार्थी पत्रकार लेखनवृत्तिका लागि नेपाल पत्रकार महासङ्घले युरोपियन युनियन र इन्टरनेशनल अलर्टको सहयोगमा प्रकाशन गरेको ‘सिक्दै…लेख्दै…सिक्दै’ बाट लिइएको हो)

गोपनीयताको संस्कारमा हुर्केको प्रशासनिक संयन्त्र

पत्रकार महिलालाई सबै क्षेत्रमा असुरक्षा

पत्रकार महिला : नाम छ, दाम छैन

विस्थापित हुँदै पत्रकार

न्यायिक निकायको विश्वसनीयतामा शङ्का

महिला पत्रकार : अवसरभन्दा चुनौती धेरै

सामाजिक सञ्जाल : परिवर्तनको संवाहक तर जोखिम उस्तै

सूचनाको हक : कानुनमा छ, व्यवहारमा छैन

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading