सामाजिक सञ्जाल : परिवर्तनको संवाहक तर जोखिम उस्तै

सामाजिक सञ्जाल : परिवर्तनको संवाहक तर जोखिम उस्तै

इन्टरनेटमा पहुँचमा भएका नागरिकले सार्वजनिक गर्ने धारणा कतिपय अवस्थामा परिवर्तनका माध्यम बन्न थालेका छन्। ‘नो रेमिटेन्स’ अभियानले नेपाल सरकार पूर्ववत् निर्णय कार्यान्वयन नगर्ने निर्देशन दिन बाध्य बन्यो।

सूचना तथा सञ्चारको युग पहिले जस्तो कटवाल कराउने अवस्थामा छैन। हरेक कुनाकाप्चाका सूचना सञ्चार हुन मिनेट नलाग्ने भएको छ। सत्य र गलत नै नछुट्टाई सामाजिक सञ्जालमा व्यक्त हुने धारणाले सरकारलाई नै हायलकायल पारिरहेको छ।

सरकारी मुख पत्रका रूपमा १९५८ बाट प्रकाशित हुँदै आएको गोरखापत्र होस् या राणा शासन अन्त्यपछि वि.सं. २००७ चैत २० गतेदेखि प्रसारण हुन थालेको रेडियो नेपाल मात्रै तत्कालीन अवस्थामा सूचनाका स्रोत थिए। वि.सं. २०४१ देखि नेपाल टेलिभिजन खुल्यो।

२०४६ सालको राजनीतिक परिवर्तनपछि निजी लगानीमा सञ्चारमाध्यम सञ्चालन हुन थाले। रङ्गिन कागजमा अक्षर प्रिन्ट भएर आउन थाले। रेडियोमा फाटेको टोपी र तुना गाँसेको चप्पल लगाउनेका आवाज बुलन्द हुन थाल्यो। जनताको आवाज मुखरित गर्न निजी लगानीका सञ्चारमाध्यमले सरकारी सञ्चारमाध्यमसँग प्रतिस्पर्धा गरे।

नेपालमा १० वर्षे सशस्त्र युद्ध अन्त्यपछि अनलाइन सञ्चारमाध्यम पनि सूचनाका स्रोत बने। अहिले आफ्नै अनलाइन नहुने कमै हुन थालेका छन्। मङ्सिर २९ गतेसम्म प्रेस काउन्सिल नेपालमा ३ हजार ७२१ अनलाइन न्युज पोर्टल सूचीकृत भएका छन्।

इन्टरनेटको पहुँच

विश्वमा इन्टरनेटको सुरुवात सन् १९६० को दशकमा भए पनि नेपालमा सन् १९८९ देखि भित्रिएको रेकर्ड छ। तत्कालीन राजकीय नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र नास्टले वि.सं. २०४८ मा इमेल सुरु गरेको थियो।

निजी क्षेत्रको मर्कन्टाइल कम्युनिकेसनले वि.सं. २०५१ सालदेखि व्यावसायिक इन्टरनेट सेवा प्रदान गर्न थालेको थियो। अहिले दर्जनौँ इन्टरनेट सेवा प्रदायक कम्पनीले आफ्नो सेवा सहरसँगै ग्रामीण क्षेत्रमा पुर्‍याएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनअनुसार असार मसान्तसम्म एक करोड फोरजी प्रयोगकर्ता, एक करोड २८ लाख थ्रीजी प्रयोगकर्ता सहित कुल इन्टरनेट सेवा लिने ग्राहकको सङ्ख्या तीन करोड नाघेको छ। २०७८ को जनगणनाभन्दा धेरै सङ्ख्या इन्टरनेट प्रयोग गरेको तथ्याङ्कमा देखिन्छ।

हरेक देशका सरकार प्रविधि विकासमा प्रतिस्पर्धा गरिरहेका छन्। सञ्चार सूचना तथा प्रविधि मन्त्रालयले ९५ प्रतिशत निर्णय अनलाइनबाट गर्न थालेको छ। कागज प्रयोगमा हुने खर्च प्रविधिमा गरेको मन्त्रालयले टिप्पणी उठाउनेदेखि सदर गर्ने काम अनलाइनबाट गरेको जनाएको छ।

सार्वजनिक सेवा प्रवाह सहज बनाउने प्रयासमा अनलाइन प्रणाली आत्मसात् गर्न थालिएको पनि दशक नाघेको छ। सफ्टवेयरमा आउने खराबीसँगै सुरक्षा जोखिम पनि यसमा उत्तिकै छ। मोबाइल बैङ्किङका कारण नोटको कारोबार कम हुन थालेको छ। यसमा पनि ह्याक हुने लगायतका समस्या छन्।

इन्टरनेटबाटै सन् २००४ फेब्रुअरी ४ मा मार्क जुकरबर्गले हार्वर्ड विश्वविद्यालयका विद्यार्थी बिच एकापसमा जोडिन सुरु गरेको फेसबुक सूचना, जानकारी, मनोरञ्जन र विचार पोख्ने थलो बनेको छ।

ट्विटरका वर्तमान मालिक एलेन मस्कले भने सन् २०२२ मा १ खर्ब ६५ अर्ब डलर सम्पत्ति गुमाएका छन्। विश्वमा धेरै सम्पत्ति गुमाउने व्यक्तिका रूपमा उनले विश्व कीर्तिमान कायम गरे। नेपालका मिडियामा मस्कले सम्पत्ति गुमाएको समाचार बन्यो।

कुस्त नाफा कमाउन सामाजिक सञ्जाल ट्विटर खरिद गरेका मस्कले प्रयोगकर्ताबाट शुल्क उठाउने योजना कार्यान्वयन गर्न खोजेका थिए। उनको योजना कार्यान्वयनमा आउनुअघि नै फेल खायो। त्यसकै परिणाम स्वरूप उनले त्यत्रो सम्पत्ति गुमाए।

परिणाम स्वरूप उनले लगानी गरेको विद्युतीय कार निर्माता कम्पनी टेस्लाको सेयरमा गिरावट आयो। ट्विटर खरिद गरेदेखि नै उनले ल्याएका परिवर्तनको आलोचना भयो। प्रविधिको प्रयोग गरेर जीविकोपार्जन गर्नेदेखि मनग्गे पोको पार्नेसम्मको व्यावसायिक पारोमिटर पनि अहिले बरफ जमेजस्तै जमेको टिप्पणी हुन थालेको छ।

परिवर्तनको जाल

सामाजिक सञ्जालमा चलेको ‘नो रेमिटेन्स’ अभियानका कारण नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गतेबाट लागु गर्ने भनेको एमडिएस हाललाई स्थगित गर्न बाध्य हुनु परेको छ। सरकारको निर्देशनपछि ‘नो रेमिटेन्स’ अभियान पनि रोकिएको छ।

यात्रुले दुई वटा मोबाइल निःशुल्क कर नतिरी ल्याउन पाउने भएका छन्। सामाजिक सञ्जालमा बेथिति, अत्याचार, अन्याय, भ्रष्टाचारको विषयमा आवाज उठ्न लागेको धेरै भएको छैन। पहिले टाढा रहेका आफन्तसँग सम्पर्क गर्ने माध्यम पत्र मात्र थियो।

समयसँगै अहिले परिवर्तन आएको छ। जो कोहीले आफ्नो हातमा रहेको स्मार्ट फोनबाट सूचनासँगै आफ्ना विचार निर्धक्क राख्न सक्ने भएका छन्। समाजका हरेक घटना र गतिविधिमा स्वतन्त्र सञ्जालमा विचार आउने गरेको छ। यसले नागरिक समाजलाई सर्वसाधारणको धारणा बुझ्न सजिलो भएको छ।

सञ्चारमाध्यमलाई पनि सञ्जालमा आउने सूचना, विचारले पाठकले कुन विषयवस्तु खोजेका छन् भन्ने पहिचान गर्न मद्दत गरेको छ। अहिले राजनीति, सामाजिक, आर्थिक लगायत जुनसुकै विषयमा हरेक तप्काका व्यक्तिले सञ्जालमा आफ्नो धारणा बनाउने गरेका छन्। राज्यले प्रवाह गर्ने सेवा, सेवा पाउँदाका ढिलासुस्ती, बेथिति, भ्रष्टाचार, कु–संस्कारसँगै नयाँ ठाउँको जानकारी दिन सामाजिक सञ्जाल नै प्रयोग भइरहेको छ।

मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिलले दैनिक जसो स्वास्थ्यसँग सम्बन्धित जानकारी सञ्जालमा राख्ने गरेका छन्। डा. अनिलले दिने सरल, सचित्र र बुँदागत जानकारी उपयोगी पाइएको डा. अनिलको सामग्री नियमित अध्ययन गर्ने सुरज राकशको बुझाइ छ। दश लाखभन्दा बढी फेसबुक पेज लाइक भएका डा. अनिलले विश्व स्वास्थ्य सङ्गठनको रिपोर्टलाई उद्धृत गदै एउटा पोस्ट गरे, ‘खानामा बढी नुन र चिनीको प्रयोगले मुटु रोग, मस्तिष्कघात, मधुमेह र क्यान्सरको जोखिम बढ्छ।’

डा. अनिलको सामग्री समेटेर काठमाडौं पोस्टले ७ जनवरी २०२३ मा एउटा समाचार पस्केको छ, एउटा डाक्टर जसले सामाजिक सञ्जालबाट स्वास्थ्य चेतना फैलाउँदै भनेर। अन्य क्षेत्रको जानकारी जो कोहीबाट पाए पनि मानिसलाई दैनिक जीवनयापनमा प्रयोग हुने स्वास्थ्य सामग्री सञ्जालमा पाउँदा स्वास्थ्यप्रति सचेतना बढ्ने गरेको छ।

अझै पनि कतिपय चिकित्सकले सेवाग्राहीसँग प्राविधिक भाषा प्रयोग गर्दा बुझाइमा कठिनाइ हुने गरेको रुपन्देहीमा व्यवसाय गर्ने आशिष् श्रेष्ठ बताउँछन्। अर्का मानसिक रोग विशेषज्ञ डा. कल्याण सुवेदी पनि सञ्जालमा आफ्नो क्षेत्रका विभिन्न सामग्री बनाएर पस्किने मध्येमा पर्छन्।

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय सञ्जालमा निकै सक्रिय छन्। उनले नयाँ सरकार गठनसँगै राहदानीको सफ्टवेयरमा आएको खराबीलाई ‘कर्मचारीको बदमासी’ भनेर जोडेका थिए। उनले लेखे, ‘कति सम्म उल्लु बनाउँदै लुट्न सकेका होलान्।

५० लाखभन्दा बढीले चलाउने दैनिक अर्बौको ट्रान्जेक्सन हुने शेयर कम्पनी, टिएमएस, मेरो सेयर वा बैङ्कहरूको वेबसाइट सिस्टम कहिल्यै ह्याक हुँदैन। तर, जाबो ५/१० हजार जनाको इन्ट्री हुने पासपोर्ट, लाइसेन्सको चाहिँ घरीघरी साइट चलेन, सर्भर ब्रेकडाउन, ओभरलोड भयो भन्दै दुःख दिइन्छ, लुटिन्छ।’

‘साँच्चै भए त सर्भर र सफ्टवेयरको ठेक्का लिने कम्पनीहरूलाई कठालो समातेर कारबाही गरे सबै ठिकठाक हुन्छ नि तर त्यो गर्ने कसले?’, उनले प्रश्न गरेका छन्। हरेक क्षेत्रका व्यक्तिले सामाजिक सञ्जालमा प्रस्तुत गर्ने विचार नागरिक समाज र सञ्चारमाध्यमका लागि पनि उपयोग हुने गरेका छन्।

समाजमा विभिन्न क्षेत्रमा चर्चित व्यक्तिसँगै सर्वसाधारणले पनि आफ्नो भावना विचार प्रस्तुत गरेको पाइन्छ। यसरी विभिन्न कोणबाट आउने भावनाले सम्बन्धित व्यक्तिलाई सुध्रिने मौका समेत मिल्छ। सामाजिक सञ्जालमा चर्को विरोध भएपछि एमडिएस हाललाई स्थगित गर्ने दूरसञ्चार प्राधिकरणको पछिल्लो निर्णय उदाहरण बनेको छ।

चिन्ता त्यतिकै

प्रविधिको विकाससँगै तत्क्षण सूचना पाउन सञ्चारमाध्यमको भर पर्ने अवस्था हट्ने चिन्ता व्यक्त हुन थालेको छ। पत्रपत्रिका, रेडियो, टेलिभिजनलाई अनलाइन सञ्चारमाध्यमले उछिनेका दाबी सुन्न थालिएको छ। समाचारको विश्वसनीयता भने अनलाइन सञ्चारमाध्यमले लिन सकेका छैनन्।

एउटाले छोडेको विषय अर्कोले उठाउँदा अनेकतामा विविधता देखिने गरेको छ। सरकारी सञ्चारमाध्यम गोरखापत्रले नारायणहिटी सङ्ग्रहालयमा प्रवेश गरेको बतास समूहलाई कानुनी र व्यवहारिक ज्ञान दिलाइदियो। राज्य संयन्त्रलाई कब्जामा लिएर बतास जस्ता समूहले गर्ने अनियमितताको खोजी गरेर पोल खोल्ने उदाहरणीय काम गोरखापत्रले गर्‍यो।

सामाजिक सञ्जालमा आउने सूचना, जानकारी सबै उपयोगी नै हुन्छन् भन्ने छैन। एउटा उद्देश्य राखेर सामग्रीमा क्लिप गर्दा अर्को फन्दामा पनि पर्न सकिने जोखिम छ। २०७९ साल जेठ र पुसका दुई घटनाले सामाजिक सञ्जालकै कारण ठगीमा परेर हरिबिजोग भएको देखाउँछ।

सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न काठमाडौं महानगरपालिका–१७ कालधारा सोह्रखुट्टे बस्ने दोलखा सैलुङ गाउँपालिका–८ शैलुङ्गेश्वरी ठेगाना भएका ३५ वर्षीय उत्सव श्रेष्ठ पक्राउ परे।

सामाजिक सञ्जाल ह्वाट्सएप, इमो, बोटिम, भाइवरको दुरुपयोग गरी पीडितहरूलाई आफू कम्बोडियास्थित क्यासिनोमा काम गर्ने व्यक्ति हो, अमेरिकाबाट सञ्चालन भएको लटरीमार्फत ६ लाख २७ हजार ६११ डलर परेको छ र उक्त रकम पाउन भ्रमपूर्ण म्यासेज पठाई विश्वासमा पारी नेपालमा रहेका विभिन्न व्यक्तिहरूको बैङ्क खातामा रकम जम्मा गर्न लगाई नगद २८ लाख ७९ हजार रुपैयाँ रकम ठगी गर्ने कार्यमा संलग्न उनलाई पक्राउ गरेको विवरण नेपाल प्रहरीले गत जेठमा सार्वजनिक गरेको थियो।

२०७९ पुस २७ मा प्रहरीले सामाजिक सञ्जालमा आकर्षक तलबमा फ्रान्स, स्वीजरल्याण्ड लगायतका देशमा रोजगारीको अवसर रहेको भन्दै विज्ञापन गरी ठगी गर्ने सुर्खेत भेरीगंगा नगरपालिका–३ घर भई काठमाडौं नागार्जुन नगरपालिका–४ रानीपाटी बस्ने २३ वर्षीय मनम घर्तीलाई पक्राउ गर्‍यो।

फेसबुक, ह्वाट्सएप, इमो जस्ता एपहरूको दुरुपयोग गरी आकर्षक तलबमा विकसित देशहरूमा रोजगारीको अवसर रहेको भन्दै विज्ञापन राखी सम्पर्कमा आएका व्यक्तिहरूसँग बैङ्क खातामा रकम जम्मा गर्न लगाई पीडितहरूकै नागरिकता तथा राहदानी समेतका कागजातहरूको प्रतिलिपि मोबाइल सेवा प्रदायक कम्पनीहरूमा पेस गरी सिम डुप्लिकेसनको माध्यमबाट पीडितहरूकै मोबाइल बैंकिङमा पहुँच पुर्‍याई रकम अन्यत्र ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न उनी पक्राउ परे।
यी दुई घटनाले पनि सामाजिक सञ्जालमार्फत ठगीमा पर्ने जोखिम भने देखिएको छ। त्यसैले सञ्जालहरूको प्रयोग गर्दा सचेतना अपनाउन जरुरी छ।

(पत्रकार प्रविण गाहको यो समाचार फिचर प्रशिक्षार्थी पत्रकार लेखनवृत्तिका लागि नेपाल पत्रकार महासङ्घले युरोपियन युनियन र इन्टरनेशनल अलर्टको सहयोगमा प्रकाशन गरेको ‘सिक्दै…लेख्दै…सिक्दै’ बाट लिइएको हो।)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading