इजरायलमा मर्मत सकेर काठमाडौँ आइपुग्यो निगमको जहाज

इजरायलमा मर्मत सकेर काठमाडौँ आइपुग्यो निगमको जहाज

काठमाडौँ : नेपाल वायुसेवा निगमको जहाज इजरायलमा मर्मत सम्भार सकी काठमाडौँ आइपुगेको छ। निगमको 9N-AKX जहाज मर्मत पश्चात् इजरायलबाट दुबई हुँदै शनिवार बेलुकी ९ः५६ बजे काठमाडौँ अवतरण भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

एउटा इन्जिनमा प्राविधिक समस्या आएपछि जहाज इजरायलस्थित नियमानुसार छनौट भएको Maintenance and Repair Organization- MRO मा मर्मत भइरहेको थियो। निगमका अनुसार मर्मतको क्रममा आवश्यक प्राविधिक जाँच पड्ताल गर्दा अन्य प्राविधिक समस्याहरूको अलावा इन्जिन भित्रको ३१ वटा ब्लेड पुरै फेर्नुपर्ने देखिएको थियो।

निगमका सम्बन्धित इन्जिनियरहरू एवं प्राविधिकहरूको प्रतिवेदन अनुसार सोसँग सम्बन्धित पार्टपुर्जाहरूको बजारमा अभाव भएको तथा युद्ध प्रभावित क्षेत्र भएको कारण आपूर्तिमा कठिनाइ भई मर्मत सम्भार कार्यमा केही ढिलाइ हुन पुगेको निगमले जनाएको छ।

MRO तथा निगमको वर्तमान नेतृत्व, प्राविधिक तथा अन्य सम्बन्धित कर्मचारीहरूको लगातारको अथक प्रयासबाट युद्ध प्रभावित क्षेत्र भएको अवस्थामा समेत इन्जिनको सकेसम्म छिटो मर्मत गराई जहाज उडान योग्य भएको प्रवक्ता पौडेलले बताए।

उक्त जहाज पूर्व निर्धारित समय अनुसार २०८१ वैशाख १० गते नै मर्मत सकी उडान भर्ने तालिका रहेको तर पछि Landing Gear को Alternate Braking System मा प्राविधिक समस्या देखिएकोले सोको लागि चाहिने पार्टपुर्जा सम्बन्धित आपूर्ति कर्ता M/S A.J. Walter मार्फत अमेरिकाको मायामीबाट इजरायलमा ल्याई जडान गरी उडानयोग्य बनाउन केही ढिलाइ हुन पुगेको हो।

निगमले इजरायल स्थित नेपाली राजदूतावासबाट भएको सहयोग र समन्वयको लागि आभार प्रकट गरेको छ। जहाजको इन्जिन मर्मतमा ढिलाइ हुन गएको विषयलाई गम्भीरतापूर्वक अध्ययन विश्लेषण गरी सम्झौता अनुसार आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।

मर्मत पश्चात् निगमको जहाज नियमित उडानमा आएपछि यात्रुहरूको माग र बजार चापलाई अझ सशक्त ढङ्गले सम्बोधन हुने निगमका प्रवक्ता पौडेलले बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading