लगानी सम्मेलन : विदेशीलाई रेड कार्पेट, काँग्रेस झल्याँस्स

लगानी सम्मेलन : विदेशीलाई रेड कार्पेट, काँग्रेस झल्याँस्स

काठमाडौं : सरकारले तामझामका साथ काठमाडौँमा लगानी सम्मेलन गर्दै छ। विदेशी लगानी कर्तालाई रेड कार्पेट बिछ्याएर आयोजना हुन लागेको सम्मेलनका लागि ५५ भन्दा बढी देशका लगानीकर्ता काठमाडौँ आएका लगानी बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायले जानकारी दिए।

विदेशी लगानीकर्ता आफैँले बुक गरेको होटेलमा बास बसेका छन्। ‘५५ भन्दा बढी देशका लगानी कर्ता काठमाडौं आएका छन्,’प्रवक्ता उपाध्यायले पहिचानसँग भने,‘उहाँहरु आफैँले बुक गरेको होटेलमा बस्नु भएको होला।’

सबैभन्दा धेरै चीनबाट दुई सय ६५ जना सम्मेलनमा सहभागी हुन काठमाडौं आएका छन्। भारतबाट एक सय ४३ जना लगानीकर्ता सम्मेलनमा सहभागी हुने बोर्डले जनाएको छ। अमेरिकाका ३३, जापानका २८, बेलायतबाट १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सम्मेलनमा सहभागी हुँदै छन्।

दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका ९÷९ जना सम्मेलनमा सहभागी हुन लागेका बोर्डले जनाएको छ। पाकिस्तानबाट ८, सिङ्गापुरबाट ६, कतार र घानाबाट ५/५, साउदी अरब, फ्रान्स र बहराइनबाट चार/चार जनाको सहभागिता रहने छ।

स्विजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलङ्का र कोलम्बियाका तीन/तीन जना सम्मेलनमा सहभागी हुनेछन्। फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट दुई/दुई जना सम्मेलनमा सहभागी हुने सुनिश्चित भएको छ।

आयरल्यान्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरक्को, टर्की, भानुआटु, मौरिटानिया र हङकङबाट पनि सम्मेलनका सहभागी हुने सुनिश्चित भएको बोर्डले जनाएको छ। लगानी बोर्डका अनुसार नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भएको छ।

सम्मेलनका लागि एक सय ५० आयोजना सोकेसमा राखिँदै छन् भने सम्मेलनस्थलमा २३ प्रदर्शनी कक्ष (स्टल) राखिनेछन्। एक सय ५० परियोजना प्रस्तुत हुने सम्मेलनमा १९ परियोजनाका लागि आशयपत्र आह्वान गर्न लागिएको छ। पहिलो दिन उद्घाटन सत्र र दुई वटा मुख्य सत्र रहेका छन्। त्यस्तै, दोस्रो दिन ११ समानान्तर सत्र सञ्चालन हुनेछन्।

काँग्रेस झल्याँस्स

नेपाली काँग्रेस भने लगानी सम्मेलन सुरु हुने अघिल्लो दिन मात्रै झल्याँस्स भएको छ। सरकार र प्रमुख प्रतिपक्षी खुट्ट्याउन मुश्लिक परेको काँग्रेस मन्त्रिपरिषद्ले ५ दिन अघि निर्णय गरेर शुक्रवार मात्रै राष्ट्रपति कार्यालयमा सिफारिस गरेको अध्यादेशबारे बोलेको छ।

स्वार्थ नमिले पछि काँग्रेसले अध्यादेशको विरोध गरेको आरोप लाग्न थालिसकेको छ। सामाजिक सञ्जालमा काँग्रेसले ताली भन्दा धेरै गाली खाएको छ। प्रतिपक्षीको कर्तव्य सरकारलाई खबरदारी गर्ने हो। तर, काँग्रेसका नेताहरू पार्टीलाई नै बदनाम गराउने गरी स्वार्थ नमिले मात्रै विरोध गर्ने नीति लिएर बसेको आरोप लागेको छ।

सरकारमा हुँदासम्म अर्थतन्त्र सकारात्मक बनेको दाबी गर्ने काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्रीबाट गलहत्त्याइए पछि अर्थतन्त्र बिग्रेको बताउन थालेका छन्। महत दुईथरी कुरा गर्ने नेताहरूमा एक जना उदाहरण मात्रै हुन्।

जनताको मन जित्ने भन्दा पनि सत्ता र शक्तिकै ध्याउन्नमा लाग्ने नेताहरूका कारण जनता आजित भैसकेका छन्। गत चुनावमा जनताले मत बदलेर झिनो सङ्केत दिएका छन्। संसद्मा काँग्रेस पहिलो दल बनेको छ। तर, सरकारलाई खबरदारी गर्ने काममा भने काँग्रेसका नेताहरूले स्वार्थ हेरेको आरोप लागेको छ।

गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गरेको काँग्रेसलाई सरकारले संसद् अधिवेशन अन्त्य गरेर जिल्ल पारिदिएको छ। सरकारले ५ दिनसम्म प्रतिपक्षीको प्रतिक्रिया कुरेर बस्दा निदाएको काँग्रेस राष्ट्रपति कार्यालयमा अध्यादेश पुगिसकेपछि झस्किएको हो।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अध्यादेश सिफारिस गर्नु संविधानको नै अपव्याख्या हो भनेका छन्। लगानी सम्मेलन सुरु हुने अघिल्लो दिन शनिवार काँग्रेसले लगानी सहजीकरण सम्बन्धी अध्यादेशको विरोध गर्नुलाई ‘म कुटे जस्तो गर्छु, त रोए जस्तो गर्नु’ भने जस्तै भएको टिप्पणी समेत भएको छ।

लगानी सम्मेलनको तयारी काँग्रेसकै प्रवक्ता महत अर्थमन्त्री हुँदा सुरु भएको हो। त्यति बेलै संसद्मा विधेयक लान नसकेका निर्वतमान अर्थमन्त्री महतले राष्ट्रपति कार्यालयमा पुगेको अध्यादेश स्विकार्न नसकिने प्रतिक्रिया दिए।

राष्ट्रपति कार्यालयमा पुगेको अध्यादेश शनिवार बिदा परेकाले अध्ययन भएको छैन। आइतबार बिहान काठमाडौँमा लगानी सम्मेलन सुरु हुँदा अध्यादेश जारी भइसक्ने देखिएको छैन।

कार्यालय समय १० बजेपछि मात्रै खुला हुँदा लगानी सम्मेलन ९ः३० मै सुरु गर्ने तयारी छ। सम्मेलनलाई लक्षित गरेर जारी गर्न सिफारिस गरेका अध्यादेश राष्ट्रपति कार्यालयमा थन्किने देखिएको हो।

लगानी सहजीकरणका लागि सरकारले शुक्रवार कार्यालय समय सकिने बेलामा मात्रै अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपति कार्यालयले अध्ययन गर्नु पर्ने भनेकाले आइतबार नै अध्यादेश जारी हुने सम्भावना नदेखिएको राष्ट्रपतिको कार्यालय स्रोतले बताएको छ।

काँग्रेसले अध्यादेशको विरोध गरिरहँदा लगानी सम्मेलनकै विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ। पुँजी बजार सङ्घर्ष समितिले शनिवार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेर स्वदेशी लगानीकर्ताको सुरक्षा गर, नसके बन्द गर भन्ने नारा लगाएको छ। सेयर लगानीकर्ता सङ्घका महासचिव सुरज खड्काले सरकारको लगानी सम्बन्धी नीति के हो? भनेर सोधेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading