उपेन्द्रलाई सरकारबाट आउट गर्ने सङ्केत

उपेन्द्रलाई सरकारबाट आउट गर्ने सङ्केत

काठमाडौं : जनता समाजवादी पार्टी जसपाका अध्यक्षद्धवय अशोककुमार राई र उपेन्द्र यादवबीच वाक युद्ध चलेको छ। गैरकानुनी रूपमा पार्टी दर्ता गरेको उपेन्द्रको आरोपमा अशोकले संवैधानिक रूपमा नै दर्ता भएको काउन्टर जवाफ दिएका छन्।

राईले यादवलाई अस्थिरता निम्त्याउने कारक भनेका छन्। देशलाई अस्थिरतातर्फ लैजाने प्रयास भएपछि नयाँ दल खोलेको राईले जिकिर गरेका छन्।

सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका यादवले गठबन्धन तोड्ने सङ्केत गरे पछि पार्टी नै दुई चिरा परेको हो। राई नेतृत्वको जसपामा बहुमत सांसद छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राई नेतृत्वको जसपालाई सरकारमा सहभागी गराउने सङ्केत दिएका छन्। अहिले मन्त्रिपरिषद्मा २२ मन्त्री र एक राज्यमन्त्री छन्। संविधान अनुसार मन्त्रिपरिषद् २५ सदस्यीय हुनेछ।

अब प्रधानमन्त्रीले दुई मन्त्री थप्न सक्नेछन्। तर, प्रधानमन्त्री प्रचण्डले गठबन्धन तोड्न लागेका उपेन्द्रलाई नै सरकारबाट आउट गर्न सक्ने सम्भावना रहेको प्रचण्ड निकट स्रोतले बताएको छ।

१२ सांसद रहेको जसपामा ७ जना राई तिर लागेका छन्। उपेन्द्रसँग जम्मा ५ सांसद मात्रै छन्। राई नेतृत्वको पार्टीलाई सरकारमा सामेल गराउने प्रधानमन्त्री प्रचण्डले तयारी गरिरहेका बेला नयाँ जसपाका अध्यक्ष राईले भने कसैसँग लेनदेन गरेर नभई सैद्धान्तिक मतभिन्नताका आधारमा पार्टी विभाजन गरेको प्रस्टीकरण दिएका छन्।

राई नेतृत्वको जसपाले मधेस प्रदेशबाट उपेन्द्रलाई सत्ता च्युत गराउने योजना बनाएको छ। केन्द्रमा जस्तै प्रदेशमा पनि आफूहरूको बहुमत पुग्ने दाबी नयाँ जसपाले गरेको छ।

राई नेतृत्वको जसपाका महासचिव मोहम्मद इश्तियाक राईले केन्द्रमा झैँ मधेस प्रदेश सरकारमा पनि आफूहरूकै नेतृत्वका सांसदहरूको बहुमत हुने दाबी गरे।

अहिलेको सत्ता गठबन्धन ढाल्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले एकीकृत समाजवादी र जसपालाई ठुलै अफर गरेको चर्चा चलेपछि जसपा विभाजन भइसकेको छ।

तर, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अर्को सत्ता गठबन्धन बन्ने निश्चित नभएसम्म आफ्नो पार्टी प्रचण्ड सरकारमै रहने बताएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अध्यक्ष माधवकुमार नेपालसँगै प्रधानमन्त्री प्रचण्डलाई भेटेका उनले अर्को गठबन्धन बन्ने निश्चित भए पछि मात्र वर्तमान सरकारबाट बाहिरिने घुमाउरो जवाफ दिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading