बजेट अधिवेशनको सम्भावित कार्यसूची सार्वजनिक

बजेट अधिवेशनको सम्भावित कार्यसूची सार्वजनिक

काठमाडौं : सङ्घीय संसद्को बजेट अधिवेशन शुक्रवार सुरु हुँदैछ। दिउँसो २ बजे बस्ने सङ्घीय संसद् बैठकको सम्भावित कार्यसूचीको तयारीमा सचिवालय जुटेको छ।

बजेट अधिवेशन अवरोध विना सञ्चालन गर्न सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित राजनीतिक दलका शीर्ष नेताहरूसँग एक चरण छलफल सकेका छन्।

सहकारीको रकम अपचलनमा रुपन्देही जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्र अनुसार प्रतिवादी नबनाइएका रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग काँग्रेसले गरेको छ।

अभियोग पत्रमा उपप्रधान तथा गृहमन्त्री लेखिएको छैन। रवि लामिछाने मात्रै लेखिएको छ। उनको खातामा २ करोड रुपैयाँ जम्मा भएको देखिएको छ। उपप्रधान तथा गृहमन्त्री भएकै कारण उनीमाथि मुद्दा चलाउन प्रहरी डराएको काँग्रेसको आरोप छ।

सभामुखले प्रधानमन्त्रीसहित राखेर गरेको पहिलो छलफल निष्कर्षविहीन बने पनि अर्को छलफल गरेका छैनन्। संसद् बैठक आव्हान हुने अघिल्लो दिनसम्म काँग्रेस संसदीय समिति गठनको मागबाट पछि हटेको छैन।

गृहमन्त्री लामिछानेले सहकारीको रकम अपचलनबारे संसद्मा बोल्न पाउनुपर्ने पत्र सभामुखलाई बुझाएका छन्। तर, काँग्रेसले लामिछानेलाई संसद्मा बोल्न दिने नदिने निर्णय गरेको छैन। काँग्रेस पूर्व केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्थानीय विकास पूर्व मन्त्री सूर्यमान गुरुङको निधनका कारण शोकमा छ।

स्वर्गीय गुरुङप्रति सम्मान प्रकट गर्दै काँग्रेसले वैशाख २७, २८ र २९ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने निर्णय काँग्रेसले गरेको छ। वैशाख २८ गते शुक्रवारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने निर्णय काँग्रेसको छ।

संसद् अधिवेशनको पहिलो दिन राष्ट्रपति कार्यालयबाट अधिवेशन आव्हानसम्बन्धी पत्र सभामुख घिमिरेले सुनाउने र गुरुङको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गर्ने तयारी छ। तर, कार्यसूचीमा भने शोक प्रस्ताव राखिएको छैन।

सचिवालयले बिहीबार नै सङ्घीय संसद् बैठकको सिट व्यवस्थापन गरिसकेको जनाएको छ। संसद्को बजेट अधिवेशनमा एक दल र एक सांसदको उपस्थिति पहिलो पटक हुँदैछ।

१२ सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) का ७ सांसद एकातिर र ५ सांसद अर्कोतिर भएर बस्नेछन्। अशोक राईको पक्षमा ७ सांसदले हस्ताक्षर बुझाए पछि संसद् सचिवालयले छुट्टै सिट व्यवस्थापन गरिसकेको छ।

दिवङ्गत संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ प्रतिनिधिसभाको बैठकमा पहिलो पटक सहभागी हुदैछन्। उनी वैशाख १५ गते भएको उपनिर्वाचनमा इलामबाट निर्वाचित भएका हुन्। संसद्मा अब २७४ सदस्य कायम छन्। टोपबहादुर रायमाझी भने निलम्बन परेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading