चल सम्पत्ति धितो राखेर पनि ऋण लिन पाइने

चल सम्पत्ति धितो राखेर पनि ऋण लिन पाइने

काठमाडौं : घर, जग्गाबाहेक चल सम्पत्ति धितो राखेर पनि बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन पाइने गरी कानुन बन्ने भएको छ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले बुधवार पारित गरेको ‘सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० सम्बन्धी प्रतिवेदन’ मा अचल सम्पत्तिबाहेकको मूर्त वा अमूर्त सम्पत्तिलाई चल सम्पत्तिको परिभाषामा राखिएको छ।

सिंहदरबारस्थित समितिको सभाहलमा बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले यसअघि बैङ्क तथा वित्तीय संस्थाले अचल सम्पत्ति मात्र धितो राखेर ऋण दिने गरेकामा यो ऐन लागू भएपछि चल सम्पत्ति पनि धितो राख्न सकिने जानकारी दिए।

पहिलो पटक ०६३ सालमा सुरक्षित कारोबार ऐन आएको थियो। तर, ऐनको प्रभावकारी कार्यान्वयन नभएपछि सरकारले गत ४ चैतमा अर्थ मन्त्रालयमार्फत राष्ट्रियसभामा ऐनको पहिलो संशोधन विधेयकसम्बन्धी प्रस्ताव दर्ता गराएको हो।

अब पशु, कृषि बाली तथा कृषिजन्य उत्पादन, उक्त उत्पादनबाट तयार पारिएको खाद्यवस्तु र उत्खननका लागि अनुमति लिइएको खनिज पदार्थसमेत धितो राखेर ऋण लिन सकिने छ।

समितिकी सभापति जयन्तीदेवी राईले सरलीकृत रूपमा कर्जा लिएर साना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यवसायीलाई सहज होस् भन्ने उद्देश्यका साथ विधेयक आएको जानकारी दिइन।

अब यो विधेयक चाँडै राष्ट्रिय सभामा पेस गर्ने तयारी छ। राष्ट्रियसभाले पारित गरेपछि प्रतिनिधिसभामा पठाइनेछ। प्रतिनिधिसभाले पारित गरेर पुनः राष्ट्रियसभामा पठाएपछि दुवै सदनबाट पारित विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रूपमा लागू हुनेछ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.