निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सरकारलाई टिआरसी विधेयक पारित गर्ने हतार किन?

सरकारलाई टिआरसी विधेयक पारित गर्ने हतार किन?

900
SHARES

काठमाडौं : सरकारले हतारहतार बेपत्ता व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक पारित गराउने तयारी गरेको छ। नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयनपछि पहिलो पटक बस्न लागेको आइतबारको बैठकमा सरकारले विधेयक पेस गर्ने भएको हो।

प्रतिनिधिसभाको आइतबार बस्ने बैठकको सम्भावित कार्यसूचीमा संवैधानिक परिषद् र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयक पेस गर्ने उल्लेख गरिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै विधेयक पेस गर्ने कार्यसूची रहेको छ। विधेयकमाथि राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले विरोधको सूचना दर्ता गराएका छन्।

संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी विधेयकमा भने नेमकिपाले मात्रै विरोधको सूचना दर्ता गराएको छ। राप्रपाका ज्ञानबहादुर शाही र नेमकिपाका प्रेम सुवालले दर्ता गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची संसद् सचिवालयले शनिवार सार्वजनिक गरेको हो।

विरोधको सूचना अस्वीकृत गरेपछि मात्रै प्रधानमन्त्री प्रचण्डले दुवै विधेयक संसद्को बैठकमा पेस गर्नेछन्। द्वन्द्व सम्बन्धी मुद्दामा प्रचण्डलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरेर सर्वोच्च अदालतमा दर्ता भएको रिटमा कारण देखाऊ आदेश जारी भएको छ।

प्रचण्डलाई पक्राउ गर्ने रिटमा सर्वोच्चको अग्राधिकार, अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्चमा लिखित जवाफ पठाउनु अगाडि नै सरकारले बेपत्ता व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक संसद्बाट पारित गराउने तयारी गरेको हो।

संसदीय समितिहरू गठन नभएकाले दुवै विधेयकमा संशोधन प्रस्ताव राख्न सांसदहरूलाई तीन दिनको समय दिने र सबै संशोधनलाई निर्णयार्थ प्रस्तुत गरेर विधेयक पारित गर्ने तयारी सरकारले गरेको हो।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ।

प्रचण्डविरुद्धको मुद्दा प्रभावित गर्न हतारहतार विधेयक दर्ता

सभापति चित्रबहादुर के.सी.ले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। मस्यौदा समितिको प्रतिवेदन पारित नहुँदा नियमावली अनुसार बन्नुपर्ने संसदीय समिति गठनको प्रक्रिया नै सुरु हुन सकेको छैन।

राष्ट्रपति र उपराष्ट्रपति चयनपछि बस्न लागेको आइतबारको पहिलो बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने कार्यसूची छ।

सभामुख घिमिरेले प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी गराएपछि मात्रै विधेयक प्रस्तुत गर्ने प्रक्रिया अगाडि बढ्ने सचिवालयले जनाएको छ।

राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।

समाचार शेयर गर्नुहोस्
900
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.