निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

औपचारिक निमन्त्रणा बिनै भारत भ्रमणको तयारी सुरु

औपचारिक निमन्त्रणा बिनै भारत भ्रमणको तयारी सुरु

463
SHARES

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी सुरु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त हुने बित्तिकै पहिलो बधाई दिएकाले भारतबाट पहिलो विदेश भ्रमण हुन लागेको हो।

भ्रमणको मिति भने तय भएको छैन। औपचारिक निम्तो नआए पनि भारत भ्रमणको तयारी सुरु भएको प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए।

भारतले मौखिक निम्तो गरे पनि औपचारिक निम्तो नआएको गजुरेलले बताए। ‘बधाई दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निम्तो दिएको हो नि,’उनले भने,‘भारत भ्रमण छिट्टै हुन्छ।’

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको चाँजोपाँजो मिलाउन सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा मङ्गलवार भारत गएकी छन्। बुधवार र बिहीबार नयाँ दिल्लीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने मन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डको भ्रमण निर्क्योल गरेर फर्कने तयारी गरेकी छन्।

मन्त्री शर्मा बुधवार अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू)को क्षेत्रीय कार्यालय उद्घाटनमा सहभागी हुने कार्यक्रम छ। नयाँ दिल्लीमा स्थापना भएको आइटियूको एसिया प्रशान्त क्षेत्रीय कार्यालय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम छ।

बुधवार नै मन्त्री शर्माले विभिन्न देशका मन्त्रीहरू सहभागी हुने मन्त्रीस्तरीय संवादमा सहभागिता जनाउनेछिन्। बिहीबार उनले भारतीय समकक्षी अश्विनी वैष्णवसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भारतस्थित नेपाली दूतावास तथा त्यहाँस्थित नेपाली समुदायले गर्ने कार्यक्रममा पनि मन्त्री शर्मा सहभागी हुनेछिन्।

मन्त्री शर्माको टोलीमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, मन्त्रालयका सहसचिव गौरव गिरी, मन्त्री शर्माका स्वकीय सचिव हेमराज शर्मा पोख्रेल, नेपाल टेलिकममा प्रबन्धक विमल आचार्य छन्। मन्त्री शर्मासहितको टोली शुक्रवार दिउँसो स्वदेश फर्कने कार्यक्रम छ।

समाचार शेयर गर्नुहोस्
463
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.