निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रधानमन्त्रीलाई गगन थापाको सुझाव : भेटघाट बन्द गर्नुहोस्, आधा घण्टा सोच्नुहोस्

प्रधानमन्त्रीलाई गगन थापाको सुझाव : भेटघाट बन्द गर्नुहोस्, आधा घण्टा सोच्नुहोस्

663
SHARES

काठमाडौँ : प्रतिनिधिसभाको ठुलो दल नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भोट मात्रै नहेर्न सुझाव दिएको छ। भोट मात्रै हेरेर नागरिक तर्साउने काम नगर्न काँग्रेसले खबरदारी गरेको छ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत लिँदा पुस १० मा समर्थन गर्ने दल बदले। सभामुखमा केपी शर्मा ओली अध्यक्ष रहेको एमालेलाई समर्थन गरेको प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा काँग्रेसलाई समर्थन गर्‍यो।

राष्ट्रिय सहमतिको प्रस्ताव ओलीले अस्वीकार गरेपछि बदलिएको सत्ता समीकरणको केन्द्रमा अहिले काँग्रेस छ। ८९ सांसद निर्वाचित काँग्रेसका टेकबहादुर गुरुङ निलम्बनमा पर्दा ८८ जना छन्। काँग्रेसलाई राष्ट्रपति र एमालेलाई सभामुखमा समर्थन गरेर तेस्रो पटक देशको प्रधानमन्त्री बनेका प्रचण्ड दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने छलफल गरिरहेका छन्।

सरकारको नेतृत्वमा प्रचण्ड भए पनि बालकोटबाट एमाले अध्यक्ष ओलीले रिमोर्ट चलाउँथे। अहिले रिमोर्ट काँग्रेसले लिएको छ। अबको दुई वर्ष प्रचण्ड नेतृत्वको सरकारले काम गरेर देखाउनु पर्ने चुनौती देखेको छ काँग्रेसले। काम गर्नकै लागि काँग्रेसले भेटघाट बन्द गरेर कम्तीमा आधा घण्टा देशका लागि सोच्न प्रचण्डलाई सुझाव दिएको छ।

‘एक्लै बिहान बेलुका बस्दा कम्तीमा दिनमा आधा घण्टा समय निकाल्नुहोस्। भेटघाट बन्द गर्नुहोस् र एक पटक सोच्नुहोस्,’सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७ औ साधारणसभामा काँग्रेस महामन्त्री गगन थापाले भने,‘म सँग जुन समय छ, यो समयको एक/एक सेकेन्डको कसरी प्रयोग गर्ने भनेर डराउनुहोस्। डराउनुपर्छ। प्रधानमन्त्री डरायो भने बल्ल नागरिक डरबाट मुक्त हुने अवस्था हुन्छ।’

नेपालमा २०५२ सालदेखि सुरु भएको माओवादी द्वन्द्वका कारण लाखौँ नेपाली नागरिक विस्थापित बन्न पुगे। डरै डरले विद्यार्थी स्कुल/कलेज पढ्न गएनन्। घरमा बसेकालाई बन्दुक बोक्न लगाइयो। राज्यविरुद्ध लड्न भन्दै प्रचण्डकै नेतृत्वमा १० वर्ष द्वन्द्व चल्यो। २०६२/०६३ मा शान्तिपूर्ण राजनीति गर्दै आएका दलहरूसँगको सहकार्यसँगै माओवादी द्वन्द्व अन्त्य भयो।

शान्ति प्रक्रिया सुरु हुनै लागेका बेला काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी सङ्घका महामन्त्री रहेका थापा अमेरिकामा लामो लाइन लागेको हुने छ, नेपालमा भिसा लिनका लागि, अनि त्यो बेला अमेरिकामा भएको नेपाली राजदूतावासमा भएको नेपाली कर्मचारीले काउन्टर बन्द भयो भनेर फर्काउने छ भन्दै गर्दा तरर ताली बजेको सम्झिरहेका छन्।

‘उचालेको होइन। मलाई पनि त्यही लाग्थ्यो। भाषण सुन्नेलाई पनि त्यही लाग्थ्यो। यस्तो दिन आउनेथ्यो भनेर विश्वास लिएर बसेको अवस्था थियो,’काँग्रेस महामन्त्री थापाले भने,‘तर, अहिले यहाँ तन्देरी हेरिरहे भने उता काउन्टर बन्द होइन यता काउन्टर बन्द गर्नुपर्ने देखिरहेको छु। सब खुट्टा उचालिरहेका छन्। सब दौडिरहेका छन्। सब भाग्न चाहिरहेका छन्। कोही पनि यहाँ राम्रो होला भनेर विश्वास गर्न सकिरहेका छैनन्।’

दिनमा १० वटा समाचार सुन्दै गर्दा ८ वटा समाचार सुनेर मान्छे खुसी हुने वाला देखेका छैनन् महामन्त्री थापाले। ‘अल्टी खान्छन् कि पल्टी खान्छन् मान्छे त हिसाब किताब गर्दैछन,’उनले भने,‘आठ वटा हाम्रो समाचार सुने पनि दुइटा यस्तो सुनोस् कि सुत्दै गर्दा केही न केही त नेपालमा राम्रो भइरहेको छ। दुइटा मात्रै भए पनि राम्रो कुरा सुनेर सुत्यो भने मात्रै त्यो मान्छेले आशा बाँकी राख्ला।’

समाचार शेयर गर्नुहोस्
663
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.