"/>
काठमाडौँ : भुटानको लामिडाँडामा नेपाली भाषा बोल्नेको भुटानीको घर थियो। परिवारका पाँचौँ सन्तान थिए टेकनाथ रिजाल। राजा जिग्मी सिंगे वाङचुकले राजगद्दी सम्हाले पछि सम्बोधन गरेको पहिलो राज्य सभाको बैठकमा रिजालले लामिडाँडाबाट प्रतिनिधि भएर प्रथमपटक भाग लिएका थिए।
भुटानी राजाका ६ जना सल्लाहकारहरूमा एक थिए टेकनाथ। भुटानमा नेपाली भाषाको कानुन लागू थियो रिजाल राजाको सल्लाहकार हुँदा। नियम कानुन बनाउने भूमिकामा थिए रिजाल। त्यतिवेलाको सम्झँदै रिजालले भने, ज्याला मजदुरी गर्न गएका नेपाली भाषीलाई भारतीय सीमा क्षेत्रमा फालिएको देख्नु, मेरै घरमा आएर न्याय मागेका आइमाई केटाकेटीको चित्कार राजालाई सुनाउनु मेरो गल्ती देखाइयो। पछि रिजाल माथि लागेको आरोप झुटो पुष्टि भए पनि उनीसँगै न्याय माग्दा जेलमा परेका र देश निकालिएकाहरूलाई परिवारसँग भेट गर्न दिइँदैन।
नेपालबाट तेस्रो देश पुर्नवास भएकाहरूलाई आफ्नै देश फर्कने भिसा दिइँदैन। जन्म देश भुटान भएकाहरूले भिसा नपाउँदा परिवारसँग बिछोडिनु परेको छ। राजबन्दी रिहाइ अभियानका संयोजक राम कार्की पर्यटकको रूपमा समेत आफ्नो देश जाने भिसा नपाइएको सुनाउँछन्। २७ वर्षदेखि नेदरल्याण्डमा बस्दै आएका कार्की जेलमा रहका राजबन्दी रिहाइका लागि भुटानमै गएर अपिल गर्न चाहन्छन् उनी। तै पनि भुटान जाने अनुमति पाएका छैनन् उनले। ‘तेस्रो देश पुर्नवास भएका सबै भुटान फर्कन्छन्, फर्कदैनन उनीहरूको इच्छा हो,’ कार्कीले पहिचानसँग भने, ‘जेलमा रहेका बन्दी रिहा गर्नु पर्छ भन्ने हाम्रो माग सम्बोधन हुन सकेको छैन।’
यतिका वर्षपछि पहिलो पल्ट ‘द ह्युमन राइट वाच’ले रिपोर्ट सार्वजनिक गरेको छ। भुटानका जेलमा रहेका बन्दीको नाम सार्वजनिक गरिएको छ वाचको प्रतिवेदनमा। अन्तर्राष्ट्रिय निकायमा उठेका प्रश्नमा भुटानी राजा नाजवाफ छन्। नेपाली भाषी भएकै कारण आतङ्ककारीको बिल्ला भिराउने र देश निकाला गर्ने भुटानी राजा मौन बस्नुमा भारतको हात रहेको शङ्का नेपालमा निर्वासित जीवन बिताइरहेका मानव अधिकारवादी नेता रिजाल बताउँछन्।
नेपालले १५ औँ चरणको वार्ता पछि फ्याटै हात झिक्दियो। भुटानी राजा आफ्ना नागरिक फर्काउन तयार नहुने तर, शरणार्थी आफ्नै देश फर्कन पाउनु पर्ने माग गरिरहँदा नेपालबाट १ लाख ३ हजार भुटानी शरणार्थी तेस्रो देश पुगेका छन्।
भारत त्यति बेला पनि बोलेन, जति बेला नेपाल र भुटानबिच वार्ता भइरहेको थियो। अहिले पनि बोलिरहेको छैन भारत। नरेन्द्र मोदीले नै भुटानी राजालाई भनिदिए फर्कन पाउने आस रहेको बताउँछन् रिजाल। अझै पनि शरणार्थी शिविरमा कार्ड बनाएका ६५०० जना छन्। कार्ड नबनाएका हजार जना होलान्। नेपाली भाषीको कार्ड बन्ने तर नेपाली भाषीको अधिकारमा बोल्दा देश निकाला गरेर शिविरमा बसेका अन्य भाषीको कार्ड नबनेको उनले सुनाए।
भुटानी राजाको अत्याचारविरुद्ध किन बस्छ भारत मौन?
शिविरमा बाँकी रहेकालाई पनि अहिले तेस्रो देश पुर्नवास गराउन भित्र भित्रै खेल भइरहेको छ। नेपालको गृह मन्त्रालय हाँकेकासम्मले तेस्रो देश पठाउन मोटो रकम असुलेको गोप्य आरोप पछि अन्तर्राष्ट्रिय निकायले शरणार्थीको नाममा भएको अपचलनको अनुसन्धान गरिरहेको बुझिएको छ।
सत्तामा पुगेर गृह मन्त्रालय हाँकिसकेका नेताहरूको मात्रै होइन शरणार्थीलाई तेस्रो देश पुर्नवास गराउने धन्दामा पूर्वगृह सचिवसम्मको नाम मुछिएको आशङ्का गरिएको छ। अहिले अनुसन्धान चलिरहेको र सत्य तथ्य प्रतिवेदन केही दिनमै सार्वजनिक हुने सुइँको पाएका छन् टेकनाथले। रिजाललाई यतिवेला दुई चार जना मुख बोल्ने साथी सहित लिएर आउन अमेरिकाले बोलाएको छ। नेपालले ट्राभल डकुमेन्ट दिएको छैन। ‘मलाई अमेरिकाबाटै लबिङ गर्न भनिरहेका छन्, तर म संसारभरबाट लबिङ गर्न चाहन्छु,’रिजालले पहिचानसँग भने,‘आउजाउ गरिरहन पाउनु पर्छ।’
रिजालले भुटान फर्केर अदालतमा न्यायको अपिल गर्ने वातावरण अन्तर्राष्ट्रिय समुदायले बनाइदिनु पर्ने माग गरिरहेका छन्। ‘अमेरिकामा बोल्नका लागि अरू साथीहरू हुनुहुन्छ, नेदरल्याण्डमा हुनुहुन्छ,’ रिजालले भने, भुटानी राजाको अत्याचारविरुद्ध अन्तर्राष्ट्रिय समुदाय नै बोलिदिनु पर्छ। विशेष गरी भारत त मौन बस्नै मिल्दैन।’
चिन्ता उनैको
नेपालका तत्कालीन स्वर्गीय राजा वीरेन्द्रको आदेशमा झापाबाट भारतीय सीमा नजिक पुर्याएर फर्काउने बित्तिकै रिजालले सोधेका थिए, ‘मलाई कहाँ लैजान लागेको?’ भुटान फर्काउन लागेको होला भन्ने ठानेका थिए उनले। नेपाल र भुटानमा प्रजातन्त्र आउनुपर्छ भनेको आरोपमा १० वर्ष जेल परे उनी।
विद्युतीय उपकरण प्रयोग गरेर बयान लिने काम भयो जेलमा। जे सोध्यो त्यही भन्न बाध्य बनाइयो। रिजालमाथि लागेको आरोप पुष्टि नभएपछि भुटानी राजाले जेल मुक्त गराए। भुटानमा पहिलो मानवअधिकार सङ्गठन खोलेका रिजाल आफ्नो परिवार भन्दा बाहेक अरूसँग बोल्न, हिँड्न प्रतिबन्धमा परे। बसिरहे मारिनै दिन्छ भनेर रिजाल परिवारसँगै भागेर निवासमा आएर बसिरहेका छन्। देश निकाला गरिएका सबैसँग भुटान फर्कने उनको आशामा सास भरिरहेका छन् पूर्वी नेपालको शरणार्थी शिविरमा रहेका भुटानी नागरिक।
शरणार्थीको सङ्ख्या धेरै देखाएर केही नेपाली पनि सँगै अमेरिका, क्यानडा, अस्ट्रेलिया पठाउन केही स्वार्थ समूह क्रियाशील रहेको सुनेका छन् निर्वासित भुटानी नेता रिजालले। नेपालमा स्वर्गीय गिरिजाप्रसाद कोइराला सरकारको पालादेखि अर्थात् बहुदलीय व्यवस्थादेखि नै रिजाल निर्वासित भुटानी नेताको रूपमा छन्।
भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन
जेलमा हुँदा प्रयोग गरिएको विद्युतीय झड्काले रिजाललाई बेला बेला होस गुमाएको मान्छे जस्तो बनाउने गरेको छ। अब चाहिँ भुटानमा प्रजातन्त्र आउने भयो भन्ने हुन्छ त्यति नै बेला भारत बोल्दैन। नेपाल बाँकी रहेका शरणार्थी पनि तेस्रो देश गए ‘हाम्रा पनि केही सँगै जान्थे’ भने जस्तो गरिरहेको बताउँछन् रिजाल।
तेस्रो देश जाँदैमा समाधान हुँदैन भन्ने रिजालको पहिलेदेखिको अडान हो। नेपालबाट अमेरिका पुगेकाहरूमा पनि शान्ति छैन। आत्महत्या गर्ने मध्ये धेरै भुटानी शरणार्थीहरू रहेको सुनाउँछन् रिजाल। अघिल्लो साता मात्रै अमेरिकाको न्यूयोर्कमा पुर्नवास भएका ५५ वर्षको भुटानी शरणार्थी प्रेम चम्लागाईले पेटमा छुरा धसेर प्राण त्यागे।
भुटानमा प्रजातन्त्रको माग गर्नेहरूलाई आत्महत्या गराउने अवस्थामा पुर्याएको पछिल्लो घटना चम्लागाई रहेको सुनाउँछन् रिजाल। भुटानको चिराङ जिल्लाका हुन चौम्लागाई। भुटानी राजाको अत्याचारविरुद्ध बोलेकै कारण देश निकालिएका चौम्लागाईका बुबा हेमलाल चौम्लागाई वडा अध्यक्ष थिए। सुखी जीवनका लागि नेपालबाट अमेरिका पुगेका उनले न्यूयोर्कमा छुरा धसेर प्राण त्यागे।
जहाँ गए पनि भुटानी राजाको अत्याचारविरुद्ध बोल्नेहरूलाई मुख थुन्न अनेक उपाय मध्येको माइन्ड कन्ट्रोल खतरनाक रहेको बताउँछन् रिजाल। विशेष गरी जेलमा रहेका कैदीलाई सत्य कुरा बकाउन प्रयोग गरिने उपकरणका कारण देशै नरहने खतरा उत्पन्न हुने उनले बताए।
शिविरमा बाँकी रहेकाको अहिले राशन पानी बन्द गरिएको छ। शिविरमा रहेकाहरूबिच पनि आपसमा मनमुटाब पैदा गराएर फुटाउने काम गरिएको छ। भुटानी राजाले आफू विरुद्ध सुराकी प्रयोग गरेर प्रजातन्त्र ल्याउनै नदिने, मानवअधिकार हननका घटना दबाउने र आफू विरुद्ध बोल्नेको घाटी निमोठ्ने काम गरिरहेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.