निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तनहुँमा स्वर्णिममाथि लाग्यो टुरिस्टको आरोप, रविले दिए वडा अध्यक्ष लड्न सुझाव

तनहुँमा स्वर्णिममाथि लाग्यो टुरिस्टको आरोप, रविले दिए वडा अध्यक्ष लड्न सुझाव

627
SHARES

काठमाडौं : वैशाख १० गते तनहुँ, चितवन र बारामा रिक्त प्रतिनिधिसभा सदस्य चुन्नका लागि मतदान हुँदै छ।

रामचन्द्र पौडेल राष्ट्रपति, रामसहाय प्रसाद यादव उपराष्ट्रपति र नागरिकता विवादमा पद मुक्त भएका रवि लामिछाने निर्वाचित भएको निर्वाचन क्षेत्रमा वैशाख १० गते चुनाव हुन लागेको हो।

तनहुँ-१, चितवन-२ र बारा-२ निर्वाचन क्षेत्रमा लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचारप्रसार आक्रामक बनाएको छ।

काँग्रेस, एमाले, जसपा लगायत दलका उम्मेदवारको तुलनामा स्वतन्त्र पार्टीका उम्मेदवारको प्रचार आक्रामक देखिएको छ।

आफ्नो सिट सुरक्षित गर्दै थप दुई क्षेत्रका उम्मेदवार विजयी गराउन लामिछाने आफैँ खटिएका छन्। ओठ मुख सुकाएरै लामिछाने आफ्ना उम्मेदवारको पक्षमा भोट माग्न खटिएका छन्।

नागरिकता विवादमा फसाइएको आशय सहित आइरहेको लामिछानेको अभिव्यक्ति उनका समर्थकका लागि राज्यलाई गाली गर्ने गतिलो मसला बनिरहेको छ। लामिछानेका समर्थकहरू ‘हत्केलाले सूर्य छेक्न नसक्ने’ अभिव्यक्ति दिन थालेका छन्।

सामाजिक सञ्जाललाई सकेसम्मको उपयोग गर्दै भोट माग्न व्यस्त लामिछानेविरुद्धको राहदानी विवादमा महान्यायाधिवक्ता कार्यालयले क्विन चिट दिए पनि युवराज सफलले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्।

रवि लामिछाने : सत्ता र प्रतिपक्षको अनुभव, पुनः चुनाव जित्नेमा ढुक्क

नागरिकता विवादमा जस्तै राहदानीको मुद्दामा उम्मेदवार नै खारेज गर्नुपर्ने माग सफलले गरेका छन्। तर, लामिछानेको उम्मेदवारी कायम छ। लामिछाने नागरिकता विवादमा जस्तै अहिले सरकारमा रहेकाहरूले आफूलाई जेल हाल्ने सम्मको अभिव्यक्ति दिइरहेका छन्।

जुन अभिव्यक्ति लामिछानेले मङ्सिर ४ मा भएको चुनावमा पनि दिएका थिए। तनहुँमा टुरिस्ट उम्मेदवार उठाएका अवसरवादीको आरोप लागेका स्वर्णिम वाग्लेको पक्षमा भोट माग्दै लामिछानेले भ्रष्टाचारको आरोपमा जेल बस्नुपर्नेहरुले प्रश्न गरे उत्तर नदिने बताएका छन्।

उनले आफूलाई जेल कोच्नेहरूले प्रश्न गरिरहेको बताए। ‘यस्ता मान्छेहरूले प्रश्न गरिरहेका छन्, जसलाई हाम्रो सरकार बने जेल कोच्ने बनेर लिस्ट बनाइरहेका छौँ,’उनले भने,‘आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूले सोध्नु भएको प्रश्नको जवाफ चोक, चौतारो, चिया पसल, भट्टी गल्ली जहाँ पनि दिन तयार छु।’
वाग्लेको चुनावी प्रचार सभामा लामिछानेले भ्रष्ट मान्छेहरूले सोधेको एउटा पनि प्रश्नको जवाफ दिने बताए। ‘किनकि तिनलाई त जेल कोच्ने हो,’उनले भने,‘तिनको जवाफ दिएर हिँड्ने होइन।’

पुराना पार्टी प्रति जनतामा बढेको वितृष्णालाई प्रचार अभियानबाट क्यास गर्ने रणनीति बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँमा काँग्रेस त्यागेका स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ।

रवि लामिछानेको मुद्दामा सर्वोच्चको पूर्णपाठ, ‘राहदानी लिएको विषयमा अहिले थप उल्लेख गरिरहन परेन’

पदका लागि रङ्ग बदलेका वाग्लेको पक्षमा माहौल तताउन लामिछाने शनिवार तनहुँ पुगेर भोट मागे। तर वाग्लेलाई स्थानीयले ‘टुरिस्ट’ उम्मेदवारको ट्याग लगाइदिएका छन्। वाग्लेलाई तनहुँका स्थानीयले टुरिस्ट भनेपछि लामिछानेले स्थानीय नै चाहिने भए वडा अध्यक्ष लड्न सक्ने जवाफ दिएका छन्।

उनले वाग्ले जस्ता मान्छेलाई टुरिस्ट भन्नु विज्ञताको अपमान हुने बताए। उनले वाग्लेलाई देशले मात्रै नभएर संसारले खोजेको सुनाएर मत मागे। ‘टुरिस्ट भन्ने शब्द स्वयं उहाँ (वाग्ले)को विज्ञताको अपमान गर्न कुनै राजनीतिक संस्कार भएको मान्छेलाई दिन्छ, दिँदैन,’लामिछानेले भने,‘स्थानीय मान्छे नै चाहियो,म यहीको स्थानीय मान्छे हुँ भन्ने लाग्छ भने वडा अध्यक्षमा उम्मेदवार लडे हुन्छ,वडा अध्यक्ष स्थानीय भएको राम्रो हो।’

टुरिस्ट उम्मेदवार वाग्ले आफूले जिते मात्रै राजनीतिले कोल्टे फेर्ने बताउनु थालेका छन्। तनहुँमा प्रतिनिधिसभा चुनाव जित्ने स्थानीय कोही नभएको जस्तो गरी वाग्ले आफूलाई जिताएर पठाउँदा शिर ठाडो हुने दलिल पेस गरिरहेका छन्। ‘नेपालको सङ्घीय संसद्मा शिर ठाडो गरेर जनताको म्यान्डेट बोकेर हामी गएर उभिँदा त्यसले नेपालमा ल्याउने तरङ्गले नेपालको राजनीतिले कोल्टो फेर्दछ।’

तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू मतदातालाई आकर्षित गर्न आकाशका तारा नै झार्ने भाषण गरिरहेका छन्। उम्मेदवारहरूको भाषणमा विश्वास गर्ने/नगर्ने निर्णय भने मतदाताले वैशाख १० मा गर्नेछन्।

समाचार शेयर गर्नुहोस्
627
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.