रवि लामिछाने : सत्ता र प्रतिपक्षको अनुभव, पुनः चुनाव जित्नेमा ढुक्क

रवि लामिछाने : सत्ता र प्रतिपक्षको अनुभव, पुनः चुनाव जित्नेमा ढुक्क

काठमाडौं : प्रतिनिधिसभामा रिक्त तीन सदस्य चयन गर्न नयाँ वर्ष वैशाख १० गते उपनिर्वाचन हुँदैछ। रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नं.१ र रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्य रिक्त भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा पद मुक्त भएपछि चितवन निर्वाचन क्षेत्र नं.२ मा पनि प्रतिनिधि सभा सदस्य रिक्त भएको छ। रिक्त तीन सदस्यका लागि दलहरूले उम्मेदवार छनौट गरेका छन्।

तनहुँ १ मा नेपाली काँग्रेसले गोविन्द भट्टराई, नेकपा एमालेले मङ्सिर ४ को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट पराजित पूर्व आइजिपी सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीले काँग्रेस परित्यागको घोषणा गरेका स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

स्वतन्त्र पार्टीले सभापति लामिछानेलाई नै चुनावमा विजयी भएको पाँचै महिनामा दोस्रो पटक परीक्षण गराउन चितवन २ को उम्मेदवार बनाउने निर्णय गरेको छ। एमालेले रामप्रसाद न्यौपाने र काँग्रेसले जित नारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बारा २ मा स्वतन्त्र पार्टीले मङ्सिर ४ मा पराजित रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गर्दा एमाले र सत्ता गठबन्धन दलबाट सिके राउतको जनमत पार्टीले माओवादी पार्टी परित्याग गरेका शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ। सत्ता गठबन्धनबाटै जनता समाजवादी पार्टीका उपेन्द्र यादव र राजेन्द्र महतो उम्मेदवार बन्ने चर्चा छ।

दलहरूले उम्मेदवार बन्नेको नाम घोषणा गरे पनि उम्मेदवारी दर्ता भने चैत २० मा मात्रै हुने तालिका रहेको निर्वाचन आयोगले जनाएको छ। दलहरू आफ्ना उम्मेदवारका पक्षमा भोट माग्न व्यस्त बनेका छन्।

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा काँग्रेससहितको गठबन्धन र एमाले उम्मेदवारलाई हराएर संसदीय यात्रामा आएका लामिछानेले मङ्सिर ४ को चुनाव भन्दा पाँचै महिना अगाडि मात्रै दल दर्ता गरेका थिए।

आफूले चाहेको गर्ने, अरूका वास्ता नगर्ने आरोप खेपेका लामिछाने चुनाव जित्नेमा ढुक्क मात्रै देखिएका छैनन्, पाँच वर्षपछि हुने अर्को चुनावमा सकेसम्म दुई तिहाइ ल्याएर सरकारको नेतृत्व लिने दाबी सुनाउन थालेका छन्।

पाँच वर्ष सत्ता र प्रतिपक्षी दुवैको अनुभव लिने कुर्सी मोहको आरोप साम्य पार्ने प्रयास उनले गरेका छन्। उपचुनाव अघि भने सरकारमा नजाने लामिछानेले बताए। सरकारमा सहभागी हुन लामिछानेले भ्रष्टाचारको फाइल खोल्ने योजना न्यूनतम साझा कार्यक्रममा समेटिनु पर्ने सर्त राखेका छन्।

गैरसांसदका रूपमा मन्त्री बन्ने बाहिरी हल्ला निवारण गर्दै लामिछानेले उपचुनावसम्म सरकारमा नजाने बताएका छन्। ‘अर्को चुनावमा हामी दुई तिहाइ नभए पनि हाम्रो बहुमतको सरकार चलाउँछौ, चलाउँछौ,’लामिछानेले भने,‘हामीलाई यो सङ्केत जनमतले दिइसकेको छ।’

उनले अबको पाँच वर्ष पछि पार्टीको सरकार बन्दा मन्त्रालय गएर स्रोत साधनको दुरुपयोग गर्दै पढ्ने, सिक्ने र बुझ्ने सुविधा नहुने बताए। ‘यो पाँच वर्ष सत्ताको पनि अनुभव सँगाल्नु पर्छ,’उनले भने,‘प्रतिपक्षको पनि अनुभव सँगाल्नु पर्छ।’ मङ्सिर ४ को चुनाव पछि बनेको सरकारमा लामिछाने उपप्रधान एवं गृहमन्त्री थिए।

लामिछाने सभापति रहेको स्वतन्त्र पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सत्ता गठबन्धनमै छ। सरकारमा गएको छैन। लामिछाने आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुन चाहेको तर, सत्ता गठबन्धनले गैरसांसदलाई मन्त्री नबनाउने अडान लिएका कारण स्वतन्त्र पार्टी सरकार बाहिरै बस्ने भएको छ।

मङ्सिर ४ को चुनावमा प्रत्यक्ष तर्फ ७ निर्वाचन क्षेत्रमा स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका थिए। समानुपातिक तर्फ पाएको मतका आधारमा १३ सांसद पार्टीबाट निर्वाचित भएका थिए। २० सांसद सहित संसदीय यात्रा सुरु गरेको स्वतन्त्र पार्टीबाट इन्दिरा राना उपसभामुख निर्वाचित भएकी छन्।

वैशाख १० को उपनिर्वाचनबाट स्वतन्त्र पार्टीले चितवन २ जोगाउँदै दुई सांसद थप हुने सङ्केत देखिएको दाबी गरेको छ। मङ्सिर ४ को चुनावमा काँग्रेसबाट उम्मेदवार बन्ने प्रयास गरे पनि टिकट नपाएका अर्थविद् डा.स्वर्णिम वाग्लेलाई स्वतन्त्र पार्टीले उम्मेदवार बनाएर काँग्रेसलाई नै चुनौती दिएको छ।

पार्टी परित्याग घोषणा गरेको दुई दिनमै स्वतन्त्र पार्टी प्रवेश गरेर उम्मेदवार बन्ने घोषणा गरेका वाग्लेले काँग्रेसका उम्मेदवारविरुद्ध प्रचार गर्न थालेका छन्।

मङ्सिर ४ को चुनावमा काँग्रेसलाई भोट मागेका वाग्ले स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेपछि अन्य पार्टीमा टिकटको होडबाजी, किनबेच हुने गरेको बताउन थालेका छन्।

‘एउटा वडा सदस्यले पनि दुई/चार लाख बुझाउनु पर्ने, मेयर बन्नका लागि ५० लाख एक करोडका कुराहरू आइरहेका छन्,एमपी (सांसद) बन्न केही करोडमा, मालदार मन्त्रालयको लागि त दसौँ करोडको डिल हुन्छ भन्ने छ,चुनावको प्रक्रिया पनि खर्चिलो छ,’वाग्लेले प्रश्न गरे,‘सत्तामा पुगिहाले पनि नीति, कार्यक्रम योजना द्रुत मार्गतिर फड्को मार्नेतिर हुन्छ कि आफ्नो लगानी उठाउने तिर हुन्छ?’

पाँचै महिनामा जनमत परीक्षण गर्न स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका रमेश खरेलले अहिलेका ठुला दलको सिन्डिकेट नतोडेसम्म देशमा सुशासन नआउने दाबी सुनाएका छन्।

उनी बारा निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार बन्दै छन्। उनीसँग पाँचै महिना अगाडि चुनाव हारेका उपेन्द्र यादव, राजेन्द्र महतो र शिवचन्द्र कुशवाहले पनि उम्मेदवारी घोषणा गरेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading