कतारी अमिरको भ्रमण औपचारिकतामै सीमित

कतारी अमिरको भ्रमण औपचारिकतामै सीमित

काठमाडौं : कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण औपचारिकतामै सीमित भएको छ। दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आएका कतारी अमिरको भ्रमण सरकारले आवश्यक तयारी गर्न नसक्दा सद्भावना भ्रमण जस्तो भएको सत्तारुढ प्रमुख घटक नेकपा एमालेले टिप्पणी गरेको छ।

नेपालको श्रम गन्तव्य मुलुक कतार मध्यपूर्वको एक उदयमान देश भएको र पहिलो पटक भएको उच्चस्तरको भ्रमणबाट नेपालले लिन सकिने जति लाभ लिन नसकेको पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।

लगानी सम्मेलनको पूर्वसन्ध्यामा भएको यो भ्रमणबाट नेपालले आर्थिक साझेदारी र श्रम सम्झौता नवीकरण पुनरावलोकन गर्न नसकेपछि उपलब्धिमूलक भन्न नसकिने उनले बताए।

एमाले उपमहासचिव समेत रहेका ज्ञवालीले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको कतार भ्रमणका क्रममा भए गरेका प्रयासलाई पनि अहिलेको सरकारले बेवास्ता गरेको बताए।

कतारी अमिरको भ्रमणको दोस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भेटवार्तापछि दुई सम्झौता र ६ समझदारी भएको छ। राष्ट्रिय समाचार एजेन्सी, नेपाल (रासस) र कतार समाचार एजेन्सी (क्युएनए) बीच सहयोग र समाचार आदानप्रदान सम्बन्धी सम्झौता भएको छ।

नेपाल र कतार सरकारबीच युवा र खेलकुद क्षेत्रमा सहयोगसम्बन्धी समझदारी भएको छ। त्यस्तै नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतारको सार्वजनिक अभियोजन पक्षबीच सहकार्यको समझदारी भएको छ।

नेपाल सरकारको परराष्ट्र मामिला संस्थान र कतार सरकारको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थानबीच कूटनीतिक तालिम र शिक्षाको क्षेत्रमा सहयोग गर्ने समझदारी पनि भएको छ।

नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतारको संस्कृति मन्त्रालयबिचमा कला तथा सांस्कृतिक सहकार्यका क्षेत्रमा सहकार्य गर्ने समझदारी पनि भएको छ। सम्झौता र समझदारीमा दुई देशका विभागीय मन्त्री तथा अधिकारीहरूले हस्ताक्षर गरेका छन्।

कतारका अमिर थानी नेपालको भ्रमण सकेर बुधवार नै फकिएका छन्। दुई दिने भ्रमणका लागि मङ्गलवार काठमाडौं आएका थानी २२ घण्टापछि फर्किएका हुन्।

उनको स्वागत र बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल पुगे।

कतारका अमिरको भ्रमणले नेपालको पर्यटन क्षेत्र भने उत्साहित भएको नेपाल पर्यटन बोर्डको पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताए।

नेपाल सरकारले कतार सरकारलाई दुई वटा हात्ती उपहार दिएको छ। कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपालले उपहार स्वरूप रूद्रकली र खगेन्द्रप्रसाद गरी दुई हात्ती दिएको हो।

कानुनी तथा प्राविधिक प्रक्रिया पुरा गरेर दुई हात्तीलाई छिटै कतार पठाउने तयारी गरिएको छ। वन मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले कतारको तर्फबाट तयारी पूर्ण नभएको कारण राजासँगै हात्ती पठाउन नमिलेको जानकारी दिए।

प्रधानमन्त्री ‘प्रचण्ड’ले कतारका अमिरसँगको भेटवार्तामा भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलदेखि दोहामा हवाई सेवा सुरु गर्ने विषयबारे पनि छलफल भएको छ। कतार एयरवेजले अहिले नेपालमा दैनिक चार उडान भर्दै आएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading