पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैद

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैद

काठमाडौं : पूर्वमन्त्री एवं काँग्रेस नेता मोहम्मद अफताव आलमलाई जन्मकैदको सजाय हुने फैसला भएको छ। रौतहट जिल्ला अदालतका न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा आलमसहित चार जनालाई जन्मकैद हुने फैसला गरेको हो।

पहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँच जनालाई इटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए। इजलासले आलमसहित उनका भाइ मोहम्मद मोहताब आलम, सेख सराज र बद्री सहनीलाई पनि जन्मकैद अर्थात् २० वर्ष कैदको फैसला गरेको अदालतका तहसिलदार दुर्गाबहादुर कार्कीले जानकारी दिए।

सहनी इँटा भट्टाका मुन्सी थिए। कार्कीका अनुसार आरोपी ईटाभट्टामै काम गर्ने मुक्ति शाहले भने सफाइ पाएका छन्। अन्य ६ जना प्रतिवादीहरू फरार रहेकाले मुलतबीमा राखिएको कार्कीले बताए। रौतहटको राजपुर बम काण्डमा आलम पुर्पक्षका लागि थुनामा रहँदै आएका थिए।

२०६४ चैत २७ गते संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको साबिक राजपुर फरहदवा गाविसको वडा नम्बर ४ मा आलमका काका शेख इद्रिसको गोठमा बम बनाउँदै गर्दा विस्फोट भएको थियो।

उक्त विस्फोटमा परी मृत्यु भएका स्थानीय पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएकामा इटाभट्टामा जिउँदै जलाएको अभियोगमा आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

ढोलाहिटी हत्याका दुई जना थुनामा

फागु पूर्णिमाको रात ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा दुई अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलको इजलासले अभियुक्तहरू ढोलाहिटीस्थित ‘डी–पोपिना’ खाजा घरका सञ्चालक विजय राई र राजु गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

अन्य तीन अभियुक्तलाई धरौटीमा छाड्न आदेश भएको छ। मुख्य अभियुक्त छेङ्वीहाङ राईलाई ७ लाख रुपैयाँ र विशाल राईलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको अदालतका सूचना अधिकारी रामसजिवन महतोले जानकारी दिए।

उनका अनुसार मतियारका रूपमा अभियोग लगाइएका खाजा घरका अर्का सञ्चालक सुलभ राईलाई पनि ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ ।

फागु पूर्णिमाको रातमा ढोलाहिटीस्थित ‘डी–पोपिना’ खाजा घरमा दुई समूहबीच झडप हुँदा पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रेबस राई र सुनसरी घर भएका ३० वर्षीय पूजन राईको धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading