‘विनर’ लक्ष्मणको आव्हान, अब हुने गे वर्ल्ड नेपालमा गर्नुहोस्

‘विनर’ लक्ष्मणको आव्हान, अब हुने गे वर्ल्ड नेपालमा गर्नुहोस्

काठमाडौं : विकट गाउँ जहाँ बिजुली बत्ती गएको छैन। मोटर गुड्ने बाटो बनेको छैन। प्रसिद्ध धार्मिक स्थल बडीकेदारधामको नामबाट गाउँपालिकाको नामकरण गरिएको छ। पर्यटकीय स्थल कालारुवा ताल रहेको बडीकेदार गाउँपालिकालाई पिछडिएको ठाउँका रूपमा समेत पहिचान दिने गरिएको छ।

बडीकेदार गाउँमा शिक्षा लिनका लागि सरकारी स्कुल छ। बिरामी पर्दाको पीडा सुनाउनै चाहँदैनन् बडीकेदारका बासिन्दा। तल्लो भेगबाट सानो बजार भएको स्कुल पुग्न डेढ दुई घण्टा लाग्छ।

त्यही गाउँमा जन्मे, हुर्केका लक्ष्मण मगर हाल २२ वर्षका भए। अहिले उनी ब्याचलर चौथो वर्षमा अध्ययनरत छन्। उनका बाबा ममी किसानी हुन। कृषिमा आबद्ध छन्। घरायसी काम गर्दै उनले ब्याचलरको अध्ययन सकाउन लागेका छन्।

विद्यालय जाँदा बाटोमै सुतिदिन्थे उनी। ‘बिहान ४ बजे उठ्नु पर्ने, कहिले काहीँ स्कुल जाँदा बाटोमै सुतिदिन्थे,’लक्ष्मणले पहिचानसँग भने,‘बाल्यकाल रमाइलै बित्यो, दुख पनि थियो, सबैको अनुभव लिँदा रमाइलो नै बित्यो।’

स्कुल पढ्दाका साथीहरू उनीबाट छुट्टिएका छन्। कति साथीहरूसँग उनको कनट्याक्ट पनि छैन। ‘म पनि आफ्नो करियर बनाउनका लागि हिँडिरहेको मान्छे,म अहिले ब्याचलर चौथो वर्षमा पढिरहेको छु,’उनले भने,‘अहिले त म सँग कोही साथीहरू पढिरहेका छैनन्, एक्लै छु, बाल्यकालका साथीहरू कोही कता जानु भयो, जानुभयो।’

बाल्यकालका साथीहरूलाई लक्ष्मण धेरै मिस गर्छन्। साथीहरूको साथ, सपोर्ट र मायाले गर्दा नै आफ्नो यात्रा अघि बढेको बताउँछन् उनी। तीन जना आमा मध्ये जेठी पट्टीका हुन उनी। बुबाले तीन जनासँग विवाह गरेका हुन्।

उनको गाउँमा पहिलेकै चलन छ। उनका बुबाले विवाह गरेका तीन आमा मध्ये अब दुई मात्रै छन्। ‘मेरी आमा जेठी, कान्छी ममी,दाइहरू हुनुहुन्छ,दिदीहरूको बिहे भयो,मेरो एउटा भाइ छ,’उनले भने,‘बहिनीहरू धेरै छौ, लार्ज फेमली,संयुक्त परिवार भन्छन् नि त्यो नै हो।’

घर परिवारको सपोर्ट

घर परिवारको सहयोग पाएर नै लक्ष्मणले अध्ययनलाई निरन्तरता दिएका छन्। ठुलो फेमेली भए पनि कहिल्यै झगडा हुँदैन। ‘दुई तीन जना ममी भएपछि त झगडा हुन्छ होला,मतलब बुबाले तलमाथि गर्छ होला भन्ने हुन्छ नि त,’लक्ष्मणले भने,‘कोअपरेसन, डिलिप्लेन थियो, बच्चै देखि माया पाइराखे।’

मिष्टर गे नेपाल : लक्ष्मण मगरले पहिरिए उपाधि

उनी बच्चैदेखि एक्स्ट्रा बिहेवियरको थिए। अन्य भन्दा एक्स्ट्रा थिए। आमाले अरू छोराहरू भन्दा ‘त अन्य छोरा भन्दा फरक छस्,माया लाग्दो छस्,तेरो लाइफ कस्तो होला? भनेर सपोर्ट, माया गर्नुहुन्थ्यो,’उनले भने,‘अन्य साथीहरूले पनि माया गर्थे, कसैसँग झगडा गर्दैन,कसैसँग नराम्रो भन्दैन, केटा मान्छे भइसकेपछि बाङबुङ लड्दिने, झगडा गर्दिने नमिठो बोल्दिने, गाली गिर्दिने, त्यो गाली कहिल्यै आएन।’

आमाले सिकाएको संस्कार फलो गरे उनले। ‘आमाले बच्चैदेखि राम्रो संस्कारमा हुर्काउनु भयो,’उनले भने,‘गरिब परिवारमा जन्मेको भएता पनि बुबा आमाले संस्कार एकदम राम्रो दिनुभयो।’

भाइ उनको मिल्ने साथी बेष्ट फ्रेण्ड जस्तै हो। जीवनको एउटा पार्ट नै उनले भाइलाई मानेका छन्।

मन पर्ने शिक्षक

लक्ष्मणले बाल्यकालको विद्यालय जीवन स्मरणमा ताजै राखेका छन्। विद्यालयमा उनको मन पर्ने शिक्षक थिए। गोरख विष्ट उनी पढ्ने स्कुलका फेभरेट टिचर थिए। ‘एकदम केयरिङ, सपोर्ट गर्नुहुन्थ्यो,हरेक कुराहरूमा गाइड गर्नुहुन्थ्यो,’उनले भने,‘उहाँले मलाई वेष्ट स्टुडेन्ड भन्नुहुन्थ्यो, उहाँलाई म वेष्ट टिचर भन्थे,पढाइमा ट्यालेन्ट थिए।’

लजालु स्वभावका लक्ष्मणलाई विद्यालयमा तिमी यस्तो छौ, उस्तो छौ भनेर माया गर्थे। ‘गल्र्सहरुसँग धेरै सङ्गत गर्ने, केटाहरूसँग नहिँड्ने, त्यस्तो टाइपको थिए,’उनले भने,‘त्यही भएर पनि टिचरहरूले मलाई माया गर्नुहुन्थ्यो, एज अ फ्रेण्ड जस्तै, कतिखेर जिस्क्याउनु हुन्थ्यो।’

डोटीका लक्ष्मणले तय गरे बेलायत यात्रा, मिस्टर गे वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने

उनलाई टिचरहरूले नराम्रो कहिल्यै भनेनन्। लुकाएर लुक्ने पनि होइन। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिको बारेमा शिक्षा छैन भन्छन् उनी। ‘पुरुष भएर जन्मिए पनि हल्का महिला स्वभाव देखिने, महिलाहरूको पहिरन लगाउन मन पराउने,’उनले भने,‘१५ वर्ष हुँदा थापा भयो, म केटातर्फ भन्दा पनि केटीतर्फ आकर्षण हुन्थे।’

उनी आफैँलाई ‘म किन यस्तो भइरहेको छु’ भन्ने लाग्थ्यो। ‘टाइम टाइममा झसङ्ग झसङ्ग हुन्थे,कतिपय साथीहरूले म हिँड्ने बेलामा भन्नुहुन्थ्यो,तेरो हिँडाई त कस्तो केटीको जस्तो छ,’लक्ष्मणले भने,‘हल्का लचकतापन आइहाल्छ।’

यस्ता गुणहरू जति लुकाउन खोजे पनि आइहाल्ने उनको अनुभव छ। १५/१६ वर्षको उमेरमा उनले आफ्नो लैङ्गिकता र यौनिकता थाहा पाएको बताए। ‘तर खुलेर आएको भने अहिले नै हो।’

खुल्नुको कारण के?

दक्षिण एसियामै पहिलो समलिङ्गी विवाह दर्ता गर्ने नेपालको नाम राख्न सफल जोडी सहितका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरू आबद्ध भएर संस्था दर्ता भएको छ। मायाको पहिचान नेपालले संस्था दर्ता भएको ६ महिनामै ६ वर्षदेखि हुन नसकेको मिष्टर गे नेपाल आयोजना गर्‍यो।

नेपालमा पहिलो पटक इन्द्रेणी (रेन्बो) पर्यटन अन्तर्राष्ट्रिय सम्मेलनकै क्रममा आयोजना भएको मिष्टर गे नेपालको उपाधि विजेता भए लक्ष्मण। उनले खुलेर समलिङ्गी पुरुषको पहिचान दिने अवसर मायाको पहिचान नेपालबाट पाएको सुनाए। ‘जसले मलाई यस्तो प्लेटफर्म दिनुभयो,त्यसले मलाई सजिलो भइरहेको छ,’उनले भने,‘म मिष्टर गे २०२४ को विनर भए, साथीहरूले धन्यवाद दिइरहनु भएको छ, बुझिरहनु भएको छ,परिवारले पनि सपोर्ट गर्नु भएको छ।’

उनी सामाजिक सञ्जाल फेसबुक चलाउँछन्। फेसबुकमा उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि दर्ता भएको सबै संस्थाको पेज फलो गरेका छन्। माया गुरुङ्ग र सुरेन्द्र पाण्डेको विवाह दर्ताका लागि सहयोग गर्न १ कार्तिक २०८० मा स्थापना भएको मायाको पहिचान नेपालको फेसबुक पेज लक्ष्मणले फलो गरेका थिए।

फेसबुकमा इन्द्रेणी पर्यटन अन्तर्राष्ट्रिय सम्मेलनकै क्रममा मायाको पहिचान नेपालले मिष्टर गे नेपाल २०२४ का लागि इच्छुकहरूको आवेदन माग गरेको थियो। आवेदन दिनेहरू मध्येबाट टप १८ मा परेका लक्ष्मणले मिष्टर गे नेपालको उपाधि पहिरिए।

नेपालको प्रतिनिधित्व गर्दै बेलायतमा हुन लागेको विश्व भरका सम*लिङ्गी पुरुषहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने निश्चित लक्ष्मणले गरेका छन्।

फेसबुकमा उनले गाली पाएका छैनन्। ‘ए त यस्तो रहिछस् नि भनेका छैनन्, ए तिमी पनि यस्तो हो कसैले भनेको छैन, यसमा खुसी लागेको छ,’उनले भने,‘हाम्रो देशको सबै व्यक्तिहरू शिक्षित हुनु भएको छ,यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको बारेमा सबै सचेत भइरहनु भएको छ जस्तो लाग्यो।’

अबको पुस्ताले उपनाम, गाली बेइज्जती सहनु नपर्ने विश्वास लक्ष्मणको छ। मिष्टर गे नेपालको उपाधि उचाल्नु अघिसम्म पनि उनले परिवारलाई समलिङ्गी पुरुष हुँ भनेका थिएनन्। ‘परिवारलाई थाहा थिएन म यो (एलजीबीटीआई) कम्युनिटीको हो भनेर,’उनले भने,‘मेरो हरेक क्यारेक्टरहरू, गुणहरूले हल्का हल्का थाहा भैसकेको थियो होला, मलाई खुलेर आउन मन थियो र आफ्नो समुदायको हक हितका लागि लड्न मन थियो।’

उनले आफ्नो मन भित्रको फिलिङसलाई बन्द गरेर राखेका थिए। ‘जुन आफ्नो फिलिङसलाई खुलाउन सकेको थिइन,’उनले भने,‘त्यही फिलिङसलाई खुलाउनका लागि निर्धक्क साथ आए। अहिले त मिष्टर गे नेपालको विनर भए पछि पावर पनि आयो।’

उनले काठमाडौँमा रहेका भाइलाई मिष्टर गे नेपालको उपाधि उचालेको खुसी सेयर गरे। ‘पहिला ममीलाई नै भन्ने थिए, इच्छा परिवारलाई यही (काठमाडौँ) ल्याएर यो प्रोग्राम हेर्न लगाउने थियो, तर एलजीबीटीआई समुदाय भित्रको मान्छे म, कति कुरा एसेप्ट हुँदैन,कति कुरा भन्न सकिँदैन, मैले परिवारलाई डाइरेक्ट भन्न सकेको थिइन।’

उपाधि उचाले पछि मात्रै लक्ष्मणले परिवारलाई भनेका हुन्। परिवारले पनि उनलाई आफ्नो इच्छा चाहना अनुसार उत्कृष्ट बन्न भनेका छन्।‘इज्जत नफाल, तिमीलाई जे राम्रो लाग्छ त्यही गर भन्नु भएको छ,’उनले भने,‘ममीले थाहा पाइसक्नु भएको रहिछ, मैले केही भन्नै परेन, मलाई बधाई दिनु भयो।’

उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपाल स्वतन्त्र रहेको सन्देश प्रवाह गर्ने लक्ष्य राखेका छन्। ‘नेपाल विश्वमै तेस्रो*लिङ्गी पहिचान दिने पहिलो देश भनेर चिनिन्छ, म यो कुरा मिष्टर गे वर्ल्डमा राख्नेछु,समलिङ्गी विवाहलाई मेरो देशको सरकारले मान्यता दिएको छ भनेर त्यहाँ कुरा राख्छु,’उनले भने,‘अब हुने मिष्टर गे वर्ल्ड नेपालमा आयोजना गर्न आव्हान गर्छु।’

भिडियो कुराकानी

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading