फाइनान्स कम्पनी : निष्क्रिय कर्जा धेरै, प्रतिफल थोरै

फाइनान्स कम्पनी : निष्क्रिय कर्जा धेरै, प्रतिफल थोरै

काठमाडौँ : बैङ्क तथा वित्तीय संस्थामा रकम राख्ने निक्षेपकर्ता बढेका छन्। नेपाल राष्ट्र बैङ्कले मङ्गलवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कर्जाभन्दा निक्षेपको वृद्धिदर बढी रहेको जनाएको छ।

बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिने भने घटेका छन्। बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २८० अर्ब ५७ करोड रुपैयाँले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १९२ अर्ब १२ करोड रुपैयाँले बढेको थियो।

वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.५ प्रतिशतले बढेको राष्ट्र बैङ्कले जनाएको छ। निजी क्षेत्रमा प्रवाहित कर्जा १२८ अर्ब १८ करोडले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५२२ अर्ब ४९ करोड रुपैयाँले बढेको थियो।

वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.१० प्रतिशतले बढेको बैङ्कले जनाएको छ।

राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा नियमित तरलता प्रवाह गरिएको जनाएको छ। रिपोमार्फत ३७७ अर्ब २७ करोड, सोझै खरिद बोलकबोलमार्फत ८३ अर्ब ८५ करोड, स्थायी तरलता सुविधामार्फत २७२० अर्ब ४९ करोड र ओभरनाइट तरलता सुविधा ५१५ अर्ब ६७ करोड गरी कुल ३६९७ अर्ब २८ करोड रुपैयाँ तरलता प्रवाह गरिएको बैङ्कले जनाएको छ।

रेमिट्यान्सले बढायो विदेशी मुद्राको सञ्चिति

अल्पकालीन र बैङ्कका ब्याजदरहरू गत वर्षभन्दा बढे पनि अघिल्लो महिनाको तुलनामा कम हुन थालेको राष्ट्र बैङ्कले जनाएको छ। ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर फागुनमा ९.३३ प्रतिशत रहेको छ। वाणिज्य बैङ्कहरूबिचको अन्तर–बैङ्क कारोबारको भारित औसत ब्याजदर ७.१८ प्रतिशत रहेको छ।

वाणिज्य बैङ्कहरूको औसत आधारदर १०.६४ प्रतिशत, निक्षेपको भारित औसत ब्याजदर ८.३७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ।

निष्क्रिय कर्जा धेरै

राष्ट्र बैङ्कका अनुसार बैक तथा वित्तीय संस्थाको पुँजी पर्याप्तता नियामकीय न्यूनतम आवश्यक अनुपातभन्दा बढी रहेको छ। पुस मसान्तमा ‘क’ वर्गका वाणिज्य बैङ्कको पुँजी पर्याप्तता अनुपात १३.०१ प्रतिशत, ‘ख’ वर्गका विकास बैङ्कहरूको १२.७१ प्रतिशत र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरूको १७.०५ प्रतिशत रही समग्रमा उक्त अनुपात १३.०६ प्रतिशत रहेको छ।

पुस मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा २.६३ प्रतिशत रहेको छ। जसअनुसार ‘क’ वर्गका वाणिज्य बैङ्कको २.४९ प्रतिशत, ‘ख’ वर्गका विकास बैङ्कहरूको २.८२ प्रतिशत र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरूको ७.८२ प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ।

पुस मसान्तमा ‘क’ वर्गका वाणिज्य बैङ्कहरूको पुँजीमा प्रतिफल ११.११ प्रतिशत र सम्पत्तिमा प्रतिफल १.११ प्रतिशत रहेको छ। ‘ख’ वर्गका विकास बैङ्कहरूको उक्त प्रतिफल क्रमशः ८.५४ र ०.७६ प्रतिशत तथा ‘ग’ वर्गका फाइनान्स कम्पनीहरूको उक्त प्रतिफल क्रमशः २.८४ र ०.४० प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ।

चैत २६ गते ‘क’ वर्गका वाणिज्य बैङ्क, ‘ख’ वर्गका विकास बैङ्क तथा ‘ग’ वर्गका वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात क्रमशः ८५.५८ प्रतिशत, ८४.५६ प्रतिशत र ८२.९३ प्रतिशत रहेको छ।

राष्ट्र बैङ्कले फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१४ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८७ प्रतिशत रहेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.