ट्रान्सजेन्डर अलिशाको यात्रा : सेक्सवर्कदेखी हेल्थवर्करसम्म

ट्रान्सजेन्डर अलिशाको यात्रा : सेक्सवर्कदेखी हेल्थवर्करसम्म

एजेन्सी : रातको अँध्यारोमा शृङ्गारले सजिएर सडकमा उभिएकी अलिशा कसैले बोलाइहाल्छ की भन्ने अपेक्षासहित गुडिरहेका गाडी ताकिरहेकी हुन्छिन्।

भारतको हरियाणाकी ट्रान्सजेन्डर अलिशा एक सेक्स वर्कर (यौनकर्मी) हुन्। खुलेर आफ्नो पहिचानका साथ बाँच्न सकियोस् भनेर आशुबाट अलिशा बनेकी उनी एक्लो भएपछि पेट पाल्नकै लागि यौनकर्मी बन्न पुगिन्।

घर छोड्नु निक्कै पीडादायी थियो। आमाको सारी, नेलपोलिस, चुरा, लिपिस्टिक लगाएको, केटीहरूसँग खेल्नुपरेको अनि आमाले ती सबै क्रियाकलाप मन नपराएको कुरा अलिशा अहिले पनि सम्झन्छिन्।

आमाको नजरमा छोरा जन्मिएको थियो। उसको नाम आशु राखियो र उ बाट पुरुषकै जस्तो व्यवहारको अपेक्षा गरियो। तर अलिशा आफूभित्र सुरुदेखि नै छोरीको जस्तो भावना रहेको बताउँछिन्। यसको आभास सायद आमालाई थियो तर, उनी अरूले थाहा नपाउन् भन्ने चाहन्थिन् र अलिशालाई छोरा मान्छे जस्तो व्यवहार गर्न भन्थिन्।

एकखालको ऐँठन जस्तै थियो अलिशालाई। एक दिनको घटनाले भने उनको सहनशीलता तोडिदियो। करिब १३ वर्षको हुँदा ट्यूशसन पढाउने शिक्षकले उनीमाथि जबरजस्ती गर्दै उनको अधुरोपनको खिल्ली उडाए।

अलिशाका अनुसार शिक्षकले उनलाई ‘तँ के हो भनेर तँलाई थाहा छ? भन्दै न त तँ छोरा मान्छेको सूचीमा पर्छस् न छोरीको। तँ जस्ता मान्छेलाई समाजमा कसैले अपनाउँदैन’ भने। शिक्षकले धेरै अपशब्द प्रयोग गरे र आफूले गरेको जबरजस्तीबारे कसैलाई भने घरपरिवारले नै निकाल्दिने छन् भनी धम्काए।

एकातर्फ यौन हिंसाको पीडा, अर्कोतर्फ शिक्षकले गरेको व्यवहार। त्यसमा पनि घरपरिवारको माया र दया पनि पाइनन् उनले। उनी निक्कै पीडामा परिन्। एकदुईपटक बहिनी र आमालाई भन्ने प्रयास गरिन् तर खुलेर केही बताउन सकिनन्। अन्ततः घर छाड्नुको विकल्प उनले भेटिनन्।

आशुबाट अलिशा


एक पुरुषको शरीरमा रहेका आशु आफ्नो नयाँ पहिचान– अलिशा बनाउन चाहन्थिन्। तर यसका लागि धेरै पैसाको आवश्यकता थियो। उनी आफ्नो साथीको भरमा दिल्ली पुगिन्। त्यहीँ उनले आफ्नो गुरुलाई भेटिन्। ट्रान्सजेन्डर समुदायमा धेरैजसो परिवार छाडेर एक्लै बसेकाहरूको साथमा मिलेर एक गुरुको शरणमा बस्छन्।

अलिशा भन्छिन्–उनलाई हामी आफ्नो आमा बाबुसरह मान्छौँ। उनकै कारण म आफ्नो खुट्टामा उभिन सकेकी छु। दिल्ली आएपछि उनले मलाई यौन कर्ममा लगाइदिए।

जब पहिलोपटक अलिशालाई ४ हजार रुपैयाँमा यौन कर्मका लागि पठाइयो। उनी भन्छिन्–‘मैले त्यसबेला पहिलोपटक यति धेरै पैसा देखेको थिएँ। मात्र दश मिनेटको कामका लागि यतिधेरै पैसा पाउँदा म निकै खुसी भएको थिएँ।’

तर यो जीवन निकै कठिन थियो। उनको हरेक समय भयानक थियो, त्रासले बित्थ्यो। १४ वर्षको उमेरदेखि यो काम गर्दै आएकी अलिशा भन्छिन्–‘कयौंपटक ग्राहकले असभ्य व्यवहारसँगै कुटपिट पनि गरे। पैसा नै नदिने, अपशब्द बोल्ने मात्र नभई हाम्रो पर्स नै खोसेर लैजाने ग्राहक पनि भए।’

यसका बाबजुद पनि बिस्तारै अलिशाले सर्जरी गरेर छोरी मान्छेको जस्तै शरीर बनाउन सक्ने गरी पैसा जम्मा गरिन् र लामो उपचारपछि आशु पुर्णरुपमा अलिशा बनिन्। अब जीवनलाई थप महत्त्व दिएर ट्रान्सजेन्डर र सेक्स वर्करको पहिचानभन्दा अगाडि बढ्नु थियो।

पहिचानको खोजी


अलिशाले अन्य काम खोज्ने प्रयास नगरेको होइन। त्यसैबेला भारतमा ट्रान्सजेन्डर समुदायलाई पहिचानसँगै कयौँ अधिकार प्राप्त भइरहेको थियो। सन् २०१४ मा ऐतिहासिक निर्णय सुनाउँदै सुप्रिम कोर्टले तेस्रोलिङ्गीको रूपमा ट्रान्सजेण्डरलाई मान्यता दिएको थियो।

अदालतले ट्रान्सजेन्डरलाई शिक्षा र स्वास्थ्य सुविधा प्रदान गर्न पिछडा वर्ग भएका कारण उनीहरूलाई आरक्षण दिन केन्द्र र राज्य सरकारलाई निर्देशन दियो। भारतको संविधानको अनुच्छेद १४, १६ र २१ ले पनि देशका हरेक नागरिकलाई शिक्षा, रोजगार र सामाजिक मान्यताको समान अधिकारको व्यवस्था गरेको छ।

फेरि सन् २०१९ मा सांसदहरूले ट्रान्सजेन्डरहरुको यही अधिकारलाई कानुनी रूप दिँदै ट्रान्सजेन्डर प्रोटेक्शन अफ राइट्स कानुन बना । तर यथार्थको धरातल उही छ। सानो उमेरमै घर छाडेर पनि निकै जोडबलले दिल्लीमा विद्यालयस्तरको पढाई पूरा गरे पनि अलिशाका लागि रोजगारी पाउनु असम्भव जस्तै भएको छ।

अलिशा भन्छिन्–‘जहाँ गए पनि सुरुमै ट्रान्सजेन्डरको सर्टिफिकेट माग्छन् अनि सुरक्षागार्डले त देख्ने बित्तिकै सिँढी चढ्न पनि नदिई लखेट्छन्।’

आफ्नो समुदायको नेता


यसो गर्दागर्दै पनि अलिशाले एक ठाउँमा मौका पाइन्। उनको गुरुले एक कार्यक्रममा ट्रान्सजेन्डरहरुको स्वास्थ्य र यौनसम्बन्धी मुद्दामा काम गर्ने एउटा एनजिओका प्रतिनिधिहरूसँग भेटाइदिए। उनीहरूले कुराकानी गर्ने शैली र आत्मविश्वासबाट प्रभावित भएर अलिशालाई जागिर दिए।

हेल्थ वर्करका रूपमा कार्यरत उनी अहिले आफ्नो समुदायको नेता सरहको हैसियत राख्छिन्। अलिशा भन्छिन्–‘तपाई जबसम्म आफ्नो खुट्टामा उभिनुहुन्न तबसम्म समाजले दबाबमा राखिरहन्छ, उत्पीडनमा राखिरहन्छ।’

अहिले सोसाइटी फर सर्भिस टु भोलुन्टरी एजेन्सीस नाम गरेको एनजिओमा कार्यरत अलिशा ट्रान्सजेन्डर र सेक्स वर्करलाई ‘एड्स’ र अन्य रोगहरूको बारेमा जागरूक गर्छिन्। उनीहरूलाई औषधि दिनुका साथै अस्पताल लगेर उपचारमा समेत सहयोग गर्ने काम गर्छिन्।

उनीसँगै त्यस एनजिओमा ट्रान्सजेन्डर समुदायका मानिसहरू भेला हुन्छन् र आफ्ना समस्याहरूको समाधानका अलावा खुसी पनि एक अर्कासँग बाँड्छन्।

समाजका लागि अधुरो, भगवानको नजरमा पूरा

अलिशाको जीवनमा ठुला परिवर्तन भए। तर यतिका वर्षपछि पनि गाउँमा सुन्नु परेका गालीहरू सहरमा पनि सुन्नुपर्छ।

सडकमा हिँडिरहेका बेला मानिसहरूले हिजडा, छक्का, जुगाडूजस्ता नामले बोलाउने गरेको उनको गुनासो छ। अन्य मान्छेहरूले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारका कारण अलिशा अहिले पनि आफूलाई अधुरो महसुस गर्छिन्।

‘न हामी केटाहरूको लाइनमा बस्न सक्छौँ, न केटीहरूको लाइनमा। भगवानले हामीलाई बनाए तर पूरा अपुरो बनाइदिए। हामी प्रकृतिको एउटा कठपुतलीमात्र हौँ’ उनी भन्छिन्।

आफूलाई कृष्ण भगवानको सखी मान्दै बाँच्नका लागि हौसला बटुल्न अलिशा ईश्वरको भक्तिमा लागेकी छिन्। भगवानको अगाडि शिर झुकाउने उनी मान्छेको अगाडि अब शिर उठाएर हिँड्छिन्।

अलिशा भन्छिन्–‘समाजले अधुरोपनको महसुस गरायो, भगवानको भक्तिमा लागेपछि सम्पूर्णता प्राप्त गरेको महसुस गरेकी छु।’

(यो सामग्री बीबीसी हिन्दी सेवाबाट अनुवाद गरिएको हो।)

समलैङ्गिकतालाई अपराध बनाउने त्यो आँधी…

दशकौँ देखि बाचिरहेको आशा

लिङ्ग पहिचान गरेर पतन गराउन सांसद नै उक्साउँछन्, कसरी हुन्छ कानुन कार्यान्वयन?

छोरो ‘गे’ हुँदा भोजराज पोखरेललाई यस्तो, आम परिवारको अवस्था कस्तो?

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading