समलैङ्गिकतालाई अपराध बनाउने त्यो आँधी…

समलैङ्गिकतालाई अपराध बनाउने त्यो आँधी…

समलैङ्गिकतालाई लिएर विश्वभर विभिन्न खालका टिप्पणी भइरहेका छन्। धेरै देशमा समलैङ्गिकतालाई कानुनी अधिकार दिने विषयमा बहस चलिरहेको छ भने कतिपयले यसलाई कानुनी मान्यता दिइसकेका छन्।

यद्यपि कयौँ देशहरूमा अहिले पनि समलैंङ्गिकतालाई अपराध नै मानिन्छ।

सत्रौँ शताब्दीबाट समलैङ्गिक सम्बन्धलाई अपराध मान्न थालिएको थियो। त्यो पनि एक प्राकृतिक विपत्ति (आँधी)का कारण। कुरा सन् १६७४ को हो। उत्तर–पश्चिम युरोपमा एउटा आँधी आयो र क्षणभरमै सबै तहसनहस बनाएर गयो। यो भयानक आँधीले विध्वंसको लामो कथा छाडेर गयो जसको छाप आज पनि बाँकी छ।

करिब ३५० वर्षअघिको शक्तिशाली आँधीले नेदरल्यान्डको उट्रेच्ट सहर पूर्णरुपमा ध्वस्त बनाइदियो। प्राकृतिक विपत्ति त प्रायः आइरहन्छ। तर यो आँधी त्यति शक्तिशाली कसरी थियो भन्ने आज पनि अनुसन्धानकै विषय छ। त्यस आँधीको शक्तिसँग सम्बन्धित अचम्मित पार्ने धेरै जानकारीहरू पनि सार्वजनिक भएका छन्।

सन् १६७२ डच इतिहासको ‘डिजास्टर इयर’


सत्रौँ शताब्दी, नेदरल्यान्ड धेरै चुनौतीको सामना गरिरहेको थियो। फ्रेन्च र अङ्ग्रेज शक्तिहरूले कयौँ डच उपनिवेश हत्याएका थिए। सन् १६७२ मा फ्रान्स, इंग्ल्यान्ड र जर्मनीले मिलेर डच रिपब्लिकलाई समाप्त पारिदिए। डच इतिहासमा त्यस वर्षलाई ‘डिजास्टर इयर’ भनिएको छ।

रोयल नेदरल्यान्डस मेट्रोलोजिकल इन्स्टीच्यूटका प्रोफेसर जेरार्ड शिरायरका अनुसार फ्रान्सले डच गणराज्यको सबै सम्पत्ति कब्जा गरेको थियो। नेदरल्यान्ड बरबादीको त्यस क्रममा उट्रेच्टसँग पैसा थिएन। कुनै पनि प्राकृतिक विपत्तिबाट आफ्नो रक्षा, व्यवस्थापन र पुनर्स्थापनाका लागि उससँग सामर्थ्य थिएन। ठिक दुई वर्षपछि जब आँधीले ताण्डव मच्चायो, निरीह उट्रेच्टले केही गर्न सकेन।

उक्त आँधीबाट सबैभन्दा धेरै चर्चित द डूम क्याथेड्रोल प्रभावित भएको थियो। वैज्ञानिकहरूले सन् १९८० मा विभिन्न दस्ताबेजको आधारमा उक्त आँधीलाई ‘टोर्नाडो’ नाम दिएका थिए। टोर्नाडो आँधी एक विशेष क्षेत्रमा र केही समयका लागि आउने वैज्ञानिकहरू बताउँछन्।

भग्नावशेषहरूमा भेट्ने गर्थे समलिङ्गी जोडीहरू

सरकारसँग पैसा नभएकाले दशकौँसम्म भत्किएका भवनका भग्नावशेष अलपत्र अवस्थामै रहे। ठुलठुला भवनका भग्नावशेषहरू हटाउन सरकारले सकेको थिएन। जानकारहरूका अनुसार त्यही भग्नावशेषमा समलिङ्गीहरू आफ्ना जोडी भेट्न पुग्थे। यो क्रम कयौँ वर्षसम्म चल्यो।

दशकौँ देखि बाचिरहेको आशा

करिब ५० वर्षपछि इसाई पादरीहरूले यसका विरुद्धमा आवाज उठाए। लुकीछिपी भेट्न जाने समलिङ्गी जोडीहरूलाई सजाय दिन थालियो। धेरै मानिसहरू विश्वास गर्दैनन् तर त्यसबेलाका दस्ताबेजहरूले भने यो कुरालाई पुष्टि गर्दछ।

सन् १७३०–१८११ सम्म डच गणराज्यद्वारा सोडोमी (अप्राकृतिक मैथुन) लाई ठुलो अपराध मानिएको थियो। युरोपेली औपनिवेशिक शासनकालमा युरोपेली धार्मिक मान्यताद्धारा बन्देज लगाइएका यौन क्रियाकलापहरूलाई अपराधीकरण गर्न अप्राकृतिक मैथुनको परिभाषा निर्माण गरिएको हो।

जसले गर्दा नेदरल्यान्डमा व्यापक आतङ्क र सयौँ समलिङ्गी जोडीहरूले उत्पीडन खेप्नुपरेको थियो। धेरै मानिसहरूले समलिङ्गी क्रियाकलाप गरेकोमा मृत्युदण्ड दिइयो। मध्यमलिंगीहरुद्धारा गरिने यौनजन्य क्रियाकलापलाई पनि त्यतिबेला अपराध मानिन्थ्यो।

नेदरल्यान्डमा एलजीबीटी अधिकार


लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजीबीटीआई) अधिकार नेदरल्यान्डमा विश्वकै सबैभन्दा प्रगतिशील रहेको छ। सन् १८११ मा फ्रान्सको आक्रमण र नेपोलियन संहिता स्थापित गरिएपछि समलिङ्गी यौन क्रियाकलापलाई वैधानिकता दिइयो र बाँकी रहेका सोडोमी कानुनहरूलाई मेटाइयो।

देशले स्वतन्त्रता प्राप्त गरेपछि थप कुनै पनि कानुन लागू भएन। लैङ्गिक गतिविधिका लागि सहमतिको समान उमेर सन् १९७१ मा लागू गरिएको थियो।

२० औँ शताब्दीको उत्तरार्धमा समलैङ्गिकताको बारेमा जागरूकता बढ्यो र समाज समलिङ्गी, मध्यमलिंगी व्यक्तिहरूप्रति बढी सहिष्णु भयो। डच मनोचिकित्सक र पादरीहरूले समलैङ्गिकतालाई गहन रूपमा लिन थाले।

अन्ततः सन् १९७३ मा यसलाई मानसिक रोगको रूपमा मान्न छाडियो, जसले समलिङ्गीहरूलाई पनि सेनामा सेवा प्रवेश गर्ने मार्ग प्रशस्त गरिदियो। यससँगै रोजगारी, आवास, सार्वजनिक स्थल र अन्य क्षेत्रहरूमा लिङ्गका आधारमा भेदभाव गर्न प्रतिबन्ध गरियो।

नेदरल्यान्ड सन् २००१ मा समलिङ्गी विवाहलाई वैधानिकता दिने विश्वकै पहिलो देश बन्यो। आज नेदरल्यान्ड कानुनी रूपमै एलजिबीटिक्यूआईएप्लस समुदायलाई स्वीकार गर्ने कुरामा सबैभन्दा सहिष्णु देशका रूपमा चिनिन्छ।

समलिङ्गी जोडीलाई स्वीकारेका देशहरू

विश्वका ३० भन्दा बढी देशले समलिङ्गी विवाहलाई स्वीकारेका छन्। हालै ताइवान समलिङ्गी विवाहलाई वैधानिकता दिने एसियाको पहिलो देश बनेको छ।

केही देशले अदालत तथा केहीले जनमतमार्फत समलिङ्गीहरूबिच विवाह गर्ने अधिकार दिइएको छ। ती देशहरूमा अमेरिका, अस्ट्रेलिया, आयरल्यान्ड र स्वीटजरल्यान्ड पनि छन्।

यस्तैगरी बेलायत, फ्रान्स, स्पेन, जर्मनी, स्विडेन, डेनमार्क, आइसल्यान्ड र बेल्जियम पनि समलिङ्गी विवाहलाई स्वीकारेका देशको सूचीमा पर्दछन्।

(यो सामग्री बीबीसी हिन्दी सेवाबाट अनुवाद गरिएको हो।)

लिङ्ग पहिचान गरेर पतन गराउन सांसद नै उक्साउँछन्, कसरी हुन्छ कानुन कार्यान्वयन?

छोरो ‘गे’ हुँदा भोजराज पोखरेललाई यस्तो, आम परिवारको अवस्था कस्तो?

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading