निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धकसहित चारै जनाले पाए सफाइ

गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धकसहित चारै जनाले पाए सफाइ

478
SHARES

काठमाडौं : विशेष अदालतले भ्रष्टाचार आरोपी गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धक सुशील कोइराला सहित चार जनालाई सफाइ दिने फैसला सुनाएको छ।

न्यायाधीश श्रीकान्त पौडेल र बलभद्र बास्तोलाको इजलासले कोइरालासहित वसन्तप्रकाश उपाध्याय तत्कालीन अर्थ निर्देशक राम सुन्दर चौधरी र कागज आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रा.लि.का सञ्चालक दीपक कुमार भंसालीलाई सफाइ दिने फैसला गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी नपुग्ने भन्दै अदालतले चारै जनालाई सफाइ दिएको प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए।

के थियो मुद्दा?

गोरखापत्र संस्थानले प्रिन्ट कागज खरिद गर्दा भन्सार छुटको लागि सिफारिस गरी रकम हिनामिना गरेको भन्ने समेत ब्यहोराको उजुरी उपर अनुसन्धान हुँदा गोरखापत्र संस्थान र प्रिन्टसेल इमेजिङ प्रा.लि. बिच न्युज प्रिन्ट कागज खरिदसम्बन्धी सम्झौतामा भन्सार महसुलबापतको सम्पूर्ण रकम प्रिन्टसेल कम्पनीकै हुने भन्ने स्पष्ट ब्यहोराको सम्झौता विपरीत तत्कालीन महाप्रबन्धक सुशील कोइरालासमेतको मिलेमतोमा आफूलाई फाइदा र सम्झौताको सर्त विपरीत भन्सार छुट गराई सार्वजनिक संस्थान गोरखापत्र संस्थानलाई हानि नोक्सानी गराई रु.२६,१६,०१०/– प्रिन्टसेल इमेजिङ प्रा.लि. कम्पनीलाई फाइदा हुने गरी भन्सार छुट सिफारिस र भुक्तानी दिने लिने कार्य गरेको पुष्टि हुन आएकोले देहायबमोजिमका व्यक्तिहरूलाई देहायबमोजिम सजायको माग दाबी लिइएको छ।

(क) गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धक सुशील कोइरालाले भन्सार छुटको सम्पूर्ण दायित्व प्रिन्टसेल कम्पनीको हुने भन्ने सम्झौताको विपरीत गोरखापत्र संस्थानको तर्फबाट भन्सार छुटको लागि गलत सिफारिस गरी आपूर्तिदाता कम्पनीलाई केही रकम पेस्की भुक्तानीसमेत गरी भन्सार छुटबापतको रु.२६,१६,०१०/– रकम गोरखापत्र संस्थानलाई हानि नोक्सानी गराई प्रिन्टसेल इमेजिङ प्रा.लि. कम्पनीलाई फाइदा हुने कार्य गरेकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ऐ. ऐनको दफा १७ बमोजिम कसुर भएकोले निज सुशील कोइरालालाई रु.२६,१६,०१०/– (छब्बीस लाख सोह्र हजार दश) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम र ऐ. ऐनको दफा १७ मा उल्लेख भएबमोजिम दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन माग दाबी लिइएको छ।

(ख) गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्त प्रकाश उपाध्यायले प्रिन्टसेल इमेजिङ कम्पनी प्रा.लि.लाई भन्सार छुटबापत गोरखापत्र संस्थानले सिफारिस गरिसकेको अवस्थामा सो सिफारिसअनुसार भएको भन्सार छुट रकमलाई नजरअन्दाज गरी प्रिन्टसेल इमेजिङ प्रा.लि. कम्पनीलाई फाइदा र गोरखापत्र संस्थानलाई हानी हुने गरी बदनियत पूर्ण तरिकाले पेस्की भुक्तानी तथा भन्सार छुट भएको रकम नकटाई सम्झौताअनुसारको सम्पूर्ण रकमको नै अन्तिम बिल भुक्तानी गरी गोरखापत्र संस्थानलाई रु.२६,१६,०१०/– रकम हानि नोक्सानी गराएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको देखिएकोले निज वसन्त प्रकाश उपाध्यायलाई बिगो रु.२६,१६,०१०/– (छब्बीस लाख सोह्र हजार दश) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन माग दाबी लिइएको छ।

(ग) गोरखापत्र संस्थानका तत्कालीन अर्थ निर्देशक राम सुन्दर चौधरीले प्रिन्टसेल इमेजिङ कम्पनी प्रा.लि.लाई भन्सार छुटबापत गोरखापत्र संस्थानले सिफारिस गरिसकेको अवस्थामा सो सिफारिसअनुसार भएको भन्सार छुट रकमलाई नजरअन्दाज गरी प्रिन्टसेल इमेजिङ प्रा.लि. कम्पनीलाई फाइदा र गोरखापत्र संस्थानलाई हानी हुने गरी बदनियत पूर्ण तरिकाले पेस्की भुक्तानी तथा भन्सार छुट भएको रकम नकटाई सम्झौताअनुसारको सम्पूर्ण रकमको नै अन्तिम बिल भुक्तानी गरी गोरखापत्र संस्थानलाई रु.२६,१६,०१०/– रकम हानि नोक्सानी गराएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको देखिएकोले निज रामसुन्दर चौधरीलाई बिगो रु.२६,१६,०१०/– (छब्बीस लाख सोह्र हजार दश) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन माग दाबी लिइएको छ।

(घ) कागज आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रा.लि.का सञ्चालक दीपक कुमार भंसालीले सम्झौताअनुसार सम्पूर्ण भन्सार शुल्क आफ्नो कम्पनीले नै सम्झौताअनुसारको रकमबाट नै व्यहोर्नु पर्नेमा सम्झौता सर्त विपरीत भन्सार छुटको लागि सिफारिस माग गरी रु.२६,१६,०१०/– भन्सार छुट गराई सम्झौताबमोजिमको सम्पूर्ण रकमसमेत सोही कम्पनीले नै भुक्तानी लिई कम्पनीलाई लाभ र गोरखापत्र संस्थानलाई ग्रैह्रकानुनी हानी पुर्‍याउने बदनियतले काम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको देखिएकोले निज दीपक भंसालीलाई रु.२६,१६,०१०/– (छब्बीस लाख सोह्र हजार दश) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र ऐ. दफा बमोजिम बिगो असुल उपर गरी जफत हुन माग दाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप–पत्र दायर गरिएको छ।

समाचार शेयर गर्नुहोस्
478
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.