निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

महावीर पुनको आन्दोलनमा सेन्टिमेन्ट बटुल्ने र चर्चा कमाउने होडबाजी

महावीर पुनको आन्दोलनमा सेन्टिमेन्ट बटुल्ने र चर्चा कमाउने होडबाजी

312
SHARES

काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि आन्दोलन थालेको तीन दिन पुरा भएको छ। माइतीघर मण्डलाको पूर्वी सडकमा झरी वर्षाको प्रवाह नगरी पुन रातदिन धर्नामा बसेका छन्।

आन्दोलनमा ऐक्यबद्धता जनाउन सत्तारुढ दलका नेताहरू, प्रतिपक्षी दल, नागरिक अगुवा लाइन लागेका छन्। सरकारमा हुँदा अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा एक शब्द नबोलेका र सरकारकै नेतृत्वमा हुँदासमेत सिन्को नभाचेकाहरु माइतीघर पुगेर सेन्टिमेन्ट बटुल्ने र महावीरको नाममा चर्चा कमाउन लागेका छन्।

पूर्वप्रधानमन्त्री झलनाथ खनालदेखि राजावादीहरूसम्म त्यसको होडबाजीमा देखिएका छन्। नेकपा एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहेका पूर्वप्रधानमन्त्री खनालले महावीरका माग अहिलेको सत्ता गठबन्धनको साझा एजेन्डा बन्नुपर्ने बताए।

पूर्वउपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यही बेलामा पूर्व लडाकुलाई दुई लाख बाँड्न मिल्ने, राष्ट्रपतिलगायतलाई स्वास्थ्य उपचारका लागि करोडौँ पैसा बाँड्न सक्ने तर आविष्कारको लागि किन खर्च गर्न सक्दैन भनेर प्रश्न गरेका छन्।

चिकित्सा क्षेत्र सुधारको लागि पटक पटक अनसन बसेका डा. गोविन्द केसीले पनि माइतीघर पुगेर पुनको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।

सर्वोच्चमा आन्दोलन गरेर नथाकेका वकिलहरू पनि नजिकैको धर्नामा पुगेर भाषण गर्न थालेका छन्। वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले यो आन्दोलन विकास र समृद्धिका लागि भएकाले नजरअन्दाज नगर्न चेतावनी नै दिएका छन्।

नेपालमा अझै जुद्ध शमशेरको कानुन, सरकारले सुनेन महावीरको माग

पुनको आन्दोलनको समर्थनमा देशका विभिन्न जिल्लामा प्रदर्शन नै हुन थाले पछि सरकारले पुनसँग वार्ता थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबिच आइतबार रक्षामन्त्रालयमा वार्ता भएको हो।

दिउँसो १ बजे भएको वार्ता सकारात्मक रहेको पुनले जानकारी दिए। छलफलमा माग संशोधनका लागि दुवै पक्षबाट वार्ता टोली गठन गरेर सोमबारसम्म माग पुरा गर्ने गरी छलफल भएको उनले बताए।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि ऐन पारित गर्नुपर्ने, कोष खडा गर्नुपर्ने, वार्षिक विकास बजेटको १ प्रतिशत रकम छुट्टाउनुपर्ने, नेपालमा बनेको मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिनुपर्ने, पुराना गाडीहरूलाई विद्युतीय गाडी बनाई चलाउन दिनुपर्ने माग गर्दै पुनले धर्ना थालेका हुन्।

समाचार शेयर गर्नुहोस्
312
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.