अब अनलाइनबाट काँग्रेसको सदस्यता

अब अनलाइनबाट काँग्रेसको सदस्यता

काठमाडौं : नेपाली काँग्रेसले अनलाइनबाट सदस्यता प्रदान गर्न सुरु गरेको छ। अब काँग्रेस सदस्य बन्न चाहने नेपाली नागरिकले नेपाली काँग्रेसको वेबसाइट https://www.nepalicongress.org/online-membership मा गई सदस्यता आवेदन दिन र अनलाइनबाटै सदस्यता शुल्क बुझाउन सकिने काँग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए।

सदस्यता फारम भरिसकेपछि सो को जानकारी मोबाइलमा म्यासेजमार्फत प्राप्त हुनेछ। यसरी प्राप्त आवेदन पार्टीको केन्द्रीय कार्यालयबाट आवश्यक प्रक्रिया पुरा गरी अनलाइनबाटै फोटो सहितको सदस्यता कार्ड आवेदन दिने व्यक्तिलाई प्राप्त हुने पराजुलीले बताए।

नेपाली काँग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक समितिका संयोजक एवं पार्टीका महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा मङ्गलवार बसेको बैठकले काँग्रेसको सदस्यता अनलाइनबाट प्रदान गर्ने निर्णय गरेको हो।

यसअघि नेपाली काँग्रेसको क्रियाशील सदस्य भइसकेका व्यक्तिको क्रियाशील सदस्यता कार्ड केन्द्रले उपलब्ध गराउँदै आएकोमा अब पार्टी जिल्ला कार्यालयले नै प्रिन्ट गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन सक्ने गरी सहज व्यवस्था गरिएको कार्यवाहक मुख्यसचिव पराजुलीले जानकारी दिए।

काँग्रेसको विधान अनुसार क्रियाशील सदस्यता प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था छ। प्रत्येक वर्ष गर्नुपर्ने क्रियाशील सदस्यता नवीकरणको नियमित प्रक्रिया सुरु गरिसकिएको काँग्रेसले जनाएको छ।

नवीकरण गर्नको लागि जिल्ला कार्यालयले मातहतका निकायबाट विधान बमोजिमको आवश्यक प्रक्रिया पुरा गरी गराई योग्यता पुगे नपुगेको हेरी अनलाइनबाटै नवीकरण विवरण भर्नेछ। यसरी नवीकरण भएको व्यक्तिको सदस्यता नवीकरण कार्ड अनलाइन वा प्रिन्ट गरेर जिल्ला कार्यसमितिले नै सदस्यलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ।

पार्टीको विधानमा योग्यता पुगेको व्यक्तिलाई अधिवेशनको वर्ष बाहेक अन्य समयमा नयाँ क्रियाशील सदस्यता निरन्तर वितरण गर्नुपर्ने व्यवस्था छ। यस वर्षदेखि निरन्तर रूपमा सदस्यता वितरण गर्ने काम प्रारम्भ भइसकेको काँग्रेसले जनाएको छ।

क्रियाशील सदस्यता लिन चाहने व्यक्तिले पार्टीको वडा तहमा आवेदन दिएमा विधान बमोजिमको प्रक्रिया पुरा भएका व्यक्तिको क्रियाशील सदस्यता विवरण प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले अनलाइनबाट भर्नेछ र सबै विवरण अभिलेख भएपछि सदस्यता कार्ड उपलब्ध गराइनेछ।

नेपाली काँग्रेसले क्रियाशील सदस्यता खुल्ला भइसकेको जनाएको छ। पराजुलीका अनुसार अनलाइनबाटै क्रियाशील सदस्यता पनि भर्न पाउने गरी आवश्यक प्राविधिक तयारी गरिसकिएको छ। यसका लागि विधान र नियमावलीमा रहेका केही विषयमा संशोधनको प्रक्रिया पुरा गरेपछि क्रियाशील सदस्यताको आवेदन पनि पार्टीको वेबसाइटबाट अनलाइनमै भर्न सकिनेछ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.